तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इरानले संवर्धित युरेनियम उत्पादन थालेपछि परमाणु सम्झौता वार्ताको भविष्य अनिश्चित
इरानले पारमाणविक हतियार बनाउन सकिने संवर्धित युरेनियमको उत्पादनको प्रक्रिया सुरु गरेको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ।
तेहरानले इन्टर्न्याश्नल एटोमिक इनर्जी एजेन्सीलाई अनुसन्धानका लागि ऊर्जा उत्पादन गर्ने प्रक्रिया थालेको जानकारी दिएको हो।
ब्रिटेन, फ्रान्स र जर्मनीका अधिकारीहरूले भने इरानको कदमले सन् २०१५ को परमाणु सम्झौतालाई पुनर्जीवित गर्ने वार्तालाई असर गर्न सक्ने बताएका छन्।
अमेरिकाले भने यसलाई दुर्भाग्यशाली पश्चकदम भनेको छ।
अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१८ मा अमान्य घोषित गरेको सन् २०१५ को सम्झौतामा इरानलाई अस्त्र बनाउने कार्य रोक्ने र अमेरिका एवम् युरोपेली देशले आर्थिक प्रतिबन्ध खोल्ने प्रावधान थियो।
ट्रम्पले सम्झौता अमान्य भन्दै आर्थिक प्रतिबन्धहरू लगाएपछि इरानले सम्झौता पालना गरेको थिएन।
अमेरिकी राष्ट्रपति जो बाइडनले अहिलेसम्म ट्र्म्पको प्रतिबन्धहरूलाई कायम राखेका छन्।
अमेरिका र युरोपका प्रतिनिधिहरू भियनामा यो सम्झौतालाई पुनर्जीवित गर्ने प्रयासमा वार्ता गरिरहेका छन्।
सो वार्ता एप्रिल २० देखि जुन २० सम्म चलेको थियो। अर्को चरणको वार्ताको लागि मिति तोकिएको छैन।
इरानका नवनिर्वाचित राष्ट्रपति इब्राहिम राइसीले सम्झौता पालना गर्न अमेरिकाले प्रतिबन्ध फुकुवा गर्नुपर्ने बताउँदै आएका छन्।
मङ्गलवार एक विज्ञप्तिमा इन्टर्न्याश्नल एटोमिक इनर्जी एजेन्सीले भनेको छ: "आज इरानले एजेन्सीलाई दिएको जानकारी अनुसार २० प्रतिशत शुद्धीकरण गरिएको युरेनियम अक्साइड यू-२३५ अनुसन्धान र विकास प्रयोगशालामा पठाइने बताएको छ जहाँ त्यसलाई यूएफ४ र २० प्रतिशत शुद्ध युरेनियम बनाइने छ र त्यसलाई ऊर्जा उत्पादनमा प्रयोग गरिने छ।"
ब्रिटेन, फ्रान्स र जर्मनीले एक संयुक्त वक्तव्यमा इरानको कदमप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
"इरानले परमाणु हतियार विकासका लागि महत्त्वपूर्ण कदमका रूपमा रहेको युरेनियमको अध्ययन र उत्पादन गर्नुपर्ने कुनै विश्वसनीय गैरसैनिक कारण छैन।"
"यो पछिल्लो कदमले इरानले छ चरणमा भएको भियना वार्ताको उपलब्धिलाई सफल बनाउने विषयलाई जोखिममा पारेको छ।"
विज्ञप्तिमा इरानलाई वार्तामा आउन भनिएको छ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले वार्ताको लागि समय सीमा नतोके पनि 'इरानको कदमले हामी सम्झौतामा फर्कने कुरालाई असर गर्ने' बताएका छन्।