भर्जिन गलाक्टिक: अन्तरिक्षसम्म व्यावसायिक उडान गर्न अर्को कम्पनीलाई अनुमति

अमेरिकी सङ्घीय उड्डयन प्रशासन एफएएले सर रिचर्ड ब्रानसन को कम्पनी भर्जिन गलाक्टिकको रकेट विमानलाई पैसा लिएर अन्तरिक्षसम्म यात्रु उडाउन अनुमति दिएको छ।

यसअघि अन्तरिक्षसम्म विमानको परीक्षण उडान गर्न दिइएको अनुमतिलाई शुक्रवार अद्यावधिक गरिएको हो।

यूकेका व्यवसायी सर रिचर्ड ब्रानसनको कम्पनीबाट पृथ्वीबाट ९० किलोमिटर टाढा यात्रा गरेर अन्तरिक्षको छेउमा पुग्न ६०० यात्रुले पैसा बुझाइसकेका छन्।

तिनीहरू धनाढ्यहरू र चलचित्र एवम् सङ्गीतका चर्चित अनुहारहरू रहेको बताइएको छ।

भर्जिन गलक्टिकले अमेरिकाको न्यू मेक्सिको मरुभूमिमा रहेको स्पेसपोर्टबाट उडान भर्नेछ।

मे २२ मा युनिटी नामक रकेट विमानको सफल परीक्षण गरेपछि एफएएले सो अनुमति दिएको हो।

सो परीक्षण उडानको तथ्याङ्कले आवश्यक सबै प्राविधिक विकासहरू गरिएको देखाएको बताइएको छ।

भर्जिन गलाक्टिकका प्रमुख कार्यकारी अधिकृत माइकल कोल्ग्याजिरले भने: "हाम्रो लक्ष्य पूरा गरेको परीक्षण उडानको नतिजा देखेर हामी ज्यादै खुसी भएका छौँ।"

"उडान त्रुटिरहित रह्यो र यसको नतिजाले हाम्रो उडान प्रणाली सुरक्षित र सहज रहेको देखायो। एफएएको व्यावसायिक उडानको अनुमति र हाम्रो मे २२ को सफलताले हामीलाई अबको गृष्म याममा पहिलो पूरै यात्रुवाहक उडान गर्ने आत्मविश्वास दिएको छ।"

अबको भर्जिन गलाक्टिकको उडानमा कम्पनीका चार कर्मचारी र दुई चालक हुने बताइएको छ।

त्यसपछिको उडानमा भने सर रिचर्ड अन्तरिक्षमा लगेर व्यावसायिक उडानका लागि कम्पनी तयार रहेको उदाहरण दिइने बताइएको छ।

त्यसपछिका उडानहरूबाट कम्पनीले नाफा कमाउने उद्देश्य राखेको छ। भर्जिन गलाक्टिकको केही उडानहरू इटलीको सेनाले बुकिङ गरेको छ।

जुलाई ४ मा सर रिचर्ड अन्तरिक्ष उडानमा जाने हल्ला फैलिएको छ। सो मिति अमेजनका मालिक जेफ बेजोस आफ्नो कम्पनीबाट अन्तरिक्षमा जान तय गरिएको जुलाई २० भन्दा अगाडि रहेको छ।

तर कम्पनीका एक प्रवक्ताले सो हल्ला रहेको र अहिलेसम्म उडानका मितिहरू निश्चित नगरिएको बताएका छन्।

सर रिचर्डले सन् २००४ मा पहिलो पटक अन्तरिक्षमा यात्रुवाहक उडानका लागि काम गर्ने घोषणा गर्दै सन् २००७ मा त्यस्तो उडान सुरु गर्ने बताएका थिए।

तर प्रविधिको विकास गर्ने काम उनले सोचेजस्तो सजिलो नभएको देखिएको छ।