डलर कार्ड: कतिले लिए अनलाइन किनमेल गर्न कार्ड; केमा गर्दैछन् नेपालीले खर्च

अनलाइनमा विदेशी सामान वा सेवा खरिद गर्न मिल्ने 'डलर कार्ड' जेठ मसान्तसम्म झन्डै साढे पाँच हजार जनाले लिएको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ।
एक प्रयोगकर्ताले प्रत्येक वर्ष अधिकतम ५०० अमेरिकी डलरसम्म खर्च गर्न सक्ने कार्ड गत चैत महिनादेखि वितरण गर्न सुरु गरिएको थियो।
वाणिज्य ब्याङ्क र राष्ट्रिय स्तरका विकास ब्याङ्कहरूले त्यस्तो कार्ड सुविधा उपलब्ध गराउन पाउने भए पनि हालसम्म विकास ब्याङ्कहरूले वितरण गरेका छैनन्।
राष्ट्र ब्याङ्कका अधिकारीहरूका अनुसार सुविधा उपलब्ध भएदेखि नै डलर कार्डको मागमा क्रमिक रूपमा वृद्धि देखिएर अहिलेसम्म ५,४५० जनाले लिइसकेका छन्।
निषेधाज्ञाका कारण सेवा प्रभावित भएको अवस्थामा क्रमिक सुधार हुँदै गए डलर कार्डको माग बढ्न सक्ने नबिल ब्याङ्कका अधिकारीले बताएका छन्।
कोरोनाभाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले वैशाख १६ गतेबाट काठमाण्डू उपत्यकामा निषेधाज्ञा जारी गरेको छ।
देशका अन्य स्थानहरूमा पनि विभिन्न किसिमका प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिएको थियो।
कति भयो कारोबार?
राष्ट्र ब्याङ्कको विदेशी विनिमय व्यवस्था विभागका निर्देशक गुरुप्रसाद पौडेलका अनुसार गत चैत महिनामा ब्याङ्कहरूले २,२१८ वटा प्रिपेड डलर कार्ड वितरण गरेका थिए।
वैशाख महिनामा त्यो सङ्ख्या ४,५०० पुगेको थियो र जेठमा थप ९५० वटा कार्ड वितरण भएको थियो।
रकमको हकमा भने उक्त अवधिमा दुई लाख ७२ हजार अमेरिकी डलर बराबरको कारोबार भएको थियो।

तर यी रकम ठ्याक्कै के प्रयोजनका लागि खर्च भएको हो भन्ने विषय भने केन्द्रीय ब्याङ्कले नहेरिसकेको र त्यस्तो तथ्याङ्क ब्याङ्कहरूलाई नै राख्न भनिएको पौडेलले जानकारी दिए।
''…कार्डमा लोड भएको रकम भने १० लाख ८० हजार डलर छ,'' उनले भने।
के मा भइरहेको छ खर्च?
नबिल ब्याङ्कको कर्पोरेट कम्युनिकेसन तथा रिटेल ब्याङ्किङ् प्रमुख कृष्ण सुवेदी कार्डबाट पढाइका थोरै शुल्कहरू तिर्ने एवम् नेटफ्लीक्स, अमेजन र अलीबाबामा भुक्तानी भएको बताउँछन्।
त्यस बाहेक फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमा विज्ञापन गर्न पनि व्यक्तिगत प्रयोगकर्ता तथा कम्पनीहरूले डलरमा खर्च गर्ने गरेका देखिएको उनले बताए।
सुवेदीले भने: ''देश बाहिरको नेटवर्क प्रयोग गर्ने भएकाले ठ्याक्कै कहाँ खपत भएको छ भन्ने कुरा हेर्न गाह्रै हुन्छ।"
"कहाँ कार्ड प्रयोग भइरहेको छ भन्ने कुरा हाम्रा प्रयोगकर्ताबाट जानकारी पाएका छौँ।"

तस्बिर स्रोत, Reuters
डलर कार्ड सुविधा किन?
कारोबार डिजिटल गर्नुपर्छ भन्ने केन्द्रीय ब्याङ्कको नीति र अनधिकृत रूपमा सर्वसाधारणहरूले आवश्यकताहरू पूरा गर्दै आएको भुक्तानीलाई वैधानिक बाटोमा ल्याउन डलर कार्ड सुविधा ल्याइएको पौडेलको भनाइ छ।
विदेशी मुद्रामा पहुँच नहुने सर्वसाधारणहरूको सानातिना आवश्यकता पुरा गर्नका लागि यस्ता सुविधाले मद्दत गरेको उनी बताउँछन्।
पौडेलले भने: "कसैलाई एउटा अनुसन्धानात्मक लेख पढ्न वा तालिम गर्ने अवसरको फाइदा उठाउन सकिन्छ । निम्न वर्गका नेपालीले त्यो सुविधा पाउन सकून् भन्ने हो।"
कहिलेसम्म कायम रहन्छ?
नेपालमा प्रिपेड डलर कार्ड वा डलर खातामार्फत डलरमा कारोबारको सुविधा यसअघि नै उपलब्ध रहे पनि अनलाइनमार्फत कारोबार गर्न मिल्ने सुविधा थिएन।
पछिल्लो समय यो कार्ड बजारमा सार्वजनिक हुँदा निकै धेरैले यसबारे सोधपुछ गरेको र कार्ड खपत पनि त्यसै अनुसार भएको सुवेदी बताउँछन्।
''तर अहिले भने आवश्यकताका आधारमा प्रयोग भइरहेको छ। हाम्रो तथ्याङ्क हेर्दा थोरै थोरै गरेर पैसा लोड गरिएका छन्,'' उनले भने।
खाता भए मात्रै यस्तो कार्ड सुविधा उपलब्ध गराइने हुँदा पनि खपत धेरै हुन नसकेको उनको ठम्याइ छ।

डलर कार्ड प्राप्त गर्न चाहने व्यक्तिले स्थायी लेखा नम्बर उपलब्ध गराउनुपर्ने हुन्छ।
''अहिले अत्यावश्यक भएका ग्राहकले कार्ड लिएका छन्। लकडाउन खुकुलो भएपछि एक पटक यसको खपत बढ्छ भन्ने अनुमान छ,'' सुवेदीले भने।
तर केन्द्रीय ब्याङ्क भने डलर कार्डको मागमा व्यापक सुधार हुने ठान्दैन।
गतिविधि बढेको जुनसुकै बेला माग बढ्न सक्ने भए पनि अन्तर्राष्ट्रिय स्तरमै डिजिटल कारोबार महामारीकै बेला बढेको पौडेल बताउँछन्।
''यो कम होइन (कार्ड खपत) । योभन्दा व्यापक रूपमा बढ्ला भन्ने हामीलाई लाग्दैन। हामी सबै यो कुरालाई नजिकबाट नियालिरहेका छौँ,'' उनले भने।
''हाम्रो आशा योभन्दा धेरै जाला भन्ने पनि छैन। यही वरपर होला भन्ने छ।''








