‍राष्ट्र ब्याङ्कको निर्देशनले 'नगदको प्रयोग नै प्रोत्साहित’

राष्ट्र ब्यांक

विद्युतीय माध्यमबाट गरिने कारोबारमा सीमा लगाउने गरी राष्ट्र ब्याङ्कले हालै जारी गरेको निर्देशनले उसको उद्देश्यविपरीत नगद कारोबारलाई नै प्रोत्साहन मिल्ने डर कतिपय ब्याङ्करहरूले व्यक्त गरेका छन्।

केन्द्रीय ब्यांकले भने विद्युतीय माध्यमबाट हुने कारोबारमा एकरूपता ल्याएर नगद प्रयोगलाई निरुत्साहन गर्ने आफ्नो उद्देश्य भएको बताएको छ।

साउनदेखि लागु हुने गरी कार्डको माध्यमबाट गरिने नगद तथा भुक्तानी कारोबारमा केही सीमा सहितको निर्देशन राष्ट्र ब्याङ्कले यही साता जारी गरेको हो।

निर्देशन

राष्ट्र ब्याङ्कले जारी गरेको छ पाना लामो निर्देशनमा डेबिट कार्डबाट एक पटकमा २५ हजार रुपियाँसम्म निकाल्न मिल्ने अधिकतम सीमा तोकिएको छ। प्रतिदिनको सीमा एक लाख छ।

सबै निर्देशनबारे अध्ययन गरेर निचोड निकालिने कार्य जारी रहेको बताउने ब्याङ्करहरूले सर्सर्ती हेर्दा यसमा तोकिएको सीमा कम भएको आफूहरूले पाएको प्रारम्भिक प्रतिक्रिया दिएका छन्।

नेपाल ब्याङ्कर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना भन्छन्, "यो निर्देशनबारे हामी छलफल गर्दैछौँ। तर अहिलेको कारोबारको परिमाणहरू हेर्दाखेरि सीमा अलि कम भयो कि भन्ने हामीलाई लागेको छ।"

प्रश्रय

सोही निर्देशनमार्फत इन्टर्नेट ब्याङ्किङ तथा मोबाइल ब्याङ्किङ भुक्तानी कारोबारको सीमा पनि पहिलो पटक केन्द्रीय ब्याङ्कले तोकिदिएको छ।

मोबाइल ब्याङ्किङबाट भुक्तानी कारोबार गर्दा एक पटकमा बढीमा पाँच हजार रुपियाँ सम्म वा प्रति दिन दश हजार सम्मको कारोबार गर्न पाइने निर्देशनमा उल्लेख छ।

त्यस्ता व्यवस्थाले नगद कारोबारलाई नै झन् प्रश्रय मिल्ने धारणा ब्याङ्कर अनिल शाहले राखेका छन्।

नबिल ब्याङ्कका निमित्त प्रमुख कार्यकारी शाहले भने, "विस्तारै नेपालीहरू नगदबाट कार्ड तथा मोबाइल/इन्टर्नेट ब्याङ्किङको प्रयोगतिर उन्मुख हुँदै थिए। तर यसले अब फेरि उनीहरू नगदको प्रयोगमै फर्कने डर छ। जस्तो हामी मासिक किस्ताको भुक्तानी मोबाइल र इन्टर्नेटबाटै गराउने अनि बिजुलीका बिल तिर्ने जस्ता काम गराउन लागेका थियौँ। तर तिनमा पाँच हजारको सीमा लागेपछि त्यसो गर्न अब सकिँदैन।"

मनशाय

तर केन्द्रीय ब्याङ्कका अधिकारीहरूले भने आफ्ना निर्देशन केवल बजार व्यवस्थित बनाई एकरूपता कायम गर्न लक्षित भएको बताएका छन्।

ब्याङ्कका भुक्तानी प्रणाली विभागका निर्देशक रेवतीप्रसाद नेपालले भने, "यसलाई व्यवस्थित गरी एकरूपता दिने मात्र मनशाय हो। यस्ता कारोबार रोक्ने वा जनतालाई दु:ख दिने वा पछाडि फर्कने मनशाय हाम्रो पटक्कै होइन। हामी यो निर्देशनको कार्यान्वयनलाई अध्ययन गरेर अन्तिम प्रयोगकर्तालाई पुगेको लाभहानि विश्लेषण गरी आवश्यक थपघट गर्न प्रतिबद्ध छौँ।"

विद्युतीय माध्यमबाट भुक्तानी कारोबारलाई प्रोत्साहन दिँदै मुद्रा बजारमा सकेसम्म नगद प्रयोग घटाउने नीति लिएको केन्द्रीय ब्याङ्कले बताउने गरेको छ।