तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड खोपः अमेरिकाले दुई करोड ५० लाख मात्रा खोप बाँड्ने, नेपाल पनि सूचीमा
जुन महिनाभरिमा कोभिडविरुद्धको आठ करोड मात्रा खोप विश्वलाई बाँड्ने योजनाबमोजिम अमेरिकाले पहिलो चरणमा २ करोड ५० लाख मात्रा खोप वितरण गर्ने घोषणा गरेको छ।
संसारभरि उचित तरिकाले अनि उच्च जोखिममा परेका देशहरूलाई ती खोप बाँडिने बताइएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले कोभिड-१९ विरुद्ध १ करोड ९० लाख मात्रा खोप विश्वभरि खोप बाँड्ने कोभ्याक्स कार्यक्रमलाई दिने घोषणा गरेका छन्।
त्यसका अतिरिक्त ६० लाख मात्रा भारत तथा क्यानडा लगायतका देशलाई प्रत्यक्ष दिइने उनले बताए।
विश्वलाई आठ करोड मात्रा खोप वितरण गर्ने अमेरिकी योजनाको यो पहिलो एक तिहाइ हिस्सा हो।
नेपाललाई कति?
खोप बाँडिने देशहरूको सूचीमा नेपाल पनि रहेको छ।
काठमाण्डूस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमा नेपाललाई प्रत्यक्ष सहयोगसहित कोभ्याक्समार्फत् ७० लाख खोप एसियाली देशहरूलाई दिइने जनाएको छ।
नेपाललाई दिइने यकिन सङ्ख्या तथा कुन खोप भन्ने खुलाइएको छैन।
अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिकाले प्रत्यक्ष खोप सहयोग गर्ने देशहरूमा नेपाल पनि रहेको भन्दै त्यसबारे थप विवरण चाँडै आउने बताएका छन्।
उक्त घोषणालगत्तै नेपालका प्रधानमन्त्री केपी ओलीले एक ट्वीट गर्दै नेपाललाई अमेरिकी खोप सहयोगको निर्णयको स्वागत गरेका छन्।
उनले अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपतिलाई जीवन रक्षक खोपको निम्ति नेपालले गरेको अपीललाई स्वीकार गरेकोमा धन्यवाद दिएका छन्।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर
वितरणको मापदण्ड
अमेरिकी राष्ट्रपति बाइडनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले खोप वितरण योजनाको मापण्ड खुलाएका छन्।
"यी मापदण्डहरूमा विश्वव्यापी खोप वितरणको लक्ष्य हासिल गर्ने विषय, अति धेरै सङ्क्रमण फैलिएका तथा आपत्कालीन जनस्वास्थ्य आवश्यकता सम्बोधन गर्ने विषय तथा खोप सहयोगको निम्ति अनुरोध गरेका धेरैभन्दा धेरै मुलुकलाई सहयोग गर्ने विषय रहेका छन्," सुलिभानले भने।
"हामीले यीमध्ये कम्तीमा ७५ प्रतिशत खोप कोभ्याक्समार्फत् बाँड्ने निर्णय गर्यौँ।"
"यसबाट सबै देशलाई उचित तरिकाले बाँड्न सकिन्छ। तथा सबभन्दा बढी जोखिममा भएकाहरूलाई सहयोग गर्न सहजीकरण हुन्छ।"