कोभिड नेपालः मृतकका शव व्यवस्थापनमा नेपाल स्काउट पनि सहभागी

    • Author, उमाकान्त खनाल
    • Role, झापा

नेपाल स्काउटले प्रदेश नं १ मा कोभिड-१९ बाट मृत्यु भएका मानिसहरूको शव व्यवस्थापनमा आफूहरू पनि लागेको जनाएको छ।

अन्य प्रदेशमा पनि नेपाल स्काउटले स्वयंसेवी भएर शव व्यवस्थापनमा इच्छा देखाए तालिम दिन तयार रहेको नेपाली सेनाले बताएको छ।

तर नेपाली सेनाले स्काउटलाई शव व्यवस्थापनका लागि आह्वान भने नगरेको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए।

प्रदेश नं १ मा ४२ जना

कोभिड-१९ भएर मृत्यु भएका मानिसहरूको शव व्यवस्थापनका लागि ४२ जना स्काउट खटिएको स्काउटको प्रदेश नं १ को कार्यालयले जानकारी दिएको छ।

खटिएका ४२ जनामध्ये ३५ पुरुष र सात महिला छन्।

मोरङको विराटनगरमा सोमवार एक ५४ वर्षीय पुरुषको शव व्यवस्थापन गरेर नेपाल स्काउटले काम गर्न सुरु गरेको हो।

अन्य केही स्थानमा स्वयंसेवीहरूले शव व्यवस्थापन गरिरहेको भए पनि स्काउटले पहिलो पटक शव व्यवस्थापनको काम थालेको स्काउटको प्रदेश नं १ कार्यालयका अधिकृत नवराज घिमिरेले बताए।

उनका अनुसार प्रदेश नं १ को जनसङ्ख्या बढी भएका जिल्लाहरू झापा, मोरङ र सुनसरीमा कोभिड-१९ बाट मृत्यु भएकाहरूको शव व्यवस्थापनका लागि ४२ जना स्काउट खटिएका छन्।

खटिनेका अनुभूति

अहिलेको महामारीमा मृत्युदर बढी भएको भन्दै स्काउटले पनि यो बेला केही गर्न सकोस् भनेर आफूहरू शव व्यवस्थापनका लागि अग्रसर भएको स्काउटको प्रदेश नं १ का संयोजक रवि खनालले बताए।

अन्य प्रकोपको बेला पनि स्काउट खटिने भएकाले आफूहरू उक्त काममा अग्रसर भएको उनले बताए।

"कोभिड-१९ बाट मृत्यु भएपछि सङ्क्रमण सर्ला भन्ने डरले मानिसहरू घर परिवारका सदस्यका छेउमा जान पनि डराउने भएकाले हामीलाई कस्तोकस्तो अनुभूति भयो।"

शव व्यवस्थापनमा खटिएका बेला मानिसले आफूहरूलाई हेरिरहने भएकाले अनौठो लागेको उनले बताए।

"तर सङ्क्रमण सर्ला कि भन्ने भनेर हामीलाई स्वास्थ्य मापदण्ड ख्याल गर्नुपर्ने भएकाले त्यतातिर बढी ध्यान जाँदो रहेछ।"

शव व्यवस्थापनमा १८ वर्ष नाघेका सातजना महिला र ३५ जना पुरुष खटिएको अधिकृत घिमिरेले बताए।

तालिमको व्यवस्था

स्काउटको प्रदेश कार्यालयले नेपाली सेनाको पूर्वी पृतनामा शव व्यवस्थापनका लागि इच्छा व्यक्त गरेपछि केही दिनअघि तालिमको आयोजना गरिएको नेपाली सेनाका गणपति अमरजङ्ग थापाले बताए।

उनले भने, "हामीले चारदिने तालिमको आयोजना गरेर उहाँहरूलाई सकायौँ। त्यसमा सैद्धान्तिक र व्यावहारिक दुवै पक्ष थिए।"

तालिम सकिएपश्चात्‌ अन्य शव व्यवस्थापनमा खटिने स्काउटका लागि शववाहन, क्वारन्टीन स्थल तथा अन्य सहयोगका लागि व्यवस्था गरिदिन स्थानीय तहहरूलाई पत्राचार गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए।

स्वयंसेवी भएर काम गर्नेलाई तालिम

नेपाल स्काउटलाई शव व्यवस्थापनका लागि नीतिगत निर्णय गरेर संलग्न भने नगराइएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए।

अन्य प्रदेशमा पनि नेपाल स्काउटले शव व्यवस्थापनमा इच्छा देखाए तालिमलगायत अन्य सहजीकरणका काम नेपाली सेनाले गरिदिने उनले बताए।

पौडेलले भने, "यो नेपाली सेनाको केन्द्रीकृत नीति होइन। प्रदेशको आवश्यकतानुसार नै निर्णय लिने हो। प्रदेश नं १ जस्तै अन्य प्रदेश पनि आवश्यक परेको खण्डमा र स्काउटले इच्छा देखाएको खण्डमा हामी तालिम दिन तयार छौँ।"

स्काउटलगायत अन्य स्वयंसेवी आए शव व्यवस्थापन जस्तो जटिल काममा सहजता आउनुका साथै सकारात्मक सन्देश सर्वसाधारणमा जाने पौडेल बताउँछन्।