सगरमाथाः हङ्‌कङकी शिक्षिकाले बनाइन् सबैभन्दा छिटो आरोहण गर्ने महिलाको कीर्तिमान

हङ्‌कङकी एक ४५ वर्षीया शिक्षिकाले गत आइतवार सबैभन्दा छोटो समयमा सगरमाथा आरोहण गर्ने महिलाको कीर्तिमान राखेकी छन्।

चाङ यीन हुङले २५ घण्टा ५० मिनेटमा आधारशिविरबाट सगरमाथा शिखरमा पुग्दै सो कीर्तिमान बनाएकी हुन्। उनले यसअघि नेपाली आरोहीले राखेको कीर्तिमानभन्दा १२ घण्टा कम समयमा आरोहण गरेकी हुन्।

"उच्च लक्ष्य लिँदा अपेक्षा पनि उच्च राख्नुहोस्," सगरमाथाबाट फर्किएर उनले काठमाण्डूमा पत्रकारहरूलाई बताइन्।

"मलाई खुसी महसुस भएको छ किनभने म कीर्तिमान भङ्ग गर्नेभन्दा पनि आफैँलाई चुनौती दिन चाहन्थेँ," उनले भनिन्।

हालैका दिनमा सगरमाथामा कीर्तिमान राख्नेमा उनी तेस्रो आरोही हुन्। गत आइतवार ७५ वर्षीय अर्थर मूर सगरमाथा चढ्ने सबैभन्दा बढी उमेरका अमेरिकी बने भने चीनका ४६ वर्षीय जाङ हङ सोमवार सगरमाथा शिखरमा पुग्ने पहिलो आँखा नदेख्ने एशियाली बने।

यो मौसममा सयौँ आरोहीहरूले नेपालमा बढिरहेको कोभिड सङ्क्रमणको बीच सगरमाथा आरोहण गरेका छन्। गत वर्ष कोभिडका कारण सगरमाथा आरोहण निषेध गरिएको थियो।

मे ११ मा खराब मौसमका कारण बीचमै आरोहण त्यागेकी चाङ एक सातापछि पुन: आरोहण गर्न फर्केकी थिइन्।

उनले दिउँसो १:२० बजे आधारशिविरबाट उकालो लागेकी र अर्को दिन दिउँसो ३:१० मा शिखरमा पुगेकी बताइएको छ।

सामान्यतया आरोहीहरूले आधारशिविरमाथिका स्थानमा केही दिन बिताउने गर्छन्।

यसअघि सबैभन्दा छोटो समयमा सगरमाथा आरोहण गर्ने महिलाको कीर्तिमान फुन्जो जाङ्मु लामाको नाममा थियो। उनले सन् २०१७ मा ३९ घण्टा छ मिनेटमा सर्वोच्च शिखर आरोहण गरेकी थिइन्।

चाङले आफ्नो कीर्तिमानको लागि आफ्नो क्षमता, टोली एकता र भाग्यलाई धन्यवाद दिइन् तर आफ्नो लागि कीर्तिमान पहिलो लक्ष्य नभएको बताइन्।

यो पनि हेर्नुहोस्