तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
निर्मल पुर्जा: नेपाली आरोहीले राखे सबैभन्दा अग्ला १४ हिमालमा नयाँ कीर्तिमान
एक नेपाली आरोहीले सात महिनामा आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल चढेर नयाँ कीर्तिमान राखेका छन्।
ब्रिटिस सेनामा काम गरिसकेका ३६ वर्षीय निर्मल पुर्जाले मङ्गलवार बिहान चीनको शीशापाङ्मा हिमालको चुचरोमा पुगेर आफ्नो कार्य पूरा गरेका हुन्।
ब्रिटिश माउन्टेनरिङ्ग काउन्सिलको वेवसाइटमा प्रकाशित एक लेखका अनुसार त्यस्तो कीर्तिमान यसअघि दक्षिण कोरियाका किम चाङ्-हो को नाममा थियो जसले १४-हिमालका आरोहण सक्न सात वर्ष १० महिना ६ दिन लगाएका थिए।
सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको यात्रा गर्दा उनले सगरमाथा चढ्ने अठोट गरेर आरोहीको रूपमा जीवन शुरू गरेका थिए।
सन् २००३ मा ब्रिटिस सेनामा पुगेका पुर्जालाई सन् २०१८ मा रानी एलिजावेथले एमबीई प्रदान गरेकी थिइन्।
संसारभरमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल छन् तीमध्ये।
पुर्जाले गएको एप्रिलमा आफ्नो अभियान शुरू गरेका थिए र मेमा सगरमाथा चढेका थिए। उनले त्यहाँ खिचेको भिडको तस्बिरले संसारको ध्यान खिचेको थियो।
उनले सगरमाथा आरोहणको क्रममा चारजना अरू आरोहीहरूको उद्धार समेत गरेका थिए।
उनले सगरमाथा, लोत्से र मकालु हिमाल पाँच दिनमा चढेका थिए।
सेप्टेम्बरमा उनको अभियान तिब्बतमा रहेको शीशापाङ्मा हिमाल चढ्न चिनियाँ सरकारले अनुमति नदिँदा रोकिएको थियो।
नेपाल सरकारले चिनियाँ सरकारलाई अनुरोध गरेपछि उनले अक्टोबर १५ मा अनुमति पाएका थिए।
उनले चढेका हिमाल र सफल आरोहणको मिति:
- अन्नपूर्ण, नेपाल, एप्रिल २३
- धौलागिरी, नेपाल, मे १२
- कञ्जनजङ्गा, नेपाल, मे १५
- सगरमाथा, नेपाल, मे २०
- लोत्से, नेपाल, मे २२
- मकालु, नेपाल, मे २४
- नाङ्गापर्वत, पाकिस्तान, जुलाई ३
- जी १, पाकिस्तान, जुलाई १५
- जी २, पाकिस्तान, जुलाई १८
- के २, पाकिस्तान, जुलाई २४
- ब्रोड पिक, पाकिस्तान, जुलाई २६
- चो यू, चीन, सेप्टेम्बर २३
- मनास्लु, नेपाल, सेप्टेम्बर २७
- शीशापाङ्मा, चीन, अक्टोबर २९