तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपाल: निजी गाडी चलाएर कोरोना भाइरस सङ्क्रमितको सेवा गरिरहेका दुई युवा
- Author, माधव नेपाल
- Role, बुटवल
कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा कतिपय स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले आफ्नो गाडी बिरामी बोक्न दिएका विवरणहरू प्रकाशित भएका छन्।
यसबीचमा यस्ता युवाहरू पनि देखिएका छन् जसले आफ्ना निजी गाडीलाई निरन्तर बिरामीका लागि एम्बुलेन्स र शव वाहनको रूपमा पनि प्रयोग गर्दै आएका छन्।
रुपन्देही भैरहवा बस्ने नेत्र आचार्य र पाल्पा तानसेन बस्ने यादवसिंह कार्की दुवैलाई पूर्वी नवलपरासीको देवचुलीमा वैशाख २० गते घटेको एउटा घटनाले एकै बाटोमा हिँड्न प्रेरित गर्यो।
देवचुलीका एक बिरामीलाई कुनै पनि गाडीले डेढ किमीको दूरीमा रहेको स्वास्थ्य चौकीमा लैजान नमानेपछि ट्र्याक्टरमा लगिएको थियो र उनको बाटैमा मृत्यु भएको थियो।
दुवै जनालाई 'यो समाचार सुनेपछि साह्रै मन दुख्यो अनि केही गर्नु पर्छ भन्ने लाग्यो'।
फेसबुकबाट सन्देश
कार्की भन्छन्, "मैले बिरामीलाई अस्पताल पुर्याउन तयार छु भनेर फेसबुकमा फोन नम्बर राखेँ। करिब २३ दिन भयो, मैले ९० जना बिरामीलाई अस्पताल पुर्याएको छु।"
उनले गुल्मी र अर्घाखाँची जस्ता टाढाका बिरामीलाई पनि दिनरात गाडीमा राख्दै अस्पताल पुर्याउने गरेका छन्।
त्यस्तै आचार्यले पनि फेसबुकमा 'सङ्क्रमितले एम्बुलेन्स नपाए खबर गर्नूस् म अस्पताल पुर्याउने छु' भनेर लेखे।
त्यसयता आचार्यले दैनिक बिरामी बोकिरहेका छन्।
बिरामी बोक्दा उनले मास्क र स्यानिटाइजर प्रयोग गरेका छन् भने उनको कारको अघिल्लो सीट र पछिल्लो सीट प्लास्टिक लगाएर छेकेका छन्।
बिरामीको खुसी
"जुन समयमा नेत्र आचार्यले सेवा गर्नु भयो, उहाँको बारे के भनूँ, मसँग कुनै शब्द नै छैन," आफ्नो दाइलाई अस्पताल पुर्याएको सम्झँदै नीलकण्ठ ज्ञवाली भन्छन्।
"यादवजीले मलाई अस्पताल नपुर्याएको भए शायद बाच्ने थिइनँ," पाँच दिनअघि अस्पतालबाट डिस्चार्ज भएका धनपति गैरे भन्छन्।
यादव आफैँ पनि यसअघि कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए।
त्यो बेला आफूले भोगेको समस्याका कारण पनि केही गर्नु पर्छ भन्ने आफूलाई लागेको यादव बताउँछन्।
शवको पनि व्यवस्थापन
कार्कीले आफ्नो गाडीलाई शव वाहनको रूपमा पनि प्रयोग गर्दै आएका छन्।
"के गर्नु यहाँ शव वाहन छैनन्, बिरामीको मृत्यु भयो भने शव उठाउन कोही आउँदैनन्। अनि मेरै गाडीमा राखेर शवहरू राम्दी घाटसम्म पुर्याएको छु," कार्की भन्छन्।
अहिलेसम्म उनीहरूले अस्पताल पुर्याएका १० जना बिरामीको मृत्यु भएको छ।
आफूले अस्पताल पुर्याएका बिरामीहरूको मृत्यु भएको खबर सुन्दा भने उनीहरू दुवै जना दुखी हुने गरेका छन्।
- के भन्छन् विज्ञ? तपाईँका प्रश्नको उत्तर
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कति चिन्ताजनक? नेपालमा भेटिएको नयाँ भेरिअन्ट के हो
- कसरी फैलिँदैछ? महामारीको दोस्रो लहरमा नेपालमा यसरी बढिरहेको छ कोभिड
- को हुन् मृतक? मृत्यु हुने पाँच हजार मानिस को हुन?