तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल राजनीतिः प्रधानमन्त्री र राष्ट्रपतिको कदमबारे पत्रपत्रिकाले के लेखेका छन्
नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार आह्वान गरेपछि सो कदमले व्यापक बहस निम्त्याएको छ।
एकथरीले त्यसलाई 'संविधानविपरीत' भनिरहेका छन् भने अर्कोथरीले राष्ट्रपतिको कदम 'संविधानबमोजिम' नै रहेको तर्क गरिरहेका छन्।
मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई गरेको सिफारिस र त्यसपछि राष्ट्रपतिले चालेको कदमलाई लिएर पत्रपत्रिकाका साथै अनलाइन सञ्चारमाध्यमले पनि महत्त्वका साथ समाचारहरू प्रकाशन गरेका छन्।
कसले के लेखेको छ?
सरकारी पत्रिका गोरखापत्र दैनिकले 'प्रधानमन्त्रीमा दाबी पेस गर्न राष्ट्रपतिद्वारा आह्वान' शीर्षकमा राष्ट्रपतिको तस्वीरसहित अग्रपृष्ठमा प्रमुख समाचार छापेको छ।
"राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५ण बमोजिमको प्रधानमन्त्री चयन प्रक्रिया अगाडि बढाउनुभएको छ," समाचारमा लेखिएको छ।
कान्तिपुर दैनिकले 'ओलीको अर्को असंवैधानिक कदम राष्ट्रपतिको साथ' भन्ने शीर्षकमा प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिरसहित पहिलो पृष्ठमा मुख्य समाचार लेखेको छ।
समाचारमा लेखिएको छः "राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाविपरीत नयाँ सरकार गठनको प्रक्रिया शुरू गरेकी छन्।"
"ओलीको पत्र पाएको दुई घण्टा पनि नहुँदै राष्ट्रपति भण्डारीले एक दिन मात्रै समय दिएर नयाँ प्रक्रियाबाट सरकार गठनका लागि आह्वान गरेकी हुन्।"
राजधानी दैनिकले पहिलो पृष्ठको देब्रेपट्टि 'राष्ट्रपतिबाट नयाँ सरकार गठन आह्वान' शीर्षकमा एक कोलमको समाचार छापेको छ।
अङ्ग्रेजी दैनिक द हिमालयन टाइम्सले 'ओली नट टु सीक एनोदर ट्रस्ट भोट' अर्थात् 'ओलीले अर्को विश्वासको मत नलिने' भन्ने शीर्षकमा प्रमुख समाचार छापेको छ।
नागरिक दैनिकले 'राष्ट्रपति र प्रधानमन्त्रीको अर्को असंवैधानिक कदम' भन्ने शीर्षकमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरसहित मुख्य समाचार बनाएको छ।
"अचानक बिहीवार मन्त्रिपरिषद् बैठक बसाई नयाँ सरकार गठनको प्रक्रिया शुरू गर्न प्रधानमन्त्री ओलीले गरेको सिफारिस सदर गर्दै राष्ट्रपति भण्डारीले शुक्रवार अपराह्ण ५ बजेभित्र सरकार दाबीका निम्ति गरेको आह्वानलाई संविधानमाथिको अर्को आक्रमणका रूपमा लिइएको छ," समाचारमा लेखिएको छ।
नयाँ पत्रिकाले 'संरक्षकबाट असुरक्षित संविधान' भन्ने शीर्षकमा राष्ट्रपतिको स्केचसहित प्रथम पृष्ठमा मुख्य समाचार बनाएको छ।
"संविधानको संरक्षक मानिएकी राष्ट्रपतिबाट फेरि एक पटक संविधानमाथि हमला भएको छ," समाचारमा लेखिएको छ।
अर्को दैनिक पत्रिका अन्नपूर्ण पोस्टले 'राजनीतिमा यु टर्न' भन्ने शीर्षकमा अग्रपृष्ठमा समाचार छापेको छ।
उसले लेखेको छः "संविधानको धारा ७६ (३) बमोजिम केपी शर्मा ओलीको सरकार बनेको केही दिनमै राजनीतिले अप्रत्याशित 'यु टर्न' लिएको छ।"
अनलाइनखबरले 'संविधानमाथि राष्ट्रपति र प्रधानमन्त्रीको जालसाजी' भन्ने शीर्षकमा समाचार लेखेको छ।
रातोपाटी अनलाइनले 'छापामार शैलीको राष्ट्रपतिको आह्वानः उपधारा ४ गायब' भन्ने शीर्षकमा समाचार लेखेको छ।