कोभिड नेपालः थप ९२ सय जनामा कोरोना भाइरस सङ्क्रमण, २१४ जनाको मृत्यु

तस्बिर स्रोत, Reuters
नेपालमा थप ९,२४७ जनामा कोरोनाभाइरस सङ्क्रमण र २१४ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार जनाएको छ।
पीसीआर विधि र एन्टिजन विधिबाट २२,००० भन्दा केही बढी परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।
मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा सोमवार पनि काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी भएको देखिन्छ।
अहिले काठमाण्डूमा २,३४६ जना, ललितपुरमा ४५४ जना र भक्तपुरमा २९८ जना सङ्क्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ५,७६७ जना सङ्क्रमणमुक्त भएका छन्।
अहिले देशभरि १,१३,४८० जनामा सक्रिय सङ्क्रमण छ।
केही सातायताको तथ्याङ्कले परीक्षण गर्न गएका मानिसमा सङ्क्रमण पुष्टि हुने दर उच्च रहेको देखाउँछ।
गत साता बुधवार नेपालमा पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख र आइतवार अहिलेसम्म कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या ५,००० नाघेको सरकारले बताएको थियो।
गत सातादेखि मृतकको सङ्ख्यामा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरेका व्यक्तिको तथ्याङ्क पनि समाविष्ट भएको मन्त्रालयले जनाएको छ।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको बेला जान्नै पर्ने पाँच कुरा

मन्त्रालयका अनुसार अहिले १,०६,५१० जना सङ्क्रमित आफ्नै वासस्थानमा छन् भने ६,९७० जना संस्थागत आइसोलेशनमा छन्।
कोभिडका कारण गम्भीर समस्या भएका बिरामीमध्ये १,२५९ जना आईसीयूमा र ४०० जना भेन्टिलेटरमा भएको विवरण मन्त्रालयले सोमवार अपराह्ण प्रकाशित गरेको छ।

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?
कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -
- ११३३
- ९८५१२५५८३९
- ९८५१२५५८३७
एम्बुलेन्स सेवाको लागि -
- १०२
यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

गण्डकी प्रदेशमा कोरोनाभाइरस
कोभिड-१९ को दोस्रो लहर सुरु भएपछि गण्डकी प्रदेशमा एकै दिनमा सर्वाधिक २८ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।
गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा धेरै फैलिएको छ जहाँ प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ तथा प्रदेशसभाका केही सदस्य पनि सङ्क्रमित भएका छन्।
गत वर्ष यो प्रदेशमा कोरोनाभाइरसको सङ्क्रमण फैलिँदा हिमाल पारिको दुई जिल्ला मनाङ र मुस्ताङ खासै प्रभावित भएका थिएनन्। तर यस पटक भने दुवै जिल्लमा पनि कोभिडको प्रभाव देखिएको छ।
मुस्ताङ र मनाङमा स्वास्थ्य सुविधा नभएका कारण हिजोआज त्यहाँका बिरामीहरूलाई हेलिकप्टरबाट उपचारका लागि पोखरा ल्याउनु र काठमाण्डू लैजानुपर्ने अवस्था छ।
चैत २५ गतेबाट जेठ २ गतेसम्म मुस्ताङमा ११४ जना कोरोना भाइरस सङ्क्रमित भएकोमा दुई जनाको ज्यान गएको र ११ जनाको काठमाण्डू र पोखरामा उपचार भइरहेको जानकारी स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त प्रमुख टीकाराम भण्डारीले दिए।
त्यहाँ गत वर्ष ३२ जना मात्र सङ्क्रमित भएका थिए र कसैको पनि ज्यान गएको थिएन।

तस्बिर स्रोत, RSS
गण्डकी प्रदेशमा सङ्क्रमणको दर सबैभन्दा उच्च कास्की र त्यसपछि क्रमशः बागलुङ, पर्वत स्याङ्जा र गोरखामा छ।
गण्डकी प्रदेशमा कोभिड-१९ को सङ्क्रमण दर जोखिमपूर्ण र उच्च अवस्थामा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माको आकलन छ।
पछिल्लो पटक १,६०० व्यक्तिको कोरोनाभाइरस परीक्षण गर्दा ५० प्रतिशतमा कोरोनाभाइरस पुष्टि हुनुले जोखिम कति छ भन्ने इङ्गित गर्ने उनले बताए।
कस्ता छन् चुनौती?
कोभिड-१९ को उपचारमा अहिलेको सबैभन्दा ठूलो चुनौती अक्सिजन सिलिन्डरको नियमित आपूर्ति तथा हाई-फ्लो अक्सिजनलाई व्यवस्थित गर्नु हो।
गण्डकी प्रदेशमा हाल ८,००० जनाभन्दा धेरै सङ्क्रमित घरमै एकान्तवासमा भएको र उनीहरूसँग सम्पर्क गर्नु र आवश्यक परेको समयमा उद्धार गरेर हस्पिटलसम्म पुर्याउनु अर्को चुनौती भएको डा. शर्माको भनाइ छ।
कोभिड-१९ का सङ्क्रमितहरूको बढी चापले पोखरामा रहेका सरकारी र निजी अस्पतालहरूमा पनि क्षमताभन्दा बढी चाप परेको छ।
बागलुङ लगायतका केही जिल्लामा विवाह तथा अन्य सामाजिक कार्यमा भिडभाडका कारण पनि कोरोनाभाइरसको सङ्क्रमण फैलिई केही मानिसको ज्यान गएको हुँदा निषेधाज्ञालाई थप कडाइ र नागरिक स्वयं सचेत भएर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुपर्ने चिकित्सकहरूको सल्लाह छ।













