कोभिड नेपाल: कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाउने ५,००१ जना को हुन्?

तस्बिर स्रोत, Reuters
- Author, नेत्र केसी
- Role, बीबीसी न्यूज नेपाली
गत वर्ष जेठ ३ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो पटक कोरोनाभाइरस सङ्क्रमणका कारण नेपालमा एक जनाको मृत्यु भएको पुष्टि गरेको थियो।
मन्त्रालयले कोरोनाभाइरस सङ्क्रमणको विवरण अद्यावधिक गर्दै सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको मृत्यु भएको जनाएको थियो। त्यो दिन नेपालमा पुष्टि भएको सङ्क्रमण सङ्ख्या २८१ थियो।
पहिलो मृत्युको ठिक एक वर्ष पुगेकै दिन जेठ २ गते आइतवार मन्त्रालयले नेपालमा कोभिड-१९ बाट मृत्यु भएकाको सङ्ख्या ५,००० नाघेको विवरण सार्वजनिक गर्यो।
आइतवारसम्म सङ्क्रमण पुष्टि भएकाको कुल सङ्ख्या चार लाख ५५ हजार थियो। सङ्क्रमितमध्ये ज्यान गुमाउनेहरू १.१० प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
Please wait...

कुन प्रदेशमा कति?
नेपालमा कुल पाँच हजार जनाले कोभिडका कारण जीवन गुमाउँदा सबैभन्दा बढी वाग्मती प्रदेशमा छन्। काठमाण्डू उपत्यका पनि रहेको वाग्मतीमा २,१५३ जना अर्थात् कुल मृतकमध्ये ४३ प्रतिशतले ज्यान गुमाएका छन्।
त्यसपछि लुम्बिनी प्रदेशमा ९१८ जना, प्रदेश १ मा ६२० जना, गण्डकीमा ४९७ जना र प्रदेश २ मा ४३० जनाले जीवन गुमाएका छन्। सुदूरपश्चिमका २५२ जना र कर्णालीका ११६ जनाको पनि मृत्यु भएको छ।
नेपालमा मृत्यु भएकामध्ये आठ जना भारतीय नागरिक पनि छन्।
जिल्लागत तथ्याङ्क हेर्दा २०० जनाभन्दा बढी मृत्यु भएका पाँच जिल्ला छन्।
काठमाण्डूमा १,१२५ जनाको मृत्यु भएको छ भने रूपन्देहीका ३३०, ललितपुरका ३०३, भक्तपुरका २१८ र कास्कीका २०३ जनाको मृत्यु भएको छ। थप आठ जिल्लामा १०० जनाभन्दा बढीको मृत्यु भएको छ।
Please wait...


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको बेला जान्नै पर्ने पाँच कुरा

कुन उमेरका कति जनाको मृत्यु?
पाँच हजार मृतकमध्ये नेपालमा मृत्यु भएकाहरूमा सबैभन्दा बढी सङ्ख्या ५० देखि ७९ वर्षका छन्। मृत्यु हुनेमा सबैभन्दा बढी ५८० जना ७० देखि ७४ वर्षका व्यक्ति छन् भने, ६५ देखि ६९ वर्षका ५३६ एवम् ६० देखि ६४ वर्षका ५२६ जना छन्।
पचास देखि ५४ वर्षका ४३९, ५५ देखि ५९ वर्षका ४७३ र ७५ देखि ७९ वर्यका ४७९ जनाको मृत्यु भएको छ।
उन्नाइस वर्षभन्दा मुनिका ५६ जनाको मृत्यु भएको छ जुनमध्ये २० जना चार वर्षसम्मका बालबालिका छन्। तीमध्ये नौ जना एक वर्षभन्दा कम उमेरका शिशु छन्।
Please wait....

सय वर्षभन्दा माथिका छ जनाको मृत्यु भएको छ।
कोरोनाभाइरसका कारण मृत्यु हुने सबैभन्दा जेठो व्यक्ति चितवनका १०८ वर्षीया महिला हुन्। उनले गत साल भदौमा मृत्यु भएको थियो।
इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले यो पटक २० देखि ५४ वर्षको उमेर समूहमै सङ्क्रमण बढी देखिएको र मृत्यु पनि त्यही उमेरमै देखिएको बताए।
तर महिलाको मृत्युको दर भने गत वर्षको भन्दा यो वर्ष बढी भएको उनको भनाइ छ।

तस्बिर स्रोत, EPA
महिलाको मृत्यु: कर्णालीका बढी, प्रदेश नं २ मा कम
कोभिडका कारण नेपालमा मृत्यु भएका कुल सङ्ख्यामध्ये ३२.३ प्रतिशत महिला छन् अर्थात् प्रत्येक तीन जनामा एक महिलाको मृत्यु भएको छ।
कर्णालीका भने महिलाको मृत्युदर बढी देखिएको छ।
त्यहाँ मृत्यु भएका ४२ प्रतिशत महिला छन्।
Please wait...
त्यस्तै प्रदेश नं २ मा महिलाको मृत्यु सङ्ख्या कम २६ प्रतिशत अर्थात् प्रत्येक चार जनामा एक जना रहेको तथ्याङ्कले देखाउँछ।
तर कम उमेरमा मृत्यु हुनेहरूमा महिलाको सङ्ख्या एकदमै उच्च रहेको छ। उन्नाइस वर्षसम्ममा मृतकमध्ये बालिका र किशोरीको सङ्ख्या आधाभन्दा बढी ५३.६ प्रतिशत छ।
चौबीस वर्षसम्मको तथ्याङ्क हेर्दा पनि यो सङ्ख्या ५२ प्रतिशत देखिन्छ।
यो वर्ष धेरै बिरामीको मृत्यु
यो वर्ष नेपालमा मृत्यु र सङ्क्रमण ह्वात्तै बढेको देखिन्छ। गएको एक महिनामा नेपालमा १,९३१ जनाले ज्यान गुमाएका छन्। विगत सात दिनमा मात्रै १,२८१ जनाको मृत्यु भएको छ।
इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पौडेलले यसरी मृतकको सङ्ख्या बढ्नुको पछाडि एकै समयमा धेरै सङ्क्रमित थपिनु र नयाँ प्रकारको कोरोनाभाइरस बढी खतरनाक हुनु भएको बताउँछन्।
डा. पौडेल भन्छन्, “यो नयाँ भेरिअन्टले कम उमेरका व्यक्तिमा पनि अक्सिजन र भेन्टिलेटर आवश्यक पर्ने गरी गम्भीर बनायो। छिटो सङ्क्रमण बढेकाले धेरै जनालाई जटिल बनायो।“
“ढिलो अस्पताल पुग्नु र अस्पताल पुग्ने बित्तिकै सेवा नपाउनु जस्ता कारणले मृत्यु अस्वाभाविक रूपमा उच्च दरमा भएको देखिन्छ।"
Please wait...
मृत्यु बढ्नुका तीन कारण
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी यसरी मृत्युको सङ्ख्या बढ्नुको पछाडि तीन वटा कारण रहेको बताउँछन्।
ती कारणहरूमा पहिलो भाइरसले फोक्सोमा धेरै असर गरेपछि मात्रै अस्पताल जानु, समयमा अक्सिजन नपाउनु र अस्पतालमा उनीहरूलाई देखिएका अन्य सङ्क्रमणको परीक्षण नहुनु भएको उनी बताउँछन्।
उनले भने, "सास फेर्न गाह्रो नभएसम्म अस्पताल नआउनु भनिएको छ। उनीहरू घरमा हुँदा स्वास्थ्य अवस्था कस्तो भनेर सोध्ने र परामर्श दिने निकाय छैन। निकै गाह्रो भए पछि अस्पताल आउने गरेका छन् र उनीहरूको अन्य रोगका कारणले पनि सङ्क्रमण बढेको हो कि भनेर जाँच पनि हुँदैन। पछिल्ला दिनमा त अस्पतालमा गएर पनि कतिले अक्सिजन नै पाएनन्।"
डा. मरासिनी सङ्क्रमणको पुष्टि भएकाले एक हप्ताको अन्तरमा दुई पटक फोक्सोको एक्स-रे गर्नु पर्ने र उनीहरू घरमै हुँदा पनि दैनिक रूपमा स्वास्थ्य अवस्थाको जानकारी लिने स्वास्थ्यकर्मी सहितको संयन्त्र बनाउनुपर्ने बताउँछन्।
यो मौसम स्क्रब टाइफस, डेङ्गीजस्ता अन्य रोग पनि लाग्ने र त्यस्ता व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पनि देखिएमा गाह्रो हुने भएकाले सङ्क्रमितको त्यसको पनि परीक्षण गरेर त्यसको पनि उपचार आवश्यक पर्ने डा. मरासिनीले बताए।










