कोभिड नेपाल: थपिए ७,३६८ कोरोनाभाइरस सङ्क्रमित, १४५जनाको मृत्यु पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप ७,३६८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

तस्बिर स्रोत, RSS
उक्त अवधिमा कोभिड-१९ सँग सम्बन्धित कारणले १४५थप जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाउँछ।
पीसीआर र एन्टिजन विधि गरी जम्मा १९,८८३ जनाको परीक्षण गरिएको थियो।
काठमाण्डू, भक्तपुर र ललितपुरमा २ हजार ६०९ सङ्क्रमित थपिएका हुन्।
देशभर १ लाख १० हजार २ सय ६३ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
होम आइसोलेशनमा १ लाख २ हजार ४५५ र संस्थागत आइसोलेशनमा ७,८०८ जना रहेका छन्।
गत २४ घण्टामा ६६४८ जना सङ्क्रमणमुक्त भएका छन्।
अहिले देशभर आईसीयूमा १,३१३ जना र भेन्टिलेटरमा ३८० जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो तथ्याङ्क अनुसार आइतवार पनि काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।
बागमती र कर्णाली प्रदेशको अवस्था के छ?
कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या वृद्धि हुँदै गएपछि कोरोनाभाइरस सङ्क्रमण भएका बिरामीलाई शय्या पाउन निकै कठिन हुने गरेको बिरामीका आफन्तहरूले बताएका छन्।
बिरामीलाई एम्बुलेन्समा राखेर ४ घण्टासम्म अस्पतालहरू घुमाउँदा बल्ल बल्ल शय्या पाएको सैनिककुमार महतोले बताए।

तस्बिर स्रोत, EPA
उनी भन्छन्, "बिरामीलाई शय्या पाउन पनि सोर्सफोर्स चाहिँदो रहेछ नत्र मुस्किल छ।
अस्पतालमा कोरोनाभाइरस सङ्क्रमितका बिरामीले भरिएपछि अस्पतालमा बिरामीलाई शय्या र अक्सिजनको अभाव हुँदै गएको भरतपुर अस्पतालका कोभिड संयोजक डाक्टर प्रमोद पौडेलले बीबीसी संवाददाता ईश्वर जोशीलाई बताए।
नेपालको सात प्रदेशको तुलनामा बागमती प्रदेशमा कोरोनाभाइरसको सङ्क्रमण उच्च रहेको छ।
जटिल खालका बिरामी धेरै
अस्पतालहरूमा शय्याको अभाव हुँदा कतिपय बिरामीको अस्पताल चहार्दा चहार्दै मृत्यु हुने गरेको छ।
चितवनमा विभिन्न जिल्लाबाट कोभिडका बिरामीहरू आउने गरेका छन्। दैनिक बिरामीहरू थपिने क्रम छ।
त्यसैले शय्या र अक्सिजनको अभाव हुन थालेको भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले बताए।
बागमती प्रदेशको राजधानी मकवानपुरमा रहेको हेटौँडा अस्पतालमा पनि बिरामीको चाप बढ्दै गएको र अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता पर्ने गरेको कारण अक्सिजनको अभाव हुँदै गएको डाक्टर सागर काफ्ले बताए।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ

उता कर्णाली प्रदेशमा पहिला जुम्लाका मानिस नेपालगञ्ज तथा सुर्खेत पठाउने गरिएको भए पनि अहिले सुगमका बिरामी जुम्लामा आउन थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।
हुम्ला, कालिकोट, मुगु, .डोल्पा जिल्लामा अक्सिजन तथा विशेषज्ञ डाक्टर नहुँदा त्यहाँका बिरामीहरू जुम्लामा आउने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ डाइरेक्टर सविना थापाले बीबीसी संवाददाता कृष्णमाया उपाध्यायलाई जानकारी दिइन्।
उनले भनिन्, "अहिले सुर्खेतमा पनि अक्सिजन र अस्पतालमा शय्या अभाव भएका कारण त्यहाँका बिरामीहरू पनि जुम्ला आउने क्रम बढिरहेको छ।"
अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३१ जना कोभिडका बिरामी भर्ना गरेर उपचार भइरहेको मध्ये १८ जना जुम्लाका र बाँकी अन्य जिल्लाका बिरामीहरू रहेका छन्।
कर्णालीमा रहेका १ सय ५३ आईसीयू शय्यामध्ये ९६ बेडमा बिरामी रहेको र ३५ वटा भेन्टिलेटरमध्ये ८ जना बिरामीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले जनाएको छ।
विकटका बिरामीलाई उद्धारको समस्या
पछिल्लो तिन हप्तामा कोभिड सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको चिकित्सकहरूले बताएका छन्।
भौगोलिक विकटता रहेको कर्णाली प्रदेशमा गम्भीर खालका कोभिडका बिरामीहरूलाई एक ठाउँबाट अर्को ठाउँ लैजान समस्या भइरहेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डाक्टर रविन खड्काले बताए।
जहाज मार्फत बिरामीको उद्धार गर्नु पर्ने भए पनि सबै निकायसँग पहल गर्दा पनि कतैबाट सहयोग हुन नसकेको उनले बताए।
यसको साथै कर्णालीमा रहेका कर्णाली स्वास्थ्य विज्ञान, प्रदेश अस्पताल सुर्खेत र चौरजहारी अस्पताल रुकुम बाहेकका जिल्लामा रहेको अस्पतालमा जनशक्ति तथा मेसिन अभावका कारण कोभिडका बिरामीहरूलाई समस्या भइरहेको उनले बताए।
बिरामीको चिन्ता
पाँच दिनसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएर अहिले होम आइसोलेसनमा रहेकी जुम्लाकी शारदा रोकायाले जतिबेला पनि अक्सिजन आवश्यक पर्छ तर भनेको समयमा अक्सिजन पाइँदैन त्यसैले गर्दा मर्ने हो कि भन्ने चिन्ताले सताउने गरेको बताएकी छन्।
समुदाय स्तरमा कोरोना भाइरस सङ्क्रमण दर तीव्र गतिमा अगाडि बढिरहेको हुन सक्ने भएकाले स्थानीय तहले तत्काल यस विषयमा अनुगमन गर्न आवश्यक रहेको हुम्ला जिल्लाका जनस्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेमबहादुर सिंहले बताए।
कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?
कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -
• ११३३
• ९८५१२५५८३९
•९८५१२५५८३७
एम्बुलेन्स सेवाको लागि -
•१०२
यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।
नेपालमा शय्या र आईसीयू कति?
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिले सबै शय्याको सङ्ख्या १८,९१७ छ।
देशका सातैवटा प्रदेशमा गरी आईसीयूको सङ्ख्या १,४८६ र भेन्टिलेटरको सङ्ख्या ६३४ छ।
कोरोनाभाइरस महामारी सुरु भएपछि केही थपिएर तिनीहरूको सङ्ख्या अहिले यति पुगेको हो।









