कोभिड भारतः कोरोना भाइरस सङ्क्रमण हुँदा प्रयोग गर्न नयाँ औषधिलाई स्वीकृति

भारत कोरोनभाइरस

तस्बिर स्रोत, Reuters

कोरोनाभाइरस सङ्क्रमण बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले भारतमा स्थानीय रूपमा विकसित एउटा नयाँ औषधिले स्वीकृति पाएको छ।

औषधिसँग सम्बन्धित विषय हेर्ने भारतको सरकारी निकायले टू-डीजी (2-DG) नामक औषधिलाई प्रयोगको आपत्कालीन रूपमा अनुमति दिएको हो।

कोभिडबाट अतिप्रभावित राजधानी दिल्लीका अस्पतालहरूमा यो औषधि पहिलो पटक प्रयोग गरिनेछ। सरकारले जारी गरेको विज्ञप्तिमा उक्त औषधि कोभिडबाट "पीडित भएकाहरूका लागि अत्यन्तै लाभदायक" रहेको उल्लेख छ।

तर केही आलोचकहरूले कोभिड उपचारका लागि उक्त औषधिलाई आपत्कालीन स्वीकृति दिँदा आवश्यक पर्ने तथ्याङ्क उपलब्ध नभएको औँल्याएका छन्।

टू-डीअक्सी-डी-ग्लुकोज (2-deoxy-D-glucose) वा टू-डीजी औषधि डिफेन्स रिसर्च डिभलप्मन्ट अर्गनाइजेशन (डीआरडीओ)ले डक्टर रेड्डीज नामक गरेको औषधि उत्पादकसँगको सहकार्यमा विकास गरेको हो।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

"क्लिनिकल परीक्षणका नतिजाहरूले यो मलिक्यूलले अस्पताल भर्ना भएका बिरामीहरूलाई छिटो निको हुन सहयोग गर्छ र अक्सिजनप्रतिको निर्भरता कम गर्छ," सरकारी विज्ञप्तिमा भनिएको छ।

तर स्वास्थ्यविज्ञहरूले मानिसहरूमा गरिएको परीक्षणमा औषधिको प्रभावबारे प्रकाशित डेटाको कमीले यसको प्रभावकारिताबारे प्रश्न उत्पन्न भएको बताएका छन्।

उक्त औषधि खासमा क्यान्सर रोगको उपचारका लागि विकास तथा परीक्षण गरिएको तर लामो समयसम्म प्रयोग गर्दा समेत स्वीकृत नगरिएको उनीहरूले औँल्याएका छन्।

अहिलेसम्म कोभिड-१९ को कुनै अचूक उपचार छैन र लक्षण कम गर्नका लागि प्रयोग हुने औषधिहरूको कोरोनाभाइरस महामारीको दोस्रो लहरसँग सङ्घर्ष गरिरहेको भारतमा नाटकीय रूपमा अभाव देखिएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'कोरोना भएको बेला डान्स गर्दा मलाई कोरोना लागेको छैन जस्तो महसुस हुन्थ्यो'

दुई करोड ४० लाख जनामा सङ्क्रमण र २७०,००० जनाको मृत्यु भएको भारत अहिले कोरोनाभाइरसको विश्वव्यापी महामारीको केन्द्रबिन्दु बनेको छ।

केही सातायता मृत्यु हुने बिरामीको सङ्ख्या बढेसँगै घातक दोस्रो लहरले भारतका कैयौँ क्षेत्रमा क्षति पुर्‍याएको छ।

कैयौँ अस्पतालहरू शय्या र अक्सिजनको अभावका कारण सामान्य उपचार दिन पनि नसक्ने अवस्थामा पुगेका छन्। भारतका धेरै मसानघाटमा पनि ठूलो चाप परेको छ।

अहिलेको सङ्कटलाई कम गर्नका लागि आवश्यक खोप अभियानले पनि अपेक्षाकृत ढङ्गमा गति लिन सकेको छैन।

सरकारी विज्ञप्तिमा यो औषधि मध्यमदेखि गम्भीर स्थितिमा रहेका बिरामीहरूलाई उपलब्ध गराइने "एड्जङ्क्ट थेरपी" अर्थात् सहायक उपचारविधिमा यो औषधि प्रयोग हुने उल्लेख छ।