कोरोना भाइरस भारतः कोभिड महामारीमा जीवन र मृत्युको निर्णय गर्ने सन्देशहरू

    • Author, जोर्जिना रेनार्ड
    • Role, बीबीसी न्यूज

कोरोनाभाइरस महामारीको दोस्रो लहर खेपिरहेको भारतमा दैनिक साढे तीन लाखभन्दा बढी सङ्क्रमित थपिँदै गर्दा बिरामीका परिवारले सहयोगका लागि सामाजिक सञ्जालमा याचना गरिरहेको देखिन्छ।

बिहानदेखि बेलुकासम्म उनीहरूले इन्स्टाग्राममा आफ्ना सन्देशमा केही परिमार्जन गर्छन्, ह्वाट्स्‌एप ग्रूपमा सन्देश लेख्छन् र फोन नम्बर भएका आफ्ना डायरीका पाना पल्टाइराख्छन्।

अस्पतालका शय्या, अक्सिजन, रेम्डेसिभिर र प्लाज्माको खोजीमा उनीहरू जुटिरहेका हुन्छन्।

त्यहाँ एकदम भद्रगोल र चापाचाप छ। एउटा ह्वाट्स्एप सन्देश पुग्न थाल्छः “दुईवटा आईसीयू शय्या खाली”। तर केही मिनेटपछि त्यो अरूले नै पाइसकेको सन्देश आउँछ। जो पहिला पुग्छ उसले पाउँछ।

अर्को सन्देशः “तत्काल अक्सिजन कन्सन्ट्रेटर चाहियो। कृपया सहयोग गर्नुहोस्।”

भारतमा स्वास्थ्य प्रणाली भताभुङ्ग भइरहँदा जीवन र मृत्युबीच समुदाय, स्वयंसेवा र भाग्य उभिएको देखिन्छ।

तर आपूर्तिभन्दा माग धेरै भइरहेको र कुर्नलाई बिरामीसँग पर्याप्त समय हुँदैन।

केही दिनअघि मैले यो समाचार लेख्न आरम्भ गर्दा आफ्ना काकाका छोराका लागि ह्वाट्स्‍एपमार्फत् अक्सिजनको जोहो गरिरहेका उत्तर प्रदेशका एक पुरुषसँग कुरा गरेकी थिएँ।

मैले यो समाचार लेखिसक्दा ती बिरामीको ज्यान गइसकेको रहेछ। आफ्ना प्रियजनको जीवनरक्षाका निम्ति सहयोग खोजिरहेका अन्य मानिसहरू थकित र निराश देखिन्छन्।

“भारतमा अहिले बिहानको ६ बजेको छ र यति बेलादेखि हामी सहयोगका लागि फोन गर्न सुरु गर्छौँ।”

“सम्बन्धित दिनमा हाम्रा हजुरबुवालाई अक्सिजन अथवा सुई के चाहिएको छ त्यो हेरेर ह्वाट्स्एपमार्फत् खोज्न सुरु गर्छौँ र हामीले चिनेका सबैलाई फोन गर्छौँ,” अवानी सिंहले भनिन्।

दिल्लीमा उनका ९४ वर्षीय हजुरबुवा कोभिड-१९ बाट सिकिस्त छन्। संयुक्त राज्य अमेरिकास्थित आफ्नो घरबाट अवानी र उनकी आमा अमृताले सहयोग पाउनका लागि गर्नुपरेको सङ्घर्षबारे सुनाए।

“हामीले थाहा पाएसम्मका सबैतिर लागिपरेका हुन्थ्यौँ। मैले सामाजिक सञ्जाल हेरिरहेकी थिएँ त्यहाँ मैले फलो गरेका पेजहरूमा ‘फलानो फलानो ठाउँमा आईसीयू शय्या खाली छ’ अथवा ‘यो ठाउँमा अक्सिजन पाइन्छ’ भन्ने सन्देश थिए। हामीले झन्डै २०० ठाउँमा प्रयास गर्‍यौँ,” अवानीले भनिन्।

अन्ततः एकजना स्कूले साथीमार्फत् उनीहरूले एउटा अस्पतालमा शय्या खाली रहेको थाहा पाए तर त्यहाँ अक्सिजन उपलब्ध थिएन। त्यति बेलासम्म अवानीका हजुरबुवा अचेत भइसकेका थिए।

“त्यसपछि सहयोगका लागि मैले फेसबुकको सहारा लिएँ र एकजना साथीमार्फत् अक्सिजनको उपलब्धतासहित आकस्मिक सेवा दिने शय्या खाली रहेको पायौँ। ती साथीको सहयोगले गर्दा त्यो रात मेरो बुवा बाँच्न सफल हुनुभयो,” अमृताले भनिन्।

त्यो दिन हामीले कुरा गर्दा उनको अवस्थामा सुधार आएको देखियो। तर त्यसपछि अवानी र अमृताले गर्नुपर्ने काम भनेको रेम्डेसिभिर पाउनु थियो। उनीहरूले फोन गरे र अमृताका भाइले त्यसको खोजीमा दिनमा १६० किलोमिटरसम्मको गाडीमा यात्रा गरे।

अर्पिता चौधरी र लेडी श्रीराम कलेजका अरू विद्यार्थीले अनलाइन सूचना संयोजन गर्न एउटा समूह बनाए

“मेरो हजुरबुवा मेरो सबैभन्दा राम्रो साथी हुनुहुन्छ। इन्स्टाग्राम पेज चलाइरहेका यी मानिसहरूलाई र उनीहरूले गरिरहेका कामका लागि जति धन्यवाद दिए नि कम हुन्छ,” अवानीले भनिन्।

तर सन्देशहरूको औचित्य छिट्टै सकिन्छ र मानिसहरूलाई गलत सन्देशबारे चिन्ता पनि हुन्छ।

“एउटा फार्मेसीमा सुई पाउने भनेर थाहा पायौँ तर मेरो काकाको छोरा त्यहाँ पुगुन्जेल औषधि सकिइसकेको थियो। बिहानको साढे ८ बजे फार्मेसी खुलेको थियो र मानिसहरू लाइन बसिरहेका थिए। एक सय जनाले मात्रै पाए,” उनले भनिन्।

अमृताका अनुसार “१,२०० भारुमा पाइने औषधि कालोबजारमा १,००,००० भारुसम्ममा” बेच्ने गरिएको छ।

भद्रगोलबीच समुदायका मानिसहरूको समूह बनाएर र इन्स्टाग्राम खातामार्फत् सम्पर्क नम्बरहरू आदानप्रदान गरेर केही मानिसहरूले थिति बसाल्ने र सूचनालाई केन्द्रित गर्ने प्रयास गरिरहेका छन्।

राजधानी दिल्लीमा २० वर्षीया अर्पिता चौधरी र उनको कलेजका साथीहरूले सूचनाको अनलाइन डेटाबेस चलाइरहेका छन् जहाँ उनीहरूले सूचना सङ्कलन तथा त्यसको पुष्टि आफैँले गर्छन्।

“प्रत्येक घण्टा, प्रत्येक मिनेट परिवर्तन भइरहेको छ। पाँच मिनेटअघि एउटा अस्पतालमा १० वटा शय्या खाली रहेको मलाई जानकारी गराइएको थियो तर मैले अहिले फोन गर्दा खाली नभएको भनियो,” उनले भनिन्।

शुक्रवार उत्तर प्रदेशको गोरखपुरका आदित्य गुप्ताले गम्भीर बिरामी रहेका आफ्ना काकाको छोरा सौरभ गुप्ताका लागि अक्सिजन कन्सन्ट्रेटर खोजिरहेको मलाई बताएका थिए।

पेसाले इन्जिनियर रहेका ३० वर्षीय सौरभ परिवारका लागि गर्व र खुसीका स्रोत थिए।

सानो पसल थापेका उनका बुवाले छोराको अध्ययनका लागि पैसा बचत गरेका थिए।

“हामीले गोरखपुरका लगभग सबै अस्पताल चहार्‍यौँ। ठूला अस्पतालमा शय्या खाली थिएन र बाँकीले भने - यदि तपाईँहरू आफैँले अक्सिजनको व्यवस्था गर्न सक्नुहुन्छ भने हामी बिरामीलाई राख्न सक्छौँ,” आदित्यले सुनाए।

ह्वाट्स्एपमार्फत् उनको परिवारले अक्सिजन सिलिन्डर त पायो र त्यसलाई चलाउनका निम्ति कन्सन्ट्रेटर चाहिएको थियो।

तर बजारमा त्यो सकिइसकेको थियो। यद्यपि एक आपूर्तिकर्ताले एउटा उपलब्ध गराउन सकिने आश्वासन दिएका थिए।

तर अत्यावश्यक उक्त उपकरण न उनीहरूले पाए न सौरभलाई अस्पताल भर्ना गर्न नै सकियो।

आदित्यले भने, “हिजो बिहान हामीले उसलाई गुमायौँ । आमाबुवाकै अगाडि उसको मृत्यु भयो।”

यो पनि हेर्नुहोस्