ज्ञानेन्द्र शाहः पूर्वराजदम्पती छोरी प्रेरणासहित अस्पताल 'भर्ना'

केही दिनअघि कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह अस्पताल भर्ना भएको एक सहयोगीले बताएका छन्।

पूर्वराजाका सचिव फणिराज पाठकका अनुसार पूर्वराजदम्पतीसँगै छोरी प्रेरणा शाह पनि शनिवार दिउँसो काठमाण्डूस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन्।

"चिकित्सकहरूकै सल्लाहमा उहाँहरू दिउँसो १ बजे अस्पताल भर्ना हुनुभएको हो। स्वास्थ्यमा त्यस्तो कुनै जटिलता देखिएर भर्ना हुनुभएको होइन," पाठकले बीबीसी न्यूज नेपालीलाई भने।

"अस्पतालमा भएपछि हेरचाह पनि राम्ररी हुने भएर जानुभएको हो," उनले थपे।

कुम्भमेलामा स्नान

भारत भ्रमणबाट फर्किएका पूर्वराजदम्पतीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको मङ्गलवार पुष्टि भएको थियो।

पाठकले मङ्गलवार बीबीसीलाई बताएअनुसार सङ्क्रमण पुष्टि भएपछि पूर्वराजदम्पती निर्मल निवासमा आइसोलेसनमा बस्दै आएका थिए।

भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर गत आइतवार उनीहरू नयाँ‍दिल्लीबाट नेपाल फर्किएका थिए।

कुम्भमेलामा गङ्गास्नान गरेका पूर्वराजा शाहले केही साधुसन्तसँग पनि भेटघाट गरेका थिए।

भारतमा कुम्भमेलामा सहभागी एक हजारभन्दा बढी मानिसलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको छ।

पूर्वराजाले नेपाल फर्किनुअघि नयाँदिल्लीमा परीक्षण गराएको तर त्यतिबेला सङ्क्रमण नदेखिएको उनीसँगै यात्रा गरेका उनका सचिव पाठकले यसअघि बीबीसीलाई बताएका थिए।

हवाईयात्राका लागि ७२ घण्टाभित्रको परीक्षण प्रतिवेदन आवश्यक पर्ने भएकाले उनको त्यहाँ परीक्षण भएको थियो।

नेपाल फर्किएपछि पूर्वराजा ज्ञानेन्द्रले एउटा विज्ञप्ति जारी गरी हरिद्वारमा आफूले पाएको "विशेष सम्मान, सत्कार र संस्कारयुक्त आदरभावप्रति" निरञ्जन पीठका पीठाधीश्वर कैलाशानन्द गिरी तथा समस्त सन्तमहात्माप्रति कृतज्ञता व्यक्त गरेका थिए।

उनी निरञ्जन पीठका पीठाधीश्वरको निम्तोमा कुम्भमेलामा सहभागी हुन हरिद्वार गएका थिए।