तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युरोपियन सुपर लीग: इङ्ग्लिश प्रीमीअर लीगका छवटा क्लब सहभागी हुन सहमत, फिफाले मान्यता नदिने
नयाँ युरोपेली सुपर लीग (ईएसएल) मा भाग लिन प्रमुख छसहित १२ वटा क्लब तयार भएका छन्।
तिनमा आर्सेनल, चेल्सी, लिभरपुल, म्यान्चेस्टर सिटी, म्यान्चेस्टर यूनाइटेड र टोट्नम पनि छन्।
युरोपियन फुटबलमा हलचल ल्याइदिएको उक्त कदमअन्तर्गत प्रीमीअर लीग क्लबमा एसी मिलान, एट्लेटिको मड्रिड, बार्सिलोना, इन्टर मिलान, युभेन्ट्स र रेयाल मड्रिड पनि जोडिएका छन्।
संस्थापक क्लबहरूले 'नयाँ मध्यसप्ताह प्रतिस्पर्धा' आयोजना गर्न सहमति गरेको ईएसएलको भनाइ छ। तर 'सम्बन्धित राष्ट्रिय लीग प्रतिस्पर्धालाई उनीहरूले निरन्तरता' दिनेछन्।
उसले उद्घाटन 'छिट्टै सुरु हुने अपेक्षा गरिएको' र 'थप तीनवटा क्लब पनि जोडिने आशा' गरिएको जनाएको छ।
ईएसएलको योजनामा पुरुष खेल सुरु भएपछि जतिसक्दो छिटो महिला प्रतिस्पर्धा पनि गराउने भनिएको छ।
ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सन, यूनियन अफ युरोपियन फुटबल असोसीएशन (यूईएफए) र प्रीमीअर लीगले आइतवार युरोपियन सुपर लीगबारेको समाचार आएपछि उक्त कदमको भर्त्सना गरेका छन्।
फुटबलको विश्व प्रशासकीय निकाय फिफाले यसअघि त्यस्ता प्रतिस्पर्धालाई मान्यता नदिने बताएको थियो। उसले त्यसमा संलग्न हुने खेलाडीलाई विश्वकपमा खेल्नबाट रोक लगाउन सक्ने समेत जनाएको थियो।
यूईएफएले त्यसमा संलग्न खेलाडीहरूलाई घरेलु, युरोपेली वा विश्वस्तरका खेलमा सहभागी हुन प्रतिबन्ध लगाउने र उनीहरूलाई आफ्नो देशको राष्ट्रिय टीममा पनि संलग्न हुन रोक्ने चेतावनी आइतवार दोहोर्याएको छ।
सुपर लीगको घोषणापछि फिफाले प्रस्तावित प्रतिस्पर्धालाई मान्यता नदिने घोषणा गरेको छ।
उसले खेलको राम्रोका निम्ति तातो बहसमा संलग्न सबैलाई शान्त हुन र सन्तुलित एवम् रचनात्मक संवादमा सहभागी हुन आग्रह गरेको छ।