गैँडा गणना: पुरानै विधिबाट गैँडा गणना गर्दा निम्तिएको जोखिम

    • Author, विमला चौधरी
    • Role, बीबीसी न्यूज नेपाली, नेपालगञ्ज

पुरानै विधिबाट गैँडा गणना गर्दा गणना कार्य जोखिमपूर्ण बन्दै गएको निकुञ्जका अधिकारीहरूले बताएका छन्।

गैँडा ठूलो खालको जनावर भएकोले टाउको गनेर गणना गर्दा अन्य जनावरबाट जोखिम बढ्दै गएको उनीहरूले बताएका हुन्।

गैँडा गणना गर्दा अन्य जनावरलाई बाधा नपर्ने किसिमको प्रविधिको विकास गर्न सके गणनामा खटिएका गणकहरूलाई हुने जोखिम कम गर्न सकिने वन्यजन्तु संरक्षणविद् एवं बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए।

उनी भन्छन्, "अहिलेसम्म गणना गर्ने विधि पुरानै छ, गणनाका लागि एकसाथ धेरै हात्ती र गणकहरू निकुञ्ज क्षेत्रमा प्रवेश गर्दा अन्य जनावरलाई बाधा उत्पन्न भएर आत्तिने भएकाले मान्छेलाई समेत आक्रमण गरेको अनुमान गर्न सकिन्छ।"

हात्तीसहित चारैतिरबाट घेराबन्दी गरेर गणना गर्दा बाघ लगायतका वन्यजन्तुलाई आवश्यक आहारा खोज्न बाधा उत्पन्न हुने, र उनीहरूकै वासस्थानमा पुग्दा आक्रोशित भएर जोसुकैलाई आक्रमण गर्न सक्ने थापाको भनाइ छ।

सुरक्षित हुन के गर्न ठिक

पुरानै विधिबाट गणना गर्दा यसअघि जङ्गली हात्तीबाट मात्र जोखिम भए पनि यस वर्ष बाघ आक्रमणको घटनाले थप खतराको सङ्केत देखिएको संरक्षणविद् थापा बताउँछन्।

बर्दियामा गैँडा गणनामा खटिएका माहुतेलाई बाघले आक्रमण गरेको प्रसङ्ग जोड्दै उनले भने, "यसअघि गणनामा खटिएका कर्मचारीलाई चितवनमा ध्रुव हात्तीलगायत अन्य हात्तीले दुःख दिने गरेका थिए तर बाघले आक्रमण गरेको यो पहिलो घटना हो।"

"हात्तीमाथि चढेर गणना गर्न जाँदा अन्य वन्यजन्तुबाट यस्तो खालको असुरक्षा हुन्छ भनेर कल्पना पनि गरेका थिएनौँ, यो घटनाले चारदेखि छवटा हात्तीसँगै हुनुपर्छ भन्ने नयाँ सन्देश दिएको छ," उनले भने।

गणनापछि जङ्गलमै विश्रामको समयमा हात्तीलाई आहारा दिने, नुहाइदिने, मालिस गरिदिने क्रममा हात्ती र गणकहरू एकै स्थानमा बस्नुपर्ने र सुरक्षाकर्मीहरूले अन्य जनावरको निगरानी गर्नुपर्ने नियम रहेको संरक्षणविद् थापा बताउँछन्।

तर कडा सुरक्षा व्यवस्था हुँदाहुँदै सुरक्षा घेराभन्दा बाहिर गएकै कारण बर्दियामा यस्तो घटना भएको उनको भनाइ छ।

"सुरक्षा घेराभन्दा बाहिर गएर हात्तीलाई नुहाइदिने क्रममा बाघले आक्रमण गरेको देखिन्छ," बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठ भन्छन्, "बाघको वासस्थानमा प्रवेश गर्दा सबैले सतर्कता अपनाउनै पर्ने हुन्छ, हामीले पनि अपनाएकै हो तर यो अकस्मात् हुने दुर्घटना जस्तै भयो।"

गैँडा गणना गर्न बर्दिया राष्ट्रिय निकुञ्जमा १० वटा हात्ती परिचालन गरिएको थियो।

एउटा हात्ती बराबर माहुतेसहित तीन जना हात्तीसारका कर्मचारी, तालिम प्राप्त १० जना गणक र १० जना सहायक गणकसहित ५० जनालाई परिचालन गरिएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए।

साथै क्याम्प व्यवस्थापनमा खटिने १० जना कर्मचारी र सुरक्षाकर्मीको टोली छुट्टै परिचालन गरिएको श्रेष्ठले बताए।

गणकहरूलाई प्रशिक्षण र सुरक्षा

गैँडा गणनाका लागि मात्र नभएर जुनसुकै गस्तीका लागि निकुञ्ज क्षेत्रमा प्रवेश गर्ने कर्मचारीलाई मुख्य मुख्य वन्यजन्तुको आनी बानी र उनीहरूबाट सुरक्षित रहने तरिकाबारे प्रशिक्षण दिने गरिएको निकुञ्ज अधिकारीहरू बताउँछन्।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार सबै गणकहरूलाई तीन दिनको तालिमका क्रममा वन्यजन्तुबाट सुरक्षित हुने तरिका, जङ्गली हात्ती, बाघ र गैँडाबाट कसरी बच्ने लगायतका विषयमा प्रशिक्षण दिएर मात्र जङ्गल प्रवेश गराइन्छ।

हात्तीहरूलाई लाइनमा राखेर गणना गर्ने सन्दर्भमा बलिया हात्तीको बीचमा कमजोर हात्ती पर्ने हिसाबले राखिन्छ।

बलिया हात्तीहरू बाघ, गैँडा र जङ्गली हात्तीसँग अभ्यस्त भइसकेका र उनीहरूसँग जुध्न सक्ने हुन्छन्।

अगाडि गणकहरू, त्योभन्दा पछाडि ठाउँअनुसार तीन अथवा चारवटा हात्तीको बीचमा नेपाली सेनाको पूर्ण हतियारसहितको टोली रहने गरेको र उनीहरूले आवश्यकता अनुसार फायरिङ गर्ने, लखेट्ने, तर्साउने काम गर्ने गरेको बरालले बताए।

क्षतिपूर्तिको व्यवस्था

बाघको आक्रमणबाट ज्यान गुमाएका ठाकुरबाबा नगरपालिका वडा नम्बर नौ बुतकौवाका माहुते चौधरीको परिवारलाई निकुञ्ज विभागको निर्देशिका अनुसार १० लाख रुपैयाँ राहतका साथै अन्य सहयोगको व्यवस्था गर्न सकिने बर्दियाका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए।

सरकारी कामकै सिलसिलामा ज्यान गुमाएमा १० लाख रुपैयाँ नगद क्षतिपूर्तिको व्यवस्था हुने, घाइते भएको अवस्थामा सम्पूर्ण उपचार खर्च निकुञ्जले बेहोर्ने बताइएको छ।

अबको रणनीति कस्तो हुनुपर्ने

बाघ आक्रमणको घटनापश्चात् अब नयाँ रणनीतिकासाथ अगाडि बढ्नुपर्ने देखिएको निकुञ्ज अधिकारीहरू बताउँछन्।

सुरक्षा सतर्कता पहिलेको भन्दा व्यापक रूपमा अपनाउनुका साथै निकुञ्जमा खटिने कर्मचारीहरूको मनोबल बढाउन विशेष कार्यक्रम ल्याउनुपर्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले बताए।

"जङ्गली जनावरको सङ्ख्या वृद्धिसँगै आक्रमणका घटना बढिरहेको अवस्थामा हाम्रा कर्मचारीहरू उच्च जोखिममा रहेर २४ सै घण्टा जङ्गलमै गस्ती गर्नुपर्ने र हात्तीसहित जङ्गलमै सुत्नुपरेको थियो तर सेवा सुविधा निजामती कर्मचारी बराबर नै छ।"

उनले भने, "अब यस्तो किसिमको काममा खटिने कर्मचारीको मनोबल बढाउन विशेष खालको सुविधा दिएर काम लगाउनुपर्ने अवस्था देखिएको छ।"