कोरोना भाइरस: महामारीको समयमा बिर्सिएका महिला बन्दी

    • Author, स्वामीनाथन नटराजन
    • Role, बीबीसी विश्व सेवा

"जेलको कोठा दुर्गन्धित थियो। मलाई प्रयोग भइसकेको सुकुल दिइएको थियो। धेरै जनाले प्रयोग गरिसकेको सुकुललाई मैले प्रयोग गरिरहेकी थिएँ।"

साफोरा जर्गर बन्दी गृहमा बस्ने आफ्नो ठाउँ देखेर आश्चर्यमा परेकी थिइन् तर कोभिड-१९ ले अवस्था अझ खराब बनायो।

एप्रिल २०२० मा भारतकी यी २८ वर्षिया विद्यार्थीलाई प्रदर्शनमा सहभागी भएको आरोपमा गिरफ्तार गरिएको थियो।

महामारीसँग जुध्न देशव्यापी लकडाउन लगाइएको थियो र साफोराले दक्षिण एसियाकै ठूलो दिल्लीको तिहाड जेलमा समय बिताउनु कतिको कष्टकर हुन्छ भन्ने अनुभव गर्न लागिरहेकी थिइन्।

लकडाउनमा जेल भित्र

"जेलको एउटा पूरै वार्डका लागि जम्मा एउटा बोतल स्यानिटाइजर राखिएको थियो। केही डिस्पेन्सर भएपनि त्यो कहिल्यै पनि पुनः भरिएका थिएनन्," उनले बीबीसीसँग भनिन्।

उनले आफूले ल्याएका स्यानिटाइजरले वरपरको क्षेत्र सफा गरेकी थिइन्।

"म जेलमा प्रवेश गर्दा उनीहरूले प्रत्येक कैदीलाई दिने जस्तै मलाई पनि आधा टुक्रा साबुन र खादीको मास्क दिएका थिए।"

जेलको अवस्था पीडादायी रहेको भन्दै उनले महामारी सुरु हुनुअघि नै तिहाड जेलमा कैदी बन्दी बसेको दर १७५ प्रतिशत रहेको बताइन्।

पक्राउ परेको समयमा तीन महिनाको गर्भ रहेकाले साफोराका लागि अवस्था अझ खराब बनेको थियो।

एकल कारावास

"म अल्ट्रासाउन्ड परीक्षणका लागि जानुपर्थ्यो। त्यो पीडादायी अनुभव थियो किनभने डाक्टरले मलाई हेर्दैनथे र अस्पतालका कर्मचारीहरू मसँग बोल्दैन थिए।"

साफोराले बन्दी भएकाले आफूले त्यस्तो बहिष्कार भोग्नुपरेको उल्लेख गर्दै त्यो आफूले भोगेको कष्टको सुरुवात मात्रै भएको उल्लेख गरिन्।

"अल्ट्रासाउन्डबाट फर्किएपछि म १५ दिन एक्लै बन्दी गृहमा बसेँ," उनले भनिन्।

तिहाड जेलमा क्वारन्टीन शब्दले भय बुझाउँछ। एकल कारावास शब्द खराब व्यवहारका लागि दिइने दण्डलाई बुझाउन प्रयोग गरिन्छ।

"एउटा सानो प्वालबाट तपाईँलाई खाना उपलब्ध गराइन्छ। कोही पनि तपाईँसँग बोल्दैनन्। त्यहाँ कुनै मानवीय अन्तरक्रिया हुँदैन।"

"भुइँमा नै भएको एउटा प्वाल शौचालय हो।"

कोभिडको जोखिम

साफोरालाई पछि अरू थप दुई बन्दीहरूसँगै अर्कै सेलमा स्थानान्तरण गरियो।

"उक्त कोठामा हामीलाई सुत्नका लागि पर्याप्त ठाउँ थियो तर त्यो सामाजिक दूरी कायम गर्नका लागि पर्याप्त थिएन।"

हल्का हिँडडुल गर्न पाएपछि जेलको गेटबाट भित्र-बाहिर गर्ने गरेका गार्डहरूबाट कोरोनाभाइरस सर्ने चिन्ताले आफूलाई सताएको उनले बताइन्।

पानी उपलब्ध हुने एउटै विन्दुमा एक हजारभन्दा बढी महिला बन्दी आश्रित रहेको भन्दै उनले भान्सा र खाने ठाउँमा पनि धेरै महिला जम्मा भएको आफूले देखेको बताइन्।

कोभिडको अर्को नकारात्मक असर भनेको सम्पूर्ण फौजदारी न्याय प्रणालीमा उत्पन्न भएको विलम्ब पनि हो।

बन्दीहरूलाई नियमित रूपमा आगन्तुकहरू भेट्न नदिने गरिएकाले त्यसबाट कानुनी सहायतामा पहुँच पाउन ढिलाइ भएको थियो।

यसको अर्थ साफोराले आफ्ना वकिललाई पहिलोपटक भेट्न २० दिन र परिवारका सदस्यलाई भेट्न १५ दिन कुर्नु परेको थियो।

जेलमा नै बच्चा जन्माउनुपर्ने परिकल्पनाले साफोराको भय बढेको थियो।

क्षमताभन्दा बढी कैदी, पर्याप्त खानेकुरा, शौचालय र स्नानघर अनि स्वास्थ्य उपचार सहितका आधारभूत सेवाको अभाव जस्ता विषयले साधारण अवस्थामा नै धेरै देशका बन्दी गृहहरूलाई सताउने गर्छ। तर कोभिडको महामारीले थप चुनौती सिर्जना गरेको छ।

पीनल रीफर्म इन्टरन्याश्नलकी कार्यकारी निर्देशक ओलीभीया रोप भन्छिन्, "धेरै देशका महिलाहरू पर्याप्त स्यानिटरी उत्पादन र अरू अत्यावश्यक वस्तुहरू विनै बस्नुपरेको छ।"

परिवारका सदस्यहरूमा त्यस्ता सामग्री प्राप्त गर्न धेरै महिलाहरू निर्भर रहेको र आगन्तुकमाथि लगाइएको प्रतिबन्धले त्यसलाई प्रभाव पारिरहेको उनले बताइन्।

त्यसबाहेक आफ्ना सन्तानलाई देख्न नपाउँदा आमाहरूलाई मानसिक प्रभाव पनि परिरहेको छ।

हालै एमनेस्टी इन्टरन्याश्नलले सार्वजनिक गरेको एउटा प्रतिवेदनले महामारीले बन्दीहरूमा पारेको प्रभावको अध्ययन गरेको थियो।

महिलालाई थप जोखिम

उक्त अध्ययनले धेरै देशमा जेलहरूमा कोभिड महामारी नियन्त्रण गर्ने रणनीति सरकारहरूसँग नरहेको र राष्ट्रिय खोप योजनामा कैदीहरूको चर्चा खासै हुने नगरेको पाइएको थियो।

विश्वका एक करोड १० लाख बन्दीहरूमध्ये ७ लाख ४१ हजारभन्दा बढी महिला वा किशोरी रहेको उक्त प्रतिवेदनले उल्लेख गरेको छ।

त्यसमध्ये कैयौँ अपराधी होइनन् र उक्त आँकडामा अपराध गरेको आशङ्कामा गिरफ्तार गरिएका, सुनुवाइ भइरहँदा वा सुनुवाइ सुरु हुनुअघि थुनामा राखिएका व्यक्तिहरू पनि समावेश गरिएको छ।

उक्त प्रतिवेदनका लेखक नेट्सानेट बेलीले बीबीसीलाई भने, "हाम्रो अध्ययनले कोभिड-१९ को महामारीमा विश्वभर बन्दीहरूलाई बिर्सिएको सङ्केत गरेको छ।"

ब्याङ्कक नियम पनि भनिने महिला बन्दीहरूलाई गर्नुपर्ने व्यवहार सम्बन्धी संयुक्त राष्ट्रसङ्घको नियमले महिलाहरूका लागि सेवा, सरसफाइ निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ।

उनले भने, "गर्भ रहेका, स्तनपान गराइरहेका वा महिनावारी चलिरहेका महिलाहरूलाई जेलमा विशेष व्यवस्था गर्नुपर्छ। सरकारले यो उच्च जोखिममा रहेको समूहलाई रिहाइ र खोप जस्ता निरोधात्मक उपचारलाई उच्च प्राथमिकतामा राख्नुपर्छ।"

साफोराले भोगको अनुभवले कैयौँ जेलहरू यो मापदण्ड पूरा गर्न अझै कति टाढा छन् भन्ने देखाउँछ।

आफूले मानसिक समस्या भोग्नुपरेको भन्दै उनले भनिन्, "म उदास भएँ र खुसीको अभावसहित अस्वाभाविक मौनता देखाएँ। मलाई कुनै पनि मानवले यस्तो अनुभव गर्नु नपरे हुन्थ्यो जस्तो लाग्छ।"