तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दीपक जैसी तिम्सिनाः ४० वर्षदेखि भारतमा थुनिएका नेपाली नागरिक कारागारमुक्त, केही बोल्न सकेनन्
- Author, उमाकान्त खनाल
- Role, बीबीसी न्यूज नेपाली, झापा
कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि भारतको कारागारमा थुनिएका नेपाली नागरिक दीपक जैसी तिम्सिनालाई शनिवार रिहा गरिएको छ।
उनलाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार साँझ आदेश दिएको थियो।
नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि उनलाई कोलकाताको दमदम कारागारमा मुक्त गर्ने प्रक्रिया शुक्रवार देखि शुरु भएको थियो।
प्रकाशचन्द्र र कोलकातास्थित नेपाली महावाणिज्य दूतका निजी सचिव सतीश थापाको रोहबरमा दीपकलाई कारागारमुक्त गरिएको हो।
दीपकलाई रिहा गर्न अदालतले आदेश दिए पनि उनको मुद्दा किनारा लागिनसकेको उनको पक्षबाट मुद्दा लडेका कोलकाताका कानुन व्यवसायी हीरक सिन्हाले बीबीसी न्यूज नेपालीलाई बताए।
केही बोल्न सकेनन्
जेलबाहिर तिम्सिनालाई माला लगाएर तथा मिठाइ ख्वाएर स्वागत गरिएको थियो।
दमदम कारागारबाहिर सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति थियो।
कारागारमुक्त भएर चार दशकपछि बाहिरी संसार देख्न पाएका तिम्सिनालाई सञ्चारकर्मीहरूले केही प्रश्न गरेका थिए। तर उनको मुखबाट कुनै वाक्य निस्किएन।
उनी कारागारमुक्त भएका बेला उनका पक्षमा मुद्दा लडेका कानुन व्यवसायी तथा उनको विषयमा सञ्चारमाध्यममा समाचार सम्प्रेषण गरेका पत्रकारहरू उपस्थित थिए।
उनलाई रसबरी ख्बाएपछि एक शुभचिन्तकले उनको हातमा एउटा बट्टा दिन खोज्दै "यो तपाईँकी आमालाई लगिदिनूस्" भनेको बीबीसीले प्राप्त गरेको भिडिओमा सुनिन्छ।
'मुद्दा सकिएको होइन'
सिन्हाले भने, "उनको मुद्दा सकिएको होइन। तर उनको मानसिक अवस्थालाई ध्यानमा राखेर अदालते रिहा गर्न आदेश दिएको हो।"
तिम्सिनालाई रिहा गर्न अदालतले सर्त राखेको थियो। त्यही सर्त परिवारका सदस्य तथा महावाणिज्य दूतावासले मानेपछि उनी शनिवार रिहा भएका हुन्।
उनको बारेमा उनी पक्राउ परेको स्थान भारतको दार्जिलिङ वा कोलकाता उच्च अदालतलाई छ-छ महिनामा उनीबारे जानकारी गराउनु पर्ने सर्त अदालतले राखेको छ।
इलामबाट हराएका थिए
दीपक जैसी तिम्सिना २०३७ सालदेखि इलामको एकतप्पास्थित उनको घरबाट हराएका थिए।
तोरीको पोको बेच्नका लागि भनेर इलामको मङ्गलबारे हिँडेका उनी घर फर्किएका थिएनन्।
त्यसपछि उनी रोजगारी खोज्दै भारतको दार्जीलिङ पुगेको बताइएको छ।
उनलाई दमदम कारागारमा उनका परिवारका सदस्यले केही दिनअघि भेटेका थिए।
त्यो बेला उनको मानसिक अवस्था ठिक नभएको परिवारका सदस्यले पाएको उनका काकाका छोरा प्रकाशचन्द्रले बताएका थिए।
उनलाई बिनासुनुवाइ कोलकाताको दमदम केन्द्रीय कारागारमा रहेका थिए।