नेकपा एमाले: केपी शर्मा ओली भन्छन् 'गुटगत भेला गरे कारबाही', गरेर देखाउन माधव नेपाल समूहको चुनौती

तस्बिर स्रोत, RSS
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलभित्रको असन्तुष्ट पक्षले बोलाएको भेला रोक्न आग्रह गर्दै त्यसो नगरे कारबाही गर्ने चेतावनी दिएका छन्।
बालुवाटारमा आफूले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले पार्टीका नेता र कार्यकर्तालाई "गुटगत" भेलामा सहभागी नहुन "सचेत र सजग" गराए।
तर माधव नेपाल र झलनाथ खनालको समूहले मङ्गलवार राजधानीमा पत्रकार सम्मेलन गरी बुधवारदेखि सुरु हुने दुईदिने भेला नरोक्ने बताएको छ।
सर्वोच्च अदालतले दिएको आदेशले नेकपा एमालेलाई ब्युँतिएपछि माधव नेपाल र झलनाथ खनालसहितका नेताहरू पुष्पकमल दाहाल प्रचण्डसँगको सहकार्य छोड्न बाध्य भएका थिए।
एमाले र माओवादी केन्द्र अलगअलग पार्टीका रूपमा कायमा भएपछि दुई पक्षबीचको सम्बन्धमा कुनै सुधार आएको छैन।
नेकपा कायम हुँदा प्रचण्ड र माधव नेपाल पक्षले ओलीलाई पार्टी अध्यक्षबाट हटाइएको घोषणा गर्दै उनीविरुद्ध आन्दोलनको नेतृत्व गरेको थियो।
ओलीको आक्रोश
आफूले आयोजना गरेको चियापान समारोहमा खनाल-नेपाल पक्षधर नेताहरू अनुपस्थित भएकोमा असन्तुष्टि जनाएका ओलीले पार्टीभित्र "अराजकता" देखिएको भन्दै त्यो मान्य नहुने बताए।
उनले पार्टीको केन्द्रीय समितिको बैठक चैत ७ गते बोलाइएको भन्दै त्यसबाहेक अन्य गुटगत भेला नगर्न चेतावनी दिए।
ओलीले भने, "नेकपा एमालेसँग आबद्ध सम्पूर्ण नेता कार्यकर्तालाई गुटगत भेला नगर्न र सरिक नहुन सजग र सचेत गराउँछु। एकताको पक्षमा उभिन म आग्रह गर्न चाहन्छु।"

तस्बिर स्रोत, RSS
"यो पार्टीमा अब उप्रान्त अराजकता, उच्छृङ्खलता र विधि विधानविपरीत काममा छुट हुन सक्दैन। अब उप्रान्त यस्तो मान्य हुन सक्दैन। अचाक्ली भयो। भाँडभैलो मचाउने कार्य अब हुन सक्दैन।"
एकताबद्ध र अनुशासित पार्टी चाहिने भन्दै उनले, "अनुशासनहीन काम भयो भने पार्टीको विधान, संसद्को नियमावली र दलसम्बन्धी कानुन छ। ती सबतिर म ध्यानाकर्षण गर्न चाहन्छु।"
पार्टीका अध्यक्ष र प्रधानमन्त्रीले बोलाएको चियापानमा अनुपस्थित नेताहरूलाई ओलीले सोधेः "कसको निम्तो पाए जानुहुन्छ?"
सभामुखसँग असन्तुष्टि
ओलीले सर्वोच्च अदालतले पुनर्स्थापित गरिदिएको भए पनि प्रतिनिधिसभा विघटन गर्नुको औचित्य पुष्टि हुँदै गएको दाबी गरे। उनले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामा प्रश्न उठाए।

तस्बिर स्रोत, RSS
पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकबाटै अवरोध थालिएको भन्दै ओलीले भने, "अधिवेशन प्रारम्भ भएको पहिलो दिन नै अध्यादेश सदनमा पेस गर्नुपर्छ। संविधानले पहिलो दिन नै पेस गर्नुपर्ने भनेको संवैधानिक दायित्व पूरा गर्न पाएन। सरकारलाई वञ्चित गरियो।"
सभामुखको कदमलाई "सेटिङ" अर्थात् "मिलेमतो" को' सङ्ज्ञा दिँदै ओलीले भने, "संसद्लाई निष्प्रभावी बनाउने चेष्टा भएको छ ।"
नेपाल पक्ष के भन्छ?
जबाफमा खनाल-नेपाल समूहले प्रधानमन्त्री ओलीलाई शक्तिको भाषा प्रयोग नगर्न भन्दै कारबाही भोग्न तयार रहेको जनाएको छ।
सो समूहद्वारा मङ्गलवार अपराह्न काठमाण्डूमा आयोजित पत्रकार सम्मेलनमा नेता योगेश भट्टराईले भने, "तपाईँले गर्ने प्रत्येक कारबाहीका निम्ति हामी लामबद्ध छौँ।"

तस्बिर स्रोत, Bishnu Rijal
भट्टराईले प्रधानमन्त्री ओली इतिहासको कठघरामा उभिएको र उनले धेरै प्रश्नको जबाफ दिनुपर्ने बताए।
"जब इतिहासले सोधेका प्रश्नहरूको उत्तर दिन तपाईँ असमर्थ हुनुहुन्छ र उत्तर दिन सक्नुहुन्न त्यो बेला इतिहासले तपाईँलाई कठोर कारबाही गर्छ।"
उक्त समूहले बुधवारका लागि तय गरिएको कार्यकर्ता भेला पूर्वनिर्धारित योजनाअनुसार अगाडि बढ्ने जनाएको छ।
नेता भट्टराईले बुधवारको भेलामा सहभागी हुन प्रधानमन्त्रीलाई सार्वजनिक रूपमा निम्तो पनि दिए।
नेपाल पक्षले बुधवारबाट सुरु हुने भेलामा देशभरबाट दुई हजारभन्दा बढी नेता कार्यकर्ता सहभागी हुने जनाएको छ।













