माओवादी केन्द्र विवाद: आफ्ना नेता एमालेबाट फर्कने सम्भावना कति

तस्बिर स्रोत, Surya thapa PM press advisor
शुक्रवार नेकपा एमालेले आफ्नो केन्द्रीय सदस्य बनाएका नेकपा (माओवादी केन्द्र) का नेताहरूलाई माओवादीले आफ्नो धार स्पष्ट पार्न भनेको अवस्थामा अधिकांश नेता एमालेमै रहने मनस्थितिमा पुगेको बुझिएको छ।
उनीहरूले आफूहरू 'वैचारिक रूपमै' प्रचण्डसँग टाढिएकाले अब माओवादीमा 'फर्केर राजनीति गर्ने अवस्था नरहेको' बताएका छन्।
माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारमा सहभागी आफ्नो पार्टीका मन्त्रीहरूलाई पनि तत्काल फिर्ता आउन निर्देशन दिएको छ।
तर अधिकांश मन्त्रीहरूले आफूहरू एमालेमै रहने बताएका विवरणहरू प्रकाशमा आइरहेका छन्।
गृहमन्त्री रामबहादुर थापासहित ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रममन्त्री गौरीशङ्कर चौधरी हाल एमाले नेतृत्वको सरकारमा छन्।
यीमध्ये थापा राष्ट्रियसभा सदस्य हुन् भने रायमाझी, साह, भट्ट र चौधरी प्रतिनिधिसभा सदस्य हुन्।

तस्बिर स्रोत, cmprachanda.com
माओवादी नेता झपटबहादुर बोहरा आधिकारिक रूपमा पार्टीको निर्णय थाहा नपाएको तर गत पुस २२ गते नै आफ्नो कित्ता प्रस्ट पार्दै मन्त्री पदसमेत त्यागेको बताउँछन्।
"त्यसकारण अहिले भइरहेका कुराले कुनै माने राख्छ जस्तो मलाई लाग्दैन। पत्र प्राप्त भएपछि प्रत्युत्तर लेखेर पठाइन्छ," उनले भने।
पार्टीले कारबाही समेत गर्ने बताएका अवस्थामा के गर्नु हुन्छ भन्ने प्रश्नमा उने भने, "मन्त्री पद छोडेको मान्छेलाई सांसद पद त गौण नै भयो नि।"
भनेपछि माओवादी फर्कने कुनै पनि सम्भावना नरहेकै हो त?
हालसालै सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीको भूमिकामा रहेका बोहरा भन्छन्, "म आएँ के का लागि? जानुपर्ने के का लागि। आखिर जनताको अदालतमा त मैले पनि त्यो कुरा छिनोफानो गर्नुपर्ला नि त।"
राजनीतिमा यस्ता अवस्था स्वाभाविक हुने र बाहिर भइरहेका विभिन्न टीकाटिप्पणी सारमा आधारित नरहेर वस्तुगत मात्रै रहेको उनी बताउँछन्।

तस्बिर स्रोत, RSS
"कम्युनिस्ट आन्दोलनमा जुन खालको विभाजनको स्थिति देखापर्यो त्यसमा हाम्रा अध्यक्ष प्रचण्डले लिएको लाइनमा वैचारिक रूपमै हाम्रा कतिपय विमति छन्। उहाँले गठबन्धन बनाउने, अङ्क जोड्ने र 'पावर गेम गर्ने' रणनीति तयार पार्ने हुँदा त्योसँग हाम्रा राजनीतिक विमति छन्," माओवादीबाट नेकपा एमालेतिर लागेका नेता धर्मराज रेग्मीले बीबीसीलाई भने।
"तर संवैधानिक रूपमा वा कानुनी रूपमा प्रश्न देखिनेहुँदा भने हामी त्यसैअनुरूप प्रतिवाद गर्छौँ।"
नेकपाको विभाजन संविधान र कानुनमा भएका व्यवस्थाले कल्पना गरेकोभन्दा बाहिरबाट भएको रेग्मी बताउँछन्।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएपछि बनेको नेपाल कम्युनिस्ट पार्टीबाटसमेत नेताहरू निर्वाचित भएका छन्।

तस्बिर स्रोत, RSS
"सूर्य चिह्नबाट राष्ट्रियसभामा पुग्नुभएका नारायणकाजी श्रेष्ठ हुनुहुन्छ, रामबहादुर थापा हुनुहुन्छ। दुवै पार्टीमा यताउता प्रतिनिधिहरू छन्। दलको विभाजन असामान्य ढङ्गबाट भएको छ।"
"त्यसो हुँदा संवैधानिक राजनीतिक र कानुनी रूपमा कसरी समाधान गर्न सकिन्छ भनेर दुई पार्टीले छलफल, गृहकार्य पनि गर्न सकिन्छ। अन्यथा हाम्रो हातमा त संवैधानिक, राजनीतिक र कानुनी रूपमा केही भैपरि आउने समस्याहरूको समुचित प्रतिवाद रहन्छ," उनले भने।
आधिकारिक रूपमा पार्टी निर्देशन प्राप्त भएपछि पार्टी र सम्बन्धित प्रतिनिधिको हकमा कानुन कसरी लागु हुन्छ भन्ने विषयहरू हेरेर राजनीतिक, संवैधानिक र कानुनी दायित्वहरू पूरा गर्ने उनी बताउँछन्।









