सर्वोच्च अदालतः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) 'एकीकरणपूर्व अवस्थामा'

सर्वोच्च अदालत

तस्बिर स्रोत, SUPREME COURT

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नामसम्बन्धी विवादबारे रिट निवेदक ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएको अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बताएका छन्।

"निवेदकको मागबमोजिम रिट जारी भएको" उनले बीबीसी न्यूज नेपालीलाई जानकारी दिए।

दुई वर्ष पुरानो मुद्दामा न्यायाधीशहरू वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले आइतवार फैसला सुनाएको हो।

नेकपाका दुई समूहबीच आधिकारिकताको विवाद चलिरहँदा सर्वोच्च अदालतको फैसला आएको छ।

प्रधानमन्त्री केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध ऋषिराम कट्टेलले २०७५ मङ्सिर २१ गते रिट निवेदन दायर गरेका थिए।

उक्त रिट निवेदन माथिको सुनुवाइ फागुन १३ गते सकिएको थियो।

सर्वोच्च अदालतले फागुन २० गते नै त्यसबारे फैसला सुनाउने निर्णय गरेको थियो।

तर पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा अदालत बिदा भएपछि आइतवारका लागि फैसला सारिएको थियो।

सर्वोच्च अदालतको फैसलासँगै तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अब नाम फेर्नुपर्ने जानकारहरूले बताएका छन्।

निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसलासम्बन्धी पत्र प्राप्त भइसकेको आइतवार साँझ जनाएको छ।

के भन्छन् रिट निवेदक?

नेकपाका नेता कट्टेलले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को 'अस्तित्व सकिएको' टिप्पणी गरेका छन्।

"मलाई लाग्छ अब विधानअनुसार जाने हो भने पनि उहाँहरूले अर्को नाम मिलेर राख्नुपर्ने हुन्छ। तर अहिलेको अवस्थामा दुई पक्ष मिल्नेजस्तो देखिएको छैन। उहाँहरूलाई थप सङ्कट पर्ने देखिन्छ," फैसलापछि कट्टेलले बीबीसी न्यूज नेपालीसित भने।

निर्वाचन आयोग

"अब उहाँहरूसँग निर्वाचन आयोगमा दर्ता भएको पार्टी नै रहेन। मलाई लाग्छ उनीहरू अब एकता भङ्ग भयो भन्नेतिर जानुहुन्छ। पूर्वमाओवादीहरू एकातिर र पूर्वएमालेहरू एकातिर उभिन्छन् भन्ने मलाई लाग्छ।"

कट्टेलले विगतमा निर्वाचन आयोग र सरकारले गलत ढङ्गले निर्णय लिएको हुनाले त्यसलाई बदर गर्न माग गर्दै आफू अदालत गएको बताए।

के भन्छन् ओली र प्रचण्ड समूहका नेता?

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट भनेर चिनिएका नेता खगराज अधिकारीले सर्वोच्च अदालतले विधिपूर्वक रूपमा निर्णय गर्नुपर्ने भनेर सजग गराएको उल्लेख गर्दै त्यसलाई आफूहरूले सकारात्मक रूपमा लिएको बताएका छन्।

उनले भने, "अब हामीलाई चित्त बुझ्यो भने एकीकरण गर्न सक्छौँ नत्र अलग पनि हुन सक्छौँ। तीन वर्षको हाम्रो एकताको समीक्षा गर्दै कसरी जाने भन्ने तय हुन्छ।"

पार्टी एकीकरण नभए पनि मुद्दामा मिलेर जान सक्ने वा कार्यगत एकताका विषयमा पनि सोच्न सकिने उनले उल्लेख गरे।

प्रधानमन्त्री ओलीले नेकपाको संसदीय दलको बैठक आइतवार साँझ ५ बजेलाई बोलाएको र दुवै पक्षका नेताहरूलाई बैठकमा सहभागी हुन आह्वान गरिएको उनको भनाइ छ।

नेकपाको प्रचण्ड-माधवकुमार नेपाल समूहकी नेत्री पम्फा भुसालले सर्वोच्च अदालतले आइतवार गरेको निर्णयले मुलुक झन् अस्थिरतातर्फ लम्कने चिन्ता आफूलाई लागेको बताइन्।