माओवादी केन्द्रः रामबहादुर थापा 'बादल'सहित अन्य पूर्वमाओवादी नेतासँग स्पष्टीकरण मागिने, ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन अझै बाँकी

प्रचण्ड

तस्बिर स्रोत, RSS

तत्कालीन नेकपामा विवाद चर्किँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका तथा अहिले नेकपा एमालेमा बसेका पूर्वमाओवादी नेताहरूलाई पदत्याग गरी सरकारबाट फिर्ता हुन पार्टीको केन्द्रीय कार्यालयले प्रस्ताव गरेअनुसार आइतवार बसेको नेकपा मओवादी केन्द्रको केन्द्रीय समितको बैठकले औपचारिक रूपमा निर्देशन दिने निर्णय गरेको छ।

तर सरकारलाई दिएको समर्थन फिर्ता लिने अनुमान गरिएको भए पनि आफूहरूले अहिलेसम्म समर्थन फिर्ता लिई नसकेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

"हाम्रो पार्टीका कतिपय केन्द्रीय समिति र विभिन्न समितका सदस्यहरू अर्को पार्टीमा रहनुभएको भन्ने सार्वजनिक सूचना प्राप्त भएको छ। यस आधारमा माओवादी केन्द्र परित्याग गरेको हो होइन र आफ्नो पार्टी कुन हो सुसूचित गर्न र आफ्नो स्थिति स्पष्ट गर्नका निम्ति स्पष्टीकरण माग्ने कार्यालयको प्रस्तावका विषयमा आजको केन्द्रीय कमिटीले निर्णय गरेको छ," उनले भने।

नेताहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिए पनि पत्र प्राप्त भएको २४ घण्टा भनिएकाले त्यस विषयमा थप निर्णय गर्न समय पुगिनसकेको उनले बताए।

तर उक्त विषयमा दलीय नियमानुसार अघि बढ्ने र स्पष्टीकरण लिएर आवश्यक कदम चाल्ने विषयमा पार्टीमा सर्वसम्मति रहेको नेता देव गुरुङले बीबीसीलाई बताए।

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सोमवार फेरि बस्नेगरी टुङ्गिएको छ।

बैठकले छवटा विषयमा विमर्श गर्ने श्रेष्ठले जानकारी दिए।

आइतवारको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक परिस्थिति, कम्युनिस्ट आन्दोलन र पार्टीको चुनौतीबारे रिपोर्टिङ र दिशानिर्देश गरेको बताइएको छ।

रामबहादुर थापा बादल

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, गृहमन्त्री रामबहादुर थापासहित केही पूर्वमाओवादी नेताहरू सरकारमा छन्

त्यसबाहेक विभिन्न केन्द्रीय र प्रदेशस्तरीय नेताहरूले पनि पार्टीको अवस्थाबारे आइतवारको बैठकमा रिपोर्टिङ गरेका थिए।

गृहमन्त्री रामबहादुर थापासहित ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रममन्त्री गौरीशङ्कर चौधरी सरकारमा छन्।

यीमध्ये थापा राष्ट्रिय सभा सदस्य हुन् भने रायमाझी, साह, भट्ट र चौधरी प्रतिनिधिसभा सदस्य हुन्।

'एमालेमै बस्ने'

माओवादीका तर्फबाट मन्त्री चुनिएका नेताहरूले सार्वजनिक रूपमै आफूहरूले ओलीको साथ नछाड्ने बताउँदै आएका छन्।

गत पौष महिनामा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित भएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा ओली समूहमा लागेको माओवादी नेताहरूले एमाले र माओवादी केन्द्रको पुनः अस्तित्वमा आए पनि आफ्नो पुरानो दलमा फर्कन इच्छुक देखिएका छैनन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई साथ दिने पूर्वमाओवादी नेताहरूलाई नेकपा एमालको केन्द्रीय समितिमा मनोनीत गरिसकेका छन्।

शनिवार बीबीसीसँगको कुराकानीका क्रममा एमाले प्रवेश गरेका दुई माओवादी नेताले आफूहरू "वैचारिक रूपमै" प्रचण्डसँग टाढिएकाले अब माओवादीमा "फर्केर राजनीति गर्ने अवस्था नरहेको" बताएका थिए।

माओवादी नेता झपटबहादुर बोहराले गत पौष २२ गते नै आफ्नो कित्ता प्रष्ट पार्दै आफू "इप्रदेश सरकारको] मन्त्री पद समेत त्याग्न" तयार भएको बीबीसीलाई बताए।

"त्यसकारण अहिले भइरहेका कुराले कुनै माने राख्छ जस्तो मलाई लाग्दैन। पत्र प्राप्त भएपछि प्रत्युत्तर लेखेर पठाइन्छ," उनले भने।

उनी सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीको भूमिकामा छन्।

"म आएँ केका लागि? जानुपर्ने के का लागि। आखिर जनताको अदालतमा त मैले पनि त्यो कुरा छिनोफानो गर्नुपर्ला नि त।"

पार्टीले कारबाही समेत गर्ने बताएका अवस्थामा के गर्नु हुन्छ भन्ने प्रश्नमा उने भने, "मन्त्री पद छोडेको मान्छेलाई सांसद पद त गौण नै भयो नि।"

अनि यो पनि

भिडिओ क्याप्शन सुरु हुँदैछ, प्रचण्डलाई प्रश्नः अबको प्रधानमन्त्री शेरबहादुर देउवा कि तपाईँ?