तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
म्यान्मार आन्दोलन : भूमिगत नेताले गरे सैन्य शासनविरुद्ध 'क्रान्ति' जारी राख्ने वाचा
म्यान्मारमा सैन्य कूका कारण सत्ताच्युत भएको समूहका नेताले सैन्य शासनविरुद्ध "क्रान्ति" लाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
गत माघ १९ गते सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै नेता मान विन खाइन थानले भनेः "यो देशका लागि सबैभन्दा अँध्यारो क्षण हो अनि बिहानी आउन लागेको बेला हो।"
भूमिगत रहेर नै उनले सैन्य कू स्वीकार गर्न नमान्ने सांसदहरूको एउटा समूहको नेतृत्व गरिरहेका छन्।
शनिवार म्यान्मारमा १२ जना प्रदर्शनकारीहरूको मृत्यु भएको छ।
सेनाले सत्ता हातमा लिएर न्याश्नल लीग फर डेमोक्र्यासी (एनएलडी)की नेत्री आङ सान सू चीलाई नियन्त्रणमा लिएपछि म्यान्मारमा आन्दोलन भइरहेको छ।
गत वर्षको निर्वाचनमा एनडीएल बहुमतसहित विजयी भएको थियो। तर सेनाले उक्त निर्वाचनमा धाँधली भएको आरोप लगाएको छ।
सेनाले पक्राउ गर्नुअघि नै भाग्न सफल एनडीएलका सांसदहरूले सीआरपीएच नाम एउटा समिति गठन गरेका थिए। मान विन खाइन थान त्यसका प्रमुख हुन्।
सीआरपीएचले म्यान्मारको आधिकारिक सरकारका रूपमा अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गर्न खोजिरहेको छ।
स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू भने सन् २०२० को नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको सेनाको दाबीसँग असहमत छन्।
उनीहरूले निर्वाचनका क्रममा कुनै पनि किसिमको अनियमितता नपाएको जनाएका छन्।
गत हप्ता सेनाले सू चीले गैरकानुनी रूपमा छ लाख अमेरिकी डलर अनि ११ किलो सुन स्वीकार गरेको आरोप लगाएको थियो।
त्यसको कुनै प्रमाण भने उपलब्ध गराइएको थिएन। एनडीएल नेत्रीले उक्त आरोपको अस्वीकार गरेकी छन्।
विगत पाँच सातादेखि सेनाको नियन्त्रणमा रहेकी सू चीलाई कहाँ राखिएको छ भन्ने खुलाइएको छैन।