कोभिड-१९: 'मैले चिनेका कतिपय व्यक्तिको अन्तिम संस्कार समेत हुनसकेको छैन'

कृष्ण गुरुङ र उनको परिवार
तस्बिरको क्याप्शन, पूर्वगोर्खा सैनिक कृष्ण गुरुङ (बायाँ) आफ्नो परिवारका लागि महामारी अप्ठेरो समय भएको बताउँछन्
    • Author, आयशा बक्स
    • Role, बीबीसी न्यूज, लन्डन

नेपालबाट सीधै भर्ती गरिने गोर्खा सैनिकहरूले ब्रिटेनको सेनामा दुई सय वर्षभन्दा बढी सेवा गरेका छन्।

बहालवाला सैनिकहरू कोरोनाभाइरस विरुद्धको लडाँइमा स्वाब परीक्षण र नाइटिङ्गेल अस्पताल निर्माणमा मद्दत गरिरहेका छन्।

तर गोर्खा सैनिकको एउटा पुस्ता महामारीबाट नराम्ररी पीडित भएको बताउँछ।

पूर्वगोर्खा सैनिक तथा अभियानकर्ता ज्ञानराज राई आफूले संयुक्त अधिराज्यभरि कोभिड-१९ का कारण ज्यान गुमाएका सयभन्दा बढी अवकाशप्राप्त गोर्खा र उनीहरूका परिवारलाई चिनेको बताउँछन्।

'अन्तिम संस्कार हुनसकेको छै'

"मैले चिनेका कतिपय व्यक्तिको अन्तिम संस्कार अझै हुनसकेको छैन। यो एकदमै पीडादायी अवस्था हो।"

कृष्ण गुरुङ

तस्बिर स्रोत, Krishna Gurung

तस्बिरको क्याप्शन, कृष्ण गुरुङले गोर्खा राइफल्स रेजिमेन्टमा १६ वर्ष बिताएका थिए

छैटौँ गोर्खा राइफल्समा १६ वर्ष काम गरेका कृष्ण गुरुङले आफ्नो परिवारका लागि लकडाउनको अवधि कष्टकर बनेको बताए।

उनकी श्रीमतीको स्वास्थ्य अवस्था बिग्रिएको छ भने उनका छोरालाई दमले गाँजेको छ र सिकाइमा समस्या रहेको छ।

लकडाउनको अर्थ उनको छोराले पूरै अवधि घरमा बिताउनुपर्‍यो जसका कारण उनको मानसिक स्वास्थ्यमा प्रभाव परेको गुरुङ बताउँछन्।

परोपकारी संस्थाको सहयोग

उनले स्किल्स एण्ड केयर नामक परोपकारी संस्थाबाट सहयोग माग गरेका छन्। उक्त संस्थाले दक्षिण पूर्वी लन्डनका नेपाली सहितका समुदायलाई मद्दत पुर्‍याइरहेको छ।

"पहिलो लकडाउनको समयमा हामीले उनीहरूले सङ्घर्ष गरिरहेको देख्यौँ त्यहीँ भएर हामीले उनीहरूका लागि खानेकुरा र मास्क उपलब्ध गरायौँ," उक्त संस्थाकी सहसंस्थापक सोनिया थापा भन्छिन्।

कृष्ण गुरुङ
तस्बिरको क्याप्शन, कृष्ण गुरुङकी श्रीमती बिरामी छन् भने छोरालाई दमको भएको समस्या छ

"हालै हामीले कृष्णकी श्रीमतीलाई अस्पताल लग्यौँ र चिकित्सकको सामु उनका कुरा अनुवाद गरिदियौँ।"

थापाका अनुसार गोर्खाहरू 'जोखिममा परेका मानिसहरू' हुन् जसले अधिकांश अवस्थामा शोषण खेपेका छन्।

"महामारी उच्च देखिँदा निजी घरधनीहरूले गोर्खाहरूलाई उनीहरूका घरबाट निकालिदिएको हुनाले हामीले आपत्कालीन आवासको व्यवस्था गर्नुपर्‍यो," उनी सम्झिन्छिन्।

सोनिया थापा
तस्बिरको क्याप्शन, परोपकारी संस्थाकी सोनिया थापा गोर्खाहरू जोखिममा रहेको बताउँछिन्

उनले घरबाटै स्वास्थ्य जाँच गराउनुपर्ने र डिटिजल एपहरूको प्रयोग गर्नुपर्ने विषयले पनि पुरानो पुस्तामा समस्या निम्त्याएको बताइन्।

Presentational grey line

दह्रो सैनिक इतिहास रहेको वुलवीच सयौँ पूर्वगोर्खा र उनका परिवारको बसोबास भएको क्षेत्र हो।

सानो समूहमा बसेर नेपालीहरू नगरको चोकमा गफ गरिरहेका भेटिन्छन्।

खर्च धान्न धौ-धौ

धेरैजना निजी ढङ्गले भाडामा लिइएका एकभन्दा बढी परिवार बस्न मिल्ने घरहरूमा एउटै भान्सा र बाथरुम प्रयोग गरी बस्ने गर्छन्।

परिवारका कम उमेरका सदस्यहरू निम्न आय हुने रोजगारीका क्षेत्रहरू जस्तै भान्साघरका स्टाफ सहितका काम गर्छन्।

संयुक्त अधिराज्यमा बसोबास गरिरहेका पूर्वसैनिक र उनीहरूका परिवारहरूलाई विगतमा कतिपय घटनामा देशबाट निकाला गर्ने धम्की पनि दिइएको थियो।

अभिनेत्री जोआना लुम्लीको समर्थन पाएको एउटा चर्चित अभियानअन्तर्गत सन् २००९ मा सन् १९९७ अघि अवकाश पाएका र कम्तीमा चार वर्ष सेनामा काम गरेर गोर्खा सैनिकलाई बसोबासको अधिकार दिइएको थियो।

तर उनीहरूलाई समान पेन्सनको अधिकार दिइएको छैन जसले गर्दा यूकेको बसाइ खर्च धान्न उनीहरूले अधिकांश अवस्थामा सङ्घर्ष गर्नुपर्ने बाध्यता छ।

ब्रिटेनको रक्षा मन्त्रालयले आफूले ब्रिटिश सेनामा गोर्खाहरूको योगदानलाई 'उच्च मुल्याङ्कन' गरेको बताउँदै 'पेन्सनको फरकबारे हेरिरहेको' उल्लेख गरेको छ।

एकजना प्रवक्ताले अवकाश पाउँदा गोर्खाहरूले उदार पेन्सन र स्वास्थ्य सेवा प्राप्त गरून भन्ने कुरा सरकारले सुनिश्चित गरेको बताए।