अन्तर्राष्ट्रिय महिला दिवस २०२१: कसरी मनाउन थालियो? उपलब्धि कस्ता छन्?

सन् २०२० मा ब्रजिलमा अन्तर्राष्ट्रिय दिवसमा लैङ्गिक समानताको आह्वान गर्दै प्रदर्शनमा सहभागी महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०२० मा ब्रजिलमा अन्तर्राष्ट्रिय दिवसमा लैङ्गिक समानताको आह्वान गर्दै प्रदर्शनमा सहभागी महिला

अन्तराष्ट्रिय महिला दिवसबारे सञ्चारमाध्यममा उल्लेख भएको वा साथीहरूले कुरा गरेको तपाईँले देख्नु वा सुन्नु भएकै होला।

तर यो दिवस केका लागि हो त? यो कहिले मनाइन्छ? यो उत्सव हो वा प्रदर्शन? महिला दिवसजस्तै पुरुष दिवस पनि छ कि? र यो वर्ष भर्चूअल रुपमा कस्ता कार्यक्रमहरू हुँदैछन्?

विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि मार्च ८ लाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आएको छ।

१) महिला दिवस कसरी सुरु भयो?

क्लारा जेट्किन

तस्बिर स्रोत, Topical Press Agency

तस्बिरको क्याप्शन, क्लारा जेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवस आरम्भ गरेकी थिइन्

श्रमबारे उठेको आन्दोलनलाई संयुक्त राष्ट्रसङ्घले वार्षिक कार्यक्रमका रूपमा अन्तर्राष्ट्रिय महिला दिवसको मान्यता दिएको हो।

सन् १९०८ मा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्‍याली गरेसँगै यसको बीजारोपण भएको थियो। त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो।

यसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने उपाय क्लारा जेट्किनको थियो। उनले सन् १९१० मा कोपनहेगनमा भएको कामकाजी महिलाको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा यो उपाय सुझाएकी हुन्। त्यहाँ १७ देशका १०० महिला सहभागी थिए र उनीहरू सबैले उनको सुझावमा सहमति जनाए।

पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डामा मनाइयो। त्यसको १०० वर्ष सन् २०११ मा मनाइयो, त्यसैले यो वर्ष हामी ११० औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदैछौँ।

तर संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पायो। सन् १९९६ मा राष्ट्रसङ्घले "विगत मनाउँदै, भविष्यबारे योजना गर्दै" भन्ने विषयलाई आत्मसात् गर्‍यो।

अहिले अन्तर्राष्ट्रिय महिला दिवस महिलाहरू समाज, राजनीति र आर्थिक क्षेत्रमा कहाँ आइपुगे भन्ने मनाउने दिन बनेको छ। तर यो दिनको राजनीतिक धरातल भने निरन्तरको असमानताबारे चेतना जगाउनका लागि आन्दोलन र प्रदर्शन आयोजना गर्ने भन्ने हो।

२) महिला दिवस कहिले मनाइन्छ?

सन् २०१६ मा टर्कीमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै महिलाहरू

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, सन् २०१६ मा टर्कीमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै महिलाहरू

यो दिवस मार्च ८ तारिखमा मनाइन्छ। अन्तर्राष्ट्रिय महिला दिवस यही दिन मनाउने भनेर क्लाराको कुनै विचार थिएन।

सन् १९१७ मा भएको युद्धकालीन आन्दोलनमा रुसी महिलाहरूले "रोटी र शान्ति" को माग नगर्दासम्म यसले औपचारिकता पाएको थिएन।

महिला आन्दोलनको चार दिनपछि तत्कालीन सम्राट पद त्याग्न बाध्य भए र त्यहाँको अस्थायी सरकारले महिलालाई मतदानको अधिकार दियो।

महिला आन्दोलन सुरु भएको मिति त्यतिबेलाको जुलीअन पात्रोअनुसार फेब्रुअरी २३ आइतवार थियो। यही मिति ग्रिगोरीअन पात्रोअनुसार मार्च ८ हो।

त्यही दिनलाई आजसम्म महिला दिवसका रूपमा मनाइन्छ।

३) महिला दिवसमा कुन रङ्गलाई प्रतीकका रूपमा प्रयोग गरिन्छ?

बैजनी रङ्गले न्याय र गरिमा इङ्गित गर्ने भएकोले यो रङ्गलाई अन्तर्राष्ट्रिय महिला दिवससँग जोडिन्छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बैजनी रङ्गले न्याय र गरिमा इङ्गित गर्ने भएकोले यो रङ्गलाई अन्तर्राष्ट्रिय महिला दिवससँग जोडिन्छ

अन्तर्राष्ट्रिय महिला दिवसको वेबसाइट अनुसार बैजनी, हरियो र सेतो महिला दिवसका रङ्ग हुन्।

"बैजनीले न्याय र गरिमा इङ्गित गर्छ। हरियो आशाको प्रतीक हो। सेतोले पवित्रताको प्रतिनिधित्व गर्छ, यद्यपि यो विवादास्पद धारणा हो। स १९०८ मा यूकेमा महिलाहरूको सामाजिक र राजनीतिक सङ्घबाट यी रङ्गको अवधारणा सुरु भएको थियो," वेबसाइटमा भनिएको छ।

४) अन्तर्राष्ट्रिय पुरुष दिवस पनि छ?

वास्तवमा यो दिवस छ र त्यो नोभेम्बर १९ मा हो।

सन् १९९० बाट यो दिवस सुरु भयो तर संयुक्त राष्ट्रसङ्घले यसलाई मान्यता दिएको छैन। यूकेलगायत विश्वभरिका ८० देशका मानिसले यो दिवस मनाउँछन्।

यो दिवसमा समाजमा देन दिएका पुरुषको कार्यको चर्चा गर्ने र पुरुषको कल्याणका लागि चेतना जगाउने काम गरिन्छ।

सन् २०२० को नारा "पुरुष र बालकहरूका लागि राम्रो स्वास्थ्य" रहेको थियो।

५) महिला दिवस कसरी मनाइन्छ र यो वर्ष कस्ता कार्यक्रम छन्?

सन् २०१२ मा अन्तर्राष्ट्रिय महिला दिवसमा पहेँलो रङ्गको फूल हातमा लिँदै एक महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१२ मा अन्तर्राष्ट्रिय महिला दिवसमा पहेँलो रङ्गको फूल हातमा लिँदै एक महिला

अन्तर्राष्ट्रिय महिला दिवसका दिन धेरै देशमा सार्वजनिक बिदा दिइन्छ। ती देशमध्ये रुस पनि एक हो र त्यहाँ यो दिनको वरपर तीन-चार दिन फूलको व्यापार अन्य दिनभन्दा दोबर हुन्छ।

चीनमा मार्च ८ तारिखमा महिलाहरूलाई आधा दिन बिदा दिइन्छ। त्यहाँको राज्य परिषद्ले नै आधा दिन बिदा दिन सिफारिस गरेको हो, तर धेरै रोजगारदाताले आफ्ना महिला कर्मचारीलाई आधा दिन बिदा दिँदैनन्।

इटलीमा यो दिन पहेँलो रङ्गको फूल एकअर्कालाई दिएर मनाइन्छ। यो परम्परा कसरी सुरु भयो स्पष्ट छैन, तर दोस्रो विश्व युद्धपछि रोमबाट यसरी फूल दिने चलन थालिएको ठानिन्छ।

अमेरिकामा मार्च महिनालाई नै महिलाको ऐतिहासिक महिना मानिन्छ। प्रत्येक वर्ष यो महिनामा अमेरिकी महिलाहरूको उपलब्धिको सम्मानमा राष्ट्रपतिले उद्घोष गर्छन्।

यो वर्ष कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण विश्वभरि नै धेरै भर्चूअल कार्यक्रमहरू हुने ठानिएको छ। त्यसमा संयुक्त राष्ट्रसङ्घको कार्यक्रम पनि पर्छ।

६) यो वर्षको नारा के हो?

कमला ह्यारिस
तस्बिरको क्याप्शन, गत वर्ष अमेरिकामा पहिलो महिला उपराष्ट्रपति निर्वाचित भइन्। कमला ह्यारिस यो पदमा पुग्ने पहिलो महिलामात्रै नभइ पहिलो अश्वेत, पहिलो एशियाली महिला समेत हुन्।

सन् २०२१ का लागि संयुक्त राष्ट्रसङ्घले "नेतृत्वमा महिला: कोभिड-१९ ग्रस्त विश्वमा समान भविष्य हासिल गर्दै" भन्ने आशयको नारा घोषणा गरेको छ।

यूएन विमिनकी कार्यकारी निर्देशक पुम्जिले मलाम्बो न्यूकाले भनिन्: "हामीलाई महिला प्रतिनिधित्व चाहिएको छ जसले सबै विविधता र क्षमताका महिला र बालिकाहरू प्रतिविम्बित गर्छ र त्यो सांस्कृतिक, राजनीतिक, आर्थिक र सामाजिक सबै अवस्थामा हुनुपर्छ। वास्तविक सामाजिक परिवर्तनका लागि यो नै एउटा माध्यम हो जसले निर्णायक तहमा महिलालाई पुर्‍याउँछ र त्यसले हामी सबैलाई फाइदा हुन्छ।"

तर अन्य नाराहरू पनि छ। अन्तर्राष्ट्रिय महिला दिवसको वेबसाइटले #ChooseToChallenge अर्थात् 'चुनौती दिन खोजन्नुहोस्' भन्ने नारा राखेको छ। महिलाका लागि सकारात्मक परिवर्तन जुटाउने एउटा मञ्च प्रदान गर्न यो बनाइएको वेबसाइटले जनाएको छ।

७) महिला दिवस किन आवश्यक छ?

सन् २०२० मा अन्तर्राष्ट्रिय महिला दिवसका दिन किर्गिस्तानमा दर्जनौं महिलालाई प्रहरीले गिरफ्तार गरेको थियो

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, सन् २०२० मा अन्तर्राष्ट्रिय महिला दिवसका दिन किर्गिस्तानमा दर्जनौँ महिलालाई प्रहरीले गिरफ्तार गरेको थियो

विश्व आर्थिक मञ्चलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय महिला दिवस अभियानले भनेको छः "झन्डै एक शताब्दीसम्म लैङ्गिक समानता हुनेछैन।"

"हामीमध्ये कसैले पनि यो जीवनकालमा लैङ्गिक समानता देख्ने छैनौँ, र हामी धेरैका सन्तानहरूले पनि देख्ने देखिँदैन।"

यूएन विमिनको हालैको तथ्याङ्कले कोरोनाभाइरसको विश्वव्यापी महामारीले २५ वर्षको बढ्दो लैङ्गिक समानतालाई पछाडि पार्ने खुलासा गरेको छ। महामारीका कारण महिलाहरू उल्लेख्य रूपमा घरायसी कामकाज र परिवारको रेखदेख गरिरहेका छन्। यसले गर्दा महिलाको जागिर र शैक्षिक अवसरहरूलाई असर गर्नेछ।

कोरोनाभाइरस महामारी फैलिन थालेको बेलामा सन् २०२० मा विश्वभरि र्‍यालीहरू भए।

किर्गिस्तानको राजधानीमा सन् २०२० मा भएको प्रदर्शनमा दर्जनौँ महिलालाई प्रहरीले गिरफ्तार गरेको थियो। अभियानकर्मीहरूले महिलाका अधिकारहरू खस्किँदै गएको बताएका छन्।

पाकिस्तानमा पनि हिंसा र मुद्दा लाग्न सक्ने धम्की दिइए पनि थुप्रै सहरमा र्‍यालीहरू भएका थिए।

मेक्सिकोमा महिलाविरुद्ध हिंसा बढ्दै गएको भन्दै ८०,००० मानिस सडकमा ओर्लिएका थिए। त्यसक्रममा ६० भन्दा बढी मानिस घाइते भए।

विगतका केही वर्षमा हामीले प्रगति देखेका छौँ र महिला आन्दोलन विगतमा कहिल्यै नपुगेको उचाइमा पुगेको छ।

यो वर्ष अमेरिकामा उपराष्ट्रपति एक महिला बनिन्। कमला ह्यारिस उपराष्ट्रपति बन्ने पहिलो महिला मात्रै नभएर पहिलो अश्वेत र पहिलो एशियाली अमेरिकी पनि हुन्।

सन् २०१९ मा पाँचजना महिलाले नेतृत्व गरेको नयाँ गठबन्धन सरकार निर्वाचित भयो। नोर्दन आयरल्यान्डमा गर्भपतनलाई अपराध नहुने व्यवस्था गरियो।

सुडानमा सार्वजनिक स्थलमा महिलाले कस्तो लुगा लगाउनुपर्छ र कस्तो व्यवहार गर्नुपर्छ भन्ने कानुनलाई खारेज गरियो।

अनि #MeToo अभियान त कसले बिर्सन सक्छ र? सन् २०१७ मा सामाजिक सञ्जालमा सुरु भएको यो अभियानमा महिलाहरूले आफूले भोगेका यौन दुर्व्यवहारबारे बोलेका थिए।

यो अहिले विश्वव्यापी रुपमा बढ्दै गएको छ। महिलाहरूले अस्वीकार्य र असहज लाग्ने व्यवहारबारे निरन्तर बोले र त्यसले गर्दा उच्च पदमा भएका धेरै मानिसहरू दोषी ठहर भए।

line
100 women BBC season logo

बीबीसी हन्ड्रेड विमिन के हो?

बीबीसी हन्ड्रेड विमिनले प्रत्येक वर्ष विश्वभरिका १०० प्रभावशाली र प्रेरणादायी महिलाको नाम घोषणा गर्छ। हामी उनीहरूबारे वृत्तचित्र बनाउँछौँ, उनीहरूका कथा लेख्छौँ र अन्तर्वार्ता गर्छौँ। महिलालाई केन्द्रमा राखेर लेखिएका कथाहरूलाई ठाउँ दिन्छौँ।