मञ्चमा महिला: सहभागिताबारे किन उठिरहन्छ प्रश्न? समाधान के?

तस्बिर स्रोत, RSS
स्थानीय तहदेखि केन्द्रसम्म हुने विभिन्न महोत्सव, विचार गोष्ठी वा सम्मेलनहरूमा महिलाको आवाजलाई ठाउँ नदिइएको वा दिइए पनि कम महत्त्वका साथ दिने गरिएको भन्दै बारम्बार प्रश्न उठिरहन्छ।
पछिल्लो समय जनकपुरमा भएको महोत्सवका केही प्यानलमा महिला शून्य रहेको भन्दै खासगरी सामाजिक सञ्जालमा त्यसको व्यापक विरोध भयो।
आयोजकहरूले आफूहरूले महिलाको उपस्थितिलाई ध्यान दिँदा दिँदै पनि कहिले उपयुक्त महिला वक्ता भेट्न गाह्रो हुने, कहिले महिला इच्छुक नहुने त कहिले अन्तिम समयमा कार्यक्रममा आउन नपाउने जानकारी गराउँदा यस्तो समस्या हुने गरेको बताएका छन्।
तर कतिपय व्यावसायिक महिलाहरूले भने ती कार्यक्रममा बोलाउँदा अनुभवभन्दा पनि अरू वक्ताको जस्तै अभिव्यक्ति र ज्ञानसँग दाँजेर महिला खोजिँदा यस्ता समस्या दोहोरिने गरेको बताएका छन्।
मञ्चमा महिलाको उपस्थिति खोज्दाका मापदण्ड परिवर्तन गरेमात्रै यो समस्या बिस्तारै समाधान हुँदै जाने विभिन्न पेशामा आवद्ध र यस्ता महोत्सवहरूमा सहभागी हुँदै आएका महिलाहरू बताउँछन्।
त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रकी उपप्राध्यापक नीति अर्याल खनाल भन्छिन्, "कुनै पनि विषयमा त्यो क्षेत्रको धुरन्धर विद्वान नै मञ्चमा आउनुपर्छ भन्ने छ तर त्यो विषयमा महिलाका अनुभव/भोगाइ हुँदैनन् र? को विज्ञ हो कसले यो विषयमा बोल्नुपर्छ भन्ने मापदण्ड एकदमै साँघुरो छ। त्यसैले कस्ता मानिसलाई वक्ता बोलाउने भन्नेबारे मापदण्ड नै परिवर्तन गर्नुपर्छ।"
यस्ता महोत्सवहरूमा भाग लिँदै आएकी भूषिता वशिष्ठ महिलाको अनुभव र अभिव्यक्तिको शैलीलाई स्थान दिनुपर्ने बताउँछिन्।
"महिलाहरूलाई उनीहरूको दु:ख/सुख पुरुषले बोल्नेजस्तो भाषामा ल्याएर गर्दिनु भन्ने जुन पूर्वाग्रह छ त्यो हाम्रो सङ्किर्णता हो। हामीले त उनीहरूको भाषामा सुन्न खोज्नुपर्छ," उनले भनिन्।
वैचारिक तवरमा महिलालाई नबोलाइनु लज्जास्पद भए पनि जसरी यसबारे बहस हुन थालेको छ र विरोध हुन थालेको छ त्यसलाई सकारात्मक रूपमा हेर्नुपर्ने उनी बताउँछिन्।
उनले भनिन्, "गतिशील समाज सँधै सङ्क्रमणमा हुन्छ र यस्तो समयमा हामी नयाँ तौरतरिका सिक्दै गरेका हुन्छौँ त्यसैले विरोध हुनु पनि सकारात्मक हो।"
तर आयोजकहरूले चाहिँ कतिपय कार्यक्रमहरूमा आउन महिलाहरूको व्यावसायिक आवद्धताका कारण नमिल्ने र कतिपयमा अन्तिम समयमा आउन नमिल्ने भन्ने गरेको अनुभव सुनाएका छन्।
हालै आयोजना भएको जनकपुर साहित्य महोत्सवका आयोजकमध्ये एक मनिस झाले भने, "अन्तिम परिस्थितिमा ५/६ जना महिलाहरूले आफ्नो व्यक्तिगत/व्यावसायिक कुरा देखाएर आफ्नो उपस्थिति रद्द गर्नुभएको छ। अनि तिनै रद्द गर्ने मध्येका केही महिलाले सामाजिक सञ्जालमा विरोध जनाइरहनु भएको छ।"
उपप्राध्यापक खनाल पछिल्ला वर्षमा महिलाको आवाजलाई लिएर बिस्तारै आयोजकहरू संवेदनशील हुन थाल्नु सकारात्मक भएको बताउँछिन्।
तर उपस्थिति गराए पनि उनीहरूको आवाजलाई भने पर्याप्त महत्त्व नदिइएको उनी बताउँछिन्।
"महिलाले केवल अनुभवमात्रै सुनाउने पनि होइन अहिले धेरै क्षेत्रमा महिलाले अनुसन्धान गरेका हुन्छन् उनीहरूको आफ्नै विज्ञता हुन्छ," उनले भनिन्, "तर त्यस अनुसार बोल्दा कम महत्त्व र समय दिइन्छ।"

तस्बिर स्रोत, KWFC/FACEBOOK
स्वीकारोक्ति
महिलाको उपस्थिति नभएको वा न्यून भएको विषयमा अहिले सामाजिक सञ्जालमा पनि बहस चर्किएको छ।
महिलाहरूले मात्रै नभइ ती बहसमा पुरुषहरूले पनि आफ्नो धारणा राखेका छन्।
महिला वक्ता नभएका प्यानललाई केही पुरुषले बहिष्कार पनि गरेका थिए।
गल्तीबाटै आफूले सिक्ने र आउँदा दिनमा त्यस्ता निम्तो स्वीकार्दा थप संवेदनशील हुने उनीहरूले बताएका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
महिलालाई वक्ता नबनाइनुबारे महिलाहरूले मात्रै नभइ पुरुषहरूले पनि सामाजिक सञ्जालमा आवाज उठाएका छन् र भविष्यमा यस्ता विषय नदोहोरिउन् भनेर सुझाव दिएका छन्।
राजनीतिक टिप्पणीकार सञ्जीव पोखरेलले ट्विटरमा सुझाएका छन्, "पुरुष वक्ताहरूका लागि पाठ -कसैले कुनै सार्वजनिक छलफलमा बोलायो भने एउटा प्रश्न सजिलै सोध्न सकिन्छ -त्यसमा महिला सहभागिता छ कि छैन? 'प्यानलमा महिला सहभागिता नभए म अन्तिम समयमा पनि प्यानलमा बस्ने छैन।"








