कोभिडको नक्कली खोप बेचेर लाखौँ डलर नाफा कमाउने चिनियाँ पक्राउ

चीनमा पानी र सलाइन पानीलाई कोभिड-१९ खोपको रूपमा प्रयोग गरेर लाखौँ डलरको कमाएका एक जनालाई पक्राउ गरिएको छ।

कङ नाम दिइएका ती व्यक्तिले ५८,००० मात्रा खोप बनाउनुअघि वास्तविक खोपका अनुसन्धान गरेका थिए।

केही मात्रा खोप चीन बाहिर पनि तस्करी गरिएको भनिएको छ तर ती खोप कुन देशमा लगियो भन्ने प्रष्ट छैन।

यस्तै प्रकारका अपराधका चीनमा लागि अन्य ७० जना गिरफ्तार भइसकेको बताइएको छ।

बेइजिङले नक्कली खोप बनाउनेहरूमाथि कारबाही गर्ने भनेका बेला यो प्रकरण प्रकाशमा आएको छ।

गत वर्षको अन्त्यतिर नै यस्ता घटना भएको पाइएको भए पनि विस्तृत जानकारी भने यो हप्ता मात्रै सार्वजनिक गरिएको थियो।

एउटा अदालतको आदेशमा जनाइए अनुसार कङ र उनको समूहले पानी र सलाइन पानीलाई कोभिड खोपका रूपमा लगाएर गत अगस्टयता मात्रै २७ लाख अमेरिकी डलर कमाएका छन्।

अन्य मुलुकमा पठाउनुअघि यस्तै खोपका ६०० मात्रा गत नोभेम्बरमा हङकङमा पनि पठाइएको थियो।

वास्तविक उत्पादकबाट 'भित्री बाटो' प्रयोग गरेर खोप पाएको भन्दै खोप बिक्री गरिएको थियो।

केही अस्पतालमा यस्तै नक्कली खोपहरू महँगो मूल्यमा बिक्री गरिएको पनि बताइएको छ।

अरू आरोपितहरूले पनि 'गाउँका डाक्टर'हरू मार्फत उनीहरूका घर र कारमा नक्कली खोप लगाइदिएका थिए।

चीनको उच्च अदालतले क्षेत्रीय निकायहरूलाई यस्ता कारबाही रोक्न प्रहरीलाई सहयोग गर्न आग्रह गरेको छ।

अधिकारीहरूले चिनियाँ नयाँ वर्ष अघि नै १० करोड खोप लगाउने योजना थियो तर अहिलेसम्म चार करोडले मात्रै खोप पाएका छन्।

चीनमा कडा लकडाउन परीक्षण र ट्रेसिङबाट कोरोनाभाइरस महामारी नियन्त्रणमा ल्याउने गरिएको छ।