तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ट्रम्पलाई महाभियोग: पूर्वराष्ट्रपति विरूद्धको महाभियोग १० मत कमीले माथिल्लो सदनबाट अस्वीकृत
अमेरिकी माथिल्लो सदन सिनेटले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि लागेको महाभियोग पारित गर्न आवश्यक दुई तिहाइ समर्थन जुटाउन असफल भएको छ।
६ ज्यानुअरीमा अमेरिकी संसद् भवनमा भएको हमलालाई ट्रम्पले उक्साएको भन्दै उनीमाथि महाभियोग लगाइएको थियो।
महाभियोगको पक्षमा सातजना रिपब्लिकनसहित बहुमत सिनेट सांसद्हरू थिए।
तल्लो सदनले उनीविरूद्ध महाभियोग पारित गरिसकेको थियो।
मतदान
पक्षमा ५७ र विपक्षमा ४३ मत खसेको थियो।
सिनेटको मतदानमा ट्रम्पविरूद्धको महाभियोग पारित हुनका लागि आवश्यक हुने ६७ मतमध्ये १० मत पुगेको थिएन।
अभियोगमुक्त भएपछि महाभियोग सुनुवाइको आलोचना गर्दै ट्रम्पले त्यसलाई एउटा विज्ञप्तिमार्फत् इतिहासकै सबैभन्दा नराम्रो कारबाही बताए।
दोषी ठहर भएको भए सिनेटले उनलाई राष्ट्रपति पदको लागि पुन: चुनावमा उठ्ने बाटो बन्द गरिदिनका लागि मतदान गर्न सक्थ्यो।
'अदालतमा जिम्मेवार ठहर्याइन सक्ने'
मतदानपछि सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले ट्रम्पलाई क्यापिटल भवनमा भएको हमलाका लागि 'जिम्मेवार' बताउँदै उक्त कदमलाई 'जिम्मेवारीको घिनलाग्दो, घिनलाग्दो अवमूल्यन' बताएका छन्।
त्यसअघि उनले महाभियोगका विरूद्धमा मतदान गरेका थिए।
उनले ट्रम्प यतिखेर राष्ट्रपति नरहेकाले उनलाई महाभियोग लगाउने काम असंवैधानिक हुने बताएका थिए।
रिपब्लिकन पार्टीका तर्फबाट चुनाव जितेका ट्रम्पको महाभियोग सुनुवाइलाई २० ज्यानुअरीमा सकिएको उनको कार्यकालसम्ममा ढिलो गराउनमा मक्कोनेलको उल्लेख्य भूमिका छ।
यद्यपि मक्कोनेलले ट्रम्प अझै अदालतमा जिम्मेवार ठहर्याइन सक्ने चेतावनी दिएका छन्।