एक सिङे गैँडा: के कारणले मरे 'अनुसन्धान छैन'

- Author, ईश्वर जोशी
- Role, बीबीसी न्यूज नेपाली, चितवन
गैँडा मर्ने क्रम बढ्दै गए पनि गैँडा के कारणले मरेका हुन् भन्ने कुराको विस्तृत अनुसन्धान हुन नसकेको अधिकारीहरूले बताएका छन्।
चितवन राष्ट्रिय निकुञ्जका विभिन्न स्थानमा ७ महिनामा २३ वटा गैँडा मरेका छन्।
यो वर्ष ४ वटा गैँडा चोरी शिकारीका कारण भन्ने प्रमाणित भएको छ भने ५ वटा बाढीले र ९ वटाको विशेष कारणले मृत्यु भएको भनिएको छ।
अन्य कारणमा कालगतिले बूढो भएर र जुधेर केही दलदलमा परेर मरेको चितवन राष्ट्रिय निकुञ्जका डाक्टर विजयकुमार श्रेष्ठले बताए।
'अनुसन्धान आवश्यक'
निकुञ्जमा धमाधम गैँडा मर्दै गएपछि त्यसको बृहत् अनुसन्धान हुन जरुरी रहेको उनले बताए।
गैँडाहरू चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा धेरै मरेको पाइएको र गैँडाहरू पनि निकुञ्जको पूर्वी सेक्टरबाट पश्चिमतर्फ केन्द्रित हुँदै गएको अधिकारीहरूले बताएका छन्।
गैँडाहरू पश्चिमतिर केन्द्रित हुँदै गएपछि निकुञ्जले पूर्वतर्फ घाँसे मैदान व्यवस्थापनका बासस्थान विस्तार र पश्चिममा केन्द्रित गैँडालाई पूर्वी सेक्टरमा आन्तरिक स्थानान्तरणको पनि प्रयास भइरहेको र चोरी शिकार नियन्त्रणको लागि पनि लागिपरेको चितवन राष्ट्रिय निकुञ्जका वार्डेन अणनाथ बरालले बताए।

चितवन राष्ट्रिय निकुञ्जमा २०७३ साल चैतमा एक गैँडा चोरी शिकारीबाट मारिएको थियो त्यस पछि मारिएको थिएन।
केही वर्ष लगातार शून्य चोरी शिकार वर्ष मनाएको निकुञ्जमा ४ वटा गैँडा चोरी शिकारीले मारेपछि गैँडा संरक्षणमा थप चुनौती थपिएको बताइएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले गरेको एक अनुसन्धानले पश्चिममा केन्द्रित गैँडालाई व्यवस्थापन गर्न जरुरी रहेको प्रतिवेदन पेस गरेको र त्यही अनुरुप काम गर्ने प्रयास भइरहेको वार्डेन बरालले बताए।
गैँडा पलायन हुने चिन्ता
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मर्दै जानु, गैँडाहरू पश्चिमतिर केन्द्रित हुँदै जानु र निकुञ्जको गैँडा भारततर्फ जाने जोखिम बढेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
नेपालमा ६ सय ४५ वटा गैँडा रहेका छन् जसमध्ये चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटमा ७, पर्सा राष्ट्रिय निकुञ्जमा ४ वटा गैँडा रहेका छन्।









