तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिका अपडेट: दङ्गा र चार जनाको मृत्युपछि सुरक्षा व्यवस्था कडा
अमेरिकी संसद् भवनमा भएको ट्रम्प समर्थकहरूको जबरजस्ती प्रवेश र तोडफोडको घटनापछि त्यहाँ भइरहेका पछिल्ला गतिविधिको सरसरती विवरण यस्तो छः
सांसदहरू गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा जो बाइडनले हासिल गरेका विजयी परिणामलाई प्रमाणीकरण गर्ने प्रक्रियामा सहभागी भइरहेका छन्।
निर्वाचनमा ठूलो धाँधली भएको भन्दै आक्रोशित राष्ट्रपति ट्रम्पका समर्थहरूको उग्र र हिंसात्मक भिडले संसद् भवनमा जबर्जस्ती प्रवेश गरेपछि संसदीय प्रक्रिया अवरुद्ध भएको थियो।
प्रहरीको गोली प्रहारबाट एक महिलाको मृत्यु भएको थियो भने अन्य तीन जनाको "मेडिकल आपत्कालीन अवस्था" कारण मृत्यु भएको प्रहरीले जनाएको छ।
वाशिङ्टन डीसीमा कर्फ्यू आदेश जारी गरिएको छ र सडकहरूमा दङ्गा नियन्त्रण गर्ने प्रहरीहरूले सुरक्षा दिइरहेका छन्।
कर्फ्यू र पक्राउ
हालसम्म कम्तीमा पनि ५२ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको र तीमध्ये ४७ जना कर्फ्यू उलङ्घन गर्नेहरू रहेको बताइएको छ।
राष्ट्रपति ट्रम्पका हतियारधारी समर्थकहरूको ठूलो समूह क्यापिटल भनिने अमेरिकी सङ्घीय संसद् भवनमा जबरजस्ती प्रवेश गरेर तोडफोड गरेपछि सुरक्षाका कारण संसद् भवन बन्द गर्नुपरेको थियो।
संसदीय प्रक्रिया पुनः आरम्भ भएपछि केही राज्यका रिपब्लिकन सांसदले आफ्नो ठाउँका निर्वाचन मतपरिणाम उल्टाउने प्रयास गरेका थिए तर त्यो पर्याप्त समर्थनको अभावमा असफल भएको छ।
राष्ट्रपति ट्रम्पले आफ्ना उग्रसमर्थकहरूलाई घर फर्कन आह्वान गरेका छन्। तर उनले "अमेरिकी निर्वाचन उनीहरूबाट खोसिएको" भन्ने उनको अप्रमाणित दाबी दोहोर्याएका थिए।