नेकपा विवादः अविश्वास प्रस्ताव दर्ता भएपछि वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल भन्छन्, 'सामना गर्छु'

तस्बिर स्रोत, RSS
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड र माधव नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गरेका छन्।
उक्त समूहमा भएका मन्त्रीहरूले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन्।
राजीनामा दिनेहरूमा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलाल छन्।
जमकट्टेल र दुलाल पूर्वमाओवादी र नेपाल पूर्वएमालेका हुन्।
मुख्यमन्त्रीमा शाक्यको नाम प्रस्तावित
जमकट्टेलले भने, "११० सदस्यीय प्रदेश सभामा रहेका नेकपाका ८० सदस्यहरूमध्ये ४५ जनाले हस्ताक्षर गरेका छौँ।"
त्यस्तै नेत्री तथा प्रदेश सभा सदस्य अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरिएको उनले जानकारी दिए।
उनी पार्टी संसदीय दलको चुनावमा मुख्यमन्त्री पौडेलसँग पराजित भएकी थिइन्।
उनी नेकपाको स्थायी समिति सदस्य हुन्।
के भन्छन् मुख्यमन्त्री?
मुख्यमन्त्री पौडेल काठमाण्डूमा छन्। उनले बीबीसीसँग कुरा गर्दै आफूले पनि अविश्वास प्रस्ताव दर्ता भएको जानकारी पाएको बताए।
कानुन र संविधानअनुसार नै सबै कुरा हुने बताउँदै उनले भने, "यस्ता कुराहरू भइरहन्छन्, आरामसँग सामना गर्छु।"
उनले संसदीय अभ्यासमा यस्ता कुरा भइरहने बताउँदै स्वाभाविक रूपमा लिएको प्रतिक्रिया दिए।
मुख्यमन्त्री पौडेल भन्छन्, "यस्तो हुन्छ भन्ने कुरा जानेकै बुझेकै कुरा थियो। त्यसैले ठूलो विषयको रूपमा लिएको छैन।"
नेकपाभित्र विवाद चुलिएपछि प्रदेश सरकारमा पनि त्यसको असर पर्ने अनुमानकाबीच त्यसको पहिलो परिणाम वाग्मती प्रदेश सरकारमा देखिएको हो।












