तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ब्रेक्जिटपछिको व्यापार वार्ता जारी राख्न ईयू र ब्रिटेन सहमत
युरोपेली संघ र ब्रिटेनबीच ब्रेक्जिटपछिको व्यापार सम्झौतामाथि वार्ता जारी राख्ने विषयमा सहमति भएको छ।
ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली संघकी अध्यक्ष उर्जुला फोन डेर लायनले "अघि बढ्नका लागि जिम्मेवार हुन जरूरी रहेको" बताएका छन्।
दुवै जना बीच 'सुल्झिन बाँकी केही मुद्दा' मा पनि कुराकानी भएको छ।
यो साताको सुरुमा जोनसन र फोन डेर लायनले यी विषय सुल्झाउनका लागि थप वार्ता गर्ने कि नगर्ने भनेर आइतवारसम्मको समय तय गरेका थिए।
यद्यपि ब्रिटेनका विदेशमन्त्री डोमिनिक राबले आइतवारपछि वार्ता जारी रहने सम्भावना निकै कम रहेको बताएका थिए।
दुवै पक्षले वार्ता जारी राख्ने सहमति गरेसँगै उनीहरूले ब्रसल्समा रहेका वार्ताकारलाई "ढिलै भए पनि सहमतिमा पुग्न सकिन्छ कि हेर्न" भनेका छन्।
ब्रिटेन र युरोपेली संघबीच ब्रेक्जिटपछिको व्यापार सम्झौतालाई लिएर गत मार्च महिनादेखि वार्ता भइरहेको छ र सङ्क्रमणकालीन समय आउँदो डिसेम्बरको अन्त्यमा सकिनेछ।
३१ डिसेम्बरसम्म सम्झौता हुन नसके दुवैले विश्व व्यापार संगठनका नियमहरू मान्नुपर्नेछ।
कुनै व्यापार सम्झौता बिना नै व्यापार हुँदा आयात र निर्यात दुवैमा सामानमाथि शुल्क लाग्नेछ।
यसैबीच, युरोपेली आयोगले ब्रेक्जिटपछिको व्यापार सम्झौताबारे ब्रिटेनसँग सहमति हुन नसकेको खण्डमा भन्दै आकस्मिक योजनाहरू प्रकाशित गरेको थियो।
ती योजनाहरूमा युके र युरोपेली संघ ईयूबीच हवाई र स्थलमार्गको यातायात सहज बनाउने सुनिश्चितता लगायत माछामार्ने पहुँचको सम्भाव्यता समेटिएका छन्।
युकेले यो वर्षको ज्यानुअरीमै युरोपेली संघ छोडेको थियो तर सम्झौतामा सहमत हुनका लागि वार्ता गर्ने प्रयास स्वरुप दुई पक्षलाई ११ महिनाको सङ्क्रमणकालीन समय दिइएको थियो।
आयोगकी अध्यक्ष फोन डेर लायनले सबै खालका परिस्थितिका लागि तयार रहनुपर्ने आफूहरूको जिम्मेवारी रहेको बताउँदै आएकी छन्।
यदि सम्झौता हुन नसकेको खण्डमा महत्त्वपूर्ण सेवाहरूमा असर नपरोस् भनेर चारवटा आकस्मिक उपायहरू प्रस्ताव गरिएका थिए।
फोन डेर लायनले शनिवार जोनसनसँगको कुराकानी "रचनात्मक र उपयोगी" भएको बताएकी छन्।