तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेकपा विवाद: स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली गएनन्, दुवै अध्यक्षको प्रतिवेदन बाँडियो
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा बसेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको छैटौँ स्थायी कमिटी बैठक मङ्सिर २८ गतेसम्मका लागि स्थगित गरिएको छ।
आइतवार सम्पन्न बैठकमा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले छुट्टाछुट्टै तयार पारेको प्रतिवेदन वितरण गरिएको र त्यसको अध्ययन गर्नका लागि सात दिन समय दिइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
त्यस्तै यसअघि मङ्सिर २५ बाट प्रारम्भ हुने भनिएको केन्द्रीय कमिटीको बैठक पुस ५ गते गर्ने पनि पार्टीले निर्णय गरेको छ।
बैठकमा ओली उपस्थित नभए पनि उनले पठाएको पत्र बैठकको सुरुमा सचिवालय सदस्य ईश्वर पोखरेलले पढेर जानकारी गराएका थिए।
"ओलीले आफ्नो पूर्वमान्यता अर्थात् अध्यक्ष दाहालको प्रस्तावमा औपचारिक रूपमा बैठकमा छलफल गर्न नसकिने धारणा रहेको र त्यस कारण बैठकमा नआएको उल्लेख गर्नुभएको छ," श्रेष्ठले भने।
पत्रवाचन गरिएलगत्तै दाहालले बैठक अघि बढाउँदै गम्भीर सङ्कटपूर्ण पार्टी जीवनको परिस्थितिमा पार्टी एकतालाई केन्द्रमा राखेर र अहिलेको सङ्कटलाई सकारात्मक ढङ्गबाट समाधान गर्ने गरी छलफल गम्भीर र व्यापक रूपमा अघि बढाउन अपिल गरेको पार्टी प्रवक्ताले जानकारी दिए।
"ततपश्चात् आन्तरिक छलफलहरू, अनौपचारिक छलफलहरू र गृहकार्यको प्रक्रिया अघि बढाउन र स्थायी कमिटीका सदस्यहरूले बैठकमा वितरण गरिएका दुई अध्यक्षका प्रस्ताव र सम्बन्धित पत्रहरूको अध्ययन गर्नका लागि सात दिन समय दिइएको छ," उनले थपे।
बैठकको एउटै मात्र कार्यसूची पार्टीको आन्तरिक समस्याबारे रहेको बताइएको छ।
यसअघि शनिवार बसेको नेकपा केन्द्रीय सचिवालयको बैठकले स्थायी कमिटीको बैठक डाक्ने निर्णय गरेको थियो।
तर ओलीले भने सत्तारूढ दलमा देखा परेको विवाद सचिवालयबाटै सल्टाइनुपर्ने मत राख्दै स्थायी कमिटी बैठकको विपक्षमा उभिएका थिए।
नेकपाको स्थायी कमिटीमा दाहाल र वरिष्ठ नेता माधव नेपालको पकड रहेको विवरणहरू सार्वजनिक भइरहेका छन्। कमिटीमा ४५ सदस्य रहेका छन्।
पार्टीमा तीव्र मतभेद चर्कँदै गएको अवस्थामा दाहालले कार्तिकमा ओलीप्रति आरोप सहितको प्रस्ताव पेस गरेका थिए।
त्यसलाई 'अभियोगपत्र'को संज्ञा दिएका ओलीले मङ्सिरको दोस्रो साता अर्को प्रस्ताव पेस गरेका थिए।