नेपाल कोरोना भाइरसः थप १९ सय ४८ जनामा सङ्क्रमण , २८ जनाको मृत्यु

नयाँ कोरोनाभाइरस

तस्बिर स्रोत, EPA

विगत २४ घण्टामा नेपालभरि १,९४८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र २८ जनाको कोभिड-१९ का कारण मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।

सो अवधिमा ९,२१० जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २६ हजार नाघेको छ।

तर पर्याप्त परीक्षण नभएकाले यो सङ्ख्याले नेपालमा कोरोनाभाइरस महामारीको वास्तविक अवस्था चित्रण गर्न नसकिने जनस्वास्थ्यविद्हरू बताउँछन्।

मन्त्रालयले बुधवार अपराह्ण प्रकाशित गरेको विवरणअनुसार अहिले देशभरि १६,६३९ जनामा सक्रिय सङ्क्रमण छ।

अहिलेसम्म देशभरि १,३८९ सङ्क्रमितको मृत्यु भएको सरकारको तथ्याङ्कले देखाउँछ।

तीमध्ये ५१७ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन्।

कति जना निको भए?

मन्त्रालयले प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप ३,१४० जना सङ्क्रमणमुक्त भएका छन्।

कोरोनाभाइरस

अहिलेसम्म कुल दुई लाख ७,९९८ निको भएको सरकारी तथ्याङ्क छ।

यसले अहिले निको हुने दर ९२ प्रतिशत रहेको देखाउँछ।

मङ्गलवार १,७९० जनामा सङ्क्रमण र २४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको थियो।

गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए।

काठमाण्डू उपत्यकाका तीन जिल्लामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरसको खोप कहिले तयार हुन्छ?

को हुन् सङ्क्रमित?

अहिले विभिन्न जिल्लामा सङ्क्रमित फेला परेका हुन्। तीमध्ये ७७४ महिला र १,१७४ पुरुष छन्।

अहिले काठमाण्डूमा ६३५ जनासहित उपत्यकामा ८३५ सङ्क्रमित भेटिएका हुन्।

मन्त्रालयका अनुसार २४ घण्टामा झापामा १९३, मोरङमा ७२, सुनसरीमा ५३, चितवनमा ८२, भक्तपुरमा ८७, ललितपुरमा ११३, कास्कीमा ९० र दाङमा ५१ जनामा कोभिड-१९ पुष्टि भएको हो।

काठमाण्डूमा ७,६६०, भक्तपुरमा ५८० र ललितपुरमा १,४९९ गरी उपत्यकामा ९,७३९ जना निको हुन बाँकी सङ्क्रमित छन्।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

अरू तथ्याङ्क के छ?

पीसीआर विधिबाट परीक्षण गरिएका सबै नमुनामध्ये १३.४ प्रतिशतमा कोरोनाभाइरस पाइएको मन्त्रालयले जनाएको छ।

पुष्टि भएका सङ्क्रमितमा मृत्युदर ०.६ प्रतिशत छ। तर ६० वर्षभन्दा माथिको उमेरका सङ्क्रमितमा मृत्युदर उच्च छ।

देशभरि अस्पतालमा भएका सङ्क्रमितमध्ये ३४५ जना सघन उपचार कक्षमा र ६३ जना भेन्टिलेटरमा छन्।

अहिले हिमाली जिल्ला मनाङ, डोल्पा र मुगुमा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ भने काठमाण्डू उपत्यकाका तीन जिल्ला र कास्कीमा उक्त सङ्ख्या ५०० भन्दा बढी छ।

कोरोनाभाइरस सङ्क्रमणको लक्षण