नेपाल कोरोना भाइरसः थप १७ सय ९० जनामा कोभिड, २४ सङ्क्रमितको मृत्यु

तस्बिर स्रोत, EPA
नेपालमा विगत २४ घण्टामा १,७९० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र २४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
सो अवधिमा १०,८४३ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।
काठमाण्डू उपत्यकाका तीन जिल्लामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी छ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २४ हजार नाघेको छ।
मन्त्रालयले मङ्गलवार अपराह्ण प्रकाशित गरेको विवरणअनुसार अहिले देशभरि १७,८५९ जना सक्रिय सङ्क्रमित छन्।
तर पर्याप्त परीक्षण नभएकाले यो सङ्ख्याले नेपालमा कोभिड-१९ को वास्तविक अवस्था चित्रण गर्न नसकिने जनस्वास्थ्यविद्हरू बताउँछन्।
नेपालमा १,३६१ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको सरकारको तथ्याङ्कले देखाउँछ।
कति जना निको भए?
मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप २,७९१ जना सङ्क्रमणमुक्त भएका छन्।
अहिलेसम्म कुल दुई लाख ४८ हजार सङ्क्रमित निको भएको सरकारी तथ्याङ्क छ।
यसले अहिले निको हुने दर ९१ रहेको देखाउँछ।
आइतवार १,६६९ जनामा र सोमवार १,९८० जनामा सङ्क्रमण पुष्टि भएको विवरण मन्त्रालयले दिएको थियो।

गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए।
मन्त्रालयका अनुसार अहिले देशभरि भएका सङ्क्रमितमध्ये अधिकांश घरमै आइसोलेशनमा छन्।
को हुन् सङ्क्रमित?
अहिले विभिन्न जिल्लामा सङ्क्रमित फेला परेका हुन्। तीमध्ये ७२१ महिला र १,०६९ पुरुष छन्।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा काठमाण्डूमा ६९२ जना, ललितपुरमा १९० जना र भक्तपुरमा ६५ जनासहित उपत्यकामा ९४७ सङ्क्रमित फेला परेका हुन्।
काठमाण्डू उपत्यकाबाहिर सुनसरीमा ११०, मोरङमा ७५, कास्कीमा ८३ र कैलालीमा ६१ जनामा कोभिड-१९ पुष्टि भएको हो।
उपत्यकामा भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ९,९४१ छ।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

अरू तथ्याङ्क के छ?
पीसीआर विधिबाट परीक्षण गरिएका सबै नमुनामध्ये १३.३ प्रतिशतमा कोरोनाभाइरस पाइएको मन्त्रालयले जनाएको छ।
पुष्टि भएका सङ्क्रमितमा मृत्युदर ०.६ प्रतिशत छ। तर ६० वर्षभन्दा माथिको उमेरका सङ्क्रमितमा मृत्युदर उच्च छ।
काठमाण्डू उपत्यकामा मात्रै ५०९ सङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
देशभरि अस्पतालमा भएका सङ्क्रमितमध्ये ३९३ जना सघन उपचार कक्षमा र ५७ जना भेन्टिलेटरमा छन्।
अहिले हिमाली जिल्ला मनाङ र मुगुमा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ भने काठमाण्डू उपत्यकाका तीन जिल्ला र कास्की तथा रूपन्देहीमा उक्त सङ्ख्या ५०० भन्दा बढी छ।














