तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिका निर्वाचन २०२०: धाँधली भएको भन्ने डोनल्ड ट्रम्प समूहका प्रमुख दाबीको तथ्य परीक्षण
- Author, रीयालिटी चेक टीम
- Role, बीबीसी न्यूज
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनको समूहले राष्ट्रपतीय निर्वाचनको परिणामलाई निरन्तर चुनौती दिने प्रयास गरेका छन्। उनले बाइडनलाई औपचारिक रूपमा सत्ता हस्तान्तरण गर्न आफू तयार भएको सङ्केत दिएको भए पनि कानुनी सङ्घर्ष चलिरहने बताएका छन्।
ट्रम्प र उनी पक्षधर रिपब्लिकनहरूले केका आधारमा बाइडनले निर्वाचन नजितेको दाबी गरिरहेका छन् त?
ट्रम्पका वकिल रूडी जुलिआनीले गत साता बिहीवार आयोजित पत्रकार सम्मेलनमा केही विषय महत्त्वका साथ उठाइएको थियो।
ट्रम्प पक्षबाट लगाइएका अनियमितता र धाँधलीजस्ता मुख्य आरोपबारे हामीले बुझ्ने प्रयास गरेका छौँ।
दाबी १: डेमोक्र्याट मतको अप्रत्यासित वृद्धि
राष्ट्रपति ट्रम्प र उनी पक्षधर मानिसहरूले जो बाइडनले प्राप्त गरेको मतबारे कैयौँ प्रश्न उठाएका छन्।
ती प्रश्नमध्ये गणनाका बेला ठूलो मात्रामा मत कसरी अचानक वृद्धि भयो भन्ने पनि छ।
नोभेम्बर १९ तारिखमा आयोजित पत्रकार सम्मेलनमा जुलिआनीले डिट्रोयट मतगणना स्थलमा बिहान सबेरै हजारौँ अतिरिक्त मतपत्रहरू पुर्याइएको दाबी बारम्बार दोहोर्याएका थिए।
उनको भनाइ निर्वाचनमा खटिएका एक कार्यकर्ताको दाबीमा आधारित थियो। ती कार्यकर्ताले खाना ल्याउनुपर्ने दुईवटा भ्यानले कहिल्यै खाना ओसारेको आफूले नदेखेको बताइएकी थिइन्। संयोगवश मिशिगनमा एक लाखवटा अतिरिक्त मतपत्र भेटिएको समाचार आयो।
तर न्यायाधीशले त्यो दाबी विश्वसनीय नभएको ठहर गरेसँगै उक्त दाबी र अन्य आरोप नोभेम्बर १३ मा अस्वीकृत भएका थिए।
कडा प्रतिस्पर्धा हुने राज्यहरूमा डेमोक्र्याटहरूको पक्षमा अचानक मत बढेको र त्यसमा धाँधली भएको हुनसक्ने त्यस्तै खालका दाबी रिपब्लिकन नेताहरूले गरेका थिए।
तर केही विषयमा प्रशासनिक र सफ्टवेअरको त्रुटि देखियो। तिनलाई पछि सच्च्याइयो।
यो चुनावमा कीर्तिमान हुनेगरी हुलाकमार्फत् भएको मतदानमा डेमोक्र्याटिक पार्टीको पक्षमा लहर देखिएको कुरा पनि महत्त्वपूर्ण छ।
हुलाकमार्फत् पठाइएका मतपत्रको गणना गर्न लामो समय लाग्यो। चुनावको दिनपछि खेपखेप गरेर परिणाम घोषणा गरियो र बाइडनको पक्षमा निकै भोट बढेको देखियो।
तर सबै अतिरिक्त मतहरू बाइडनको पक्षमा मात्र थपिएको दाबी सत्य होइन। केही मत राष्ट्रपति ट्रम्पको पक्षमा पनि गएको देखियो।
दाबी २: गणनामा पहुँच दिइएन
ट्रम्प र उनको कानुनी समूहले फिलाडेल्फिया र डेट्रोयटजस्ता डेमोक्र्याटिक पार्टीको शासन भएका निश्चित सहरमा रिपब्लिकन चुनाव पर्यपेक्षकहरूलाई कथित रूपमा न्यून पहुँच दिइएको विषय उठाउने गरेका छन्।
त्यस्ता पर्यवेक्षकलाई पारदर्शिता सुनिश्चित गर्न मतदानस्थलभित्र हुने मतगणनाको अवलोकन गर्न अनुमति दिने गरिन्छ।
त्यसको निम्ति सामान्यतया पार्टीसँग सम्बन्धित व्यक्तिलाई चुनावअघि दर्ता भएपछि सबैजसो राज्यहरूमा अनुमति दिइन्छ।
कोरोनाभाइरस महामारीका कारण केही स्थानमा त्यस्ता पर्यवेक्षकको सङ्ख्या निश्चित गरिएको थियो।
तर फिलाडेल्फिया र डेट्रोयटमा भएका मतगणनामा दुवै पार्टीका पर्यवेक्षहरूलाई अनुमति दिइएको थियो।
पेन्सिल्भेनियामा मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो। त्यसबारे उसले नोभेम्बर १७ मा फिलाडेल्फिया सहरका अधिकारीहरूले हुलाकबाट पठाइएका मतपत्रहरूको प्रक्रियामा पर्यवेक्षकहरूलाई कति दूरीमा बस्न दिने भन्ने निर्णय गर्दा राज्यको कानुनको अवज्ञा नगरेको निर्णय दिएको थियो।
दाबी ३: ट्रम्पको भोट बाइडनलाई
राष्ट्रपति ट्रम्पले केही 'ब्याटल ग्राउन्ड' राज्यमा अपनाइएको मतदान प्रणालीले दशौँ लाख आफ्ना मत बाइडनको पक्षमा जान दिएको दााबी गरेका थिए। उनको कानुनी समूहले पनि बारम्बार यो कुरा गने गरेको छ।
त्यसको कुनै प्रमाण छैन। राष्ट्रपतिको कानुनी समूहले पनि केही उपलब्ध गराएको छैन।
राष्ट्रपतिले कन्जर्भेटिभ समाचारसंस्था वन अमेरिका न्यूज नेटवर्क (ओएएनएन) ले चुनावमा अमेरिकाभरि व्यापक रूपमा प्रयोग गरिएको डोमिनियन भोटिङ मशीनबारे लगाएको आरोप प्रचार गरिरहेको छ।
उक्त संस्थाले एडिसन रिसर्च नामक चुनाव पर्यवेक्षण समूहबाट प्राप्त गरेको अप्रमाणित तथ्याङ्क विश्लेषणलाई उद्धृत गरेको छ। त्यसमा दशौँ लाख भोट उल्टिएको भनी देखाइएको छ।
तर कम्पनीका अध्यक्ष ल्यारी रोसिनले भने, "एडिसन रिसर्चले त्यस्तो कुनै प्रतिवेदन निकालेको छैन र मतदानमा धाँधली भएको प्रमाण हामीसँग छैन।"
डोमिनियन भोटिङ प्रणालीले वक्तव्य जारी गर्दै मत बदल्ने वा मेट्ने कुरा शतप्रतिशत मिथ्या भएको जनाएको छ।
दाबी ४: भोटिङ मशीनका मालिक डेमोक्र्याट
ट्रम्पले 'डोमिनयन भोटिङ सिस्टमका मालिक कट्टर वामपन्थी' भएको बताएका छन्।
उनको कानुनी समूहले त्यस कम्पनीसँग बिल र हिलरी क्लिन्टन तथा अन्य डेमोक्र्याट नेताको नाम जोडेका छन्।
डोमिनियन भोटिङ सिस्टमले उक्त संस्था असंलग्न अमेरिकी कम्पनी भएको र क्लिन्टन वा उच्च डेमोक्र्याट नेत्री न्यान्सी पेलोसीसँग स्वामित्वको कुनै सम्बन्ध नरहेको वक्तव्यमा उल्लेख गरेको छ।
डोमिनियनले रिपब्लिकन र डेमोक्र्याट दुवैलाई चन्दा दिएको छ। तर यस्ता कम्पनीले यसरी सरकारी काम पाउने उपाय अपनाउनु पनि असामान्य होइन।
उसले सन् २०१४ मा क्लिन्टन फाउन्डेशनलाई चन्दा दिएको थियो तर उसले रिपब्लिकन सिनेट नेता मिच मक्कनेललाई पनि आर्थिक सहायता दिएको थियो।
सभामुख पेलोसीबारे अफवाह आउनुको कारण भने उनका भूतपूर्व प्रमुख कर्मचारी नदियम इस्लामीलाई डोमिनियनले काम दिनु हो।
तर उसले यसअघि रिपब्लिकन पार्टीसँग जोडिएकालाई पनि कर्मचारीको रूपमा लिएको थियो।
दाबी ५: हजारौँ मृत व्यक्तिको नाममा पनि भोट खस्यो
राष्ट्रपति ट्रम्प र उनका समर्थकहरूले मुख्य राज्यहरूमा मरिसकेका मानिसको भोट पनि हजारौँको सङ्ख्यामा चुनावमा खसेको बताएका छन्।
हामीले 'ब्याटल ग्राउन्ड' राज्य मिशिगनका १० हजार मानिसको सूची हेर्यौँ। मृत्यु भइसकेका व्यक्तिको नाममा मत दिइएको दाबी आधारभूत रूपमै दोषपूर्ण देखियो।
'मृत मतदाता' सूचीबारेको अन्य अनुसन्धानमा पनि समान निष्कर्ष निस्कियो।
मृतको नाममा भोट हालेर व्यापक रूपमा धाँधली भएको कुराको कुनै प्रमाण देखिएन।
फक्स न्यूजका प्रस्तोता टकर कार्ल्सनले ट्रम्पको अभियानको दाबी दोहोर्याएकोमा क्षमायाचना गर्नुपरेको थियो। किनभने जोर्जिआमा 'मृत मतदाता' भनेर सङ्ज्ञा दिइएका व्यक्ति जीवित रहेको पत्ता लागेको थियो।
अमेरिकामा मृत्यु भइसकेका मतदाताको नाममा पनि बेलाबखत भोट खसेको देखिन्छ। तर यो समस्या व्यापक रूपमा छैन।
यो पनि हेर्नुहोस्