तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकी निर्वाचन २०२०: राष्ट्रपति निर्वाचित जो बाइडनले विदेश नीति कसरी बदल्छन्?
- Author, बार्बरा प्लेट असर
- Role, बीबीसी अमेरिकी विदेश मन्त्रालय संवाददाता
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको बुझाइमा उनका लागि विश्व ‘अमेरिका पहिला’ भन्ने राष्ट्रवादी धारणाको एउटा हिस्सा थियो।
त्यसअन्तर्गत उनले अमेरिकालाई फाइदा नभएको भन्दै अन्तर्राष्ट्रिय सम्झौताहरूबाट अलग हुने घोषणा गरे। जुन नाफामुखी, एकातर्फी र समस्याकारी थियो।
त्यो व्यक्तिवादी र सनकपूर्ण पनि थियो।
राष्ट्रपति ट्रम्पको कार्यकालमा अमेरिकी विदेश नीति उनको सम्बन्ध र ट्विटरमा अभिव्यक्त हुने धारणाले निर्धारण गरेको थियो।
तर जो बाइडनका लागि विश्व अमेरिकी भूमिका र स्वार्थ, दोस्रो विश्वयुद्धपछि स्थापित अन्तर्राष्ट्रिय संस्थाहरू र पश्चिमा लोकतान्त्रिक मूल्य एवम् मान्यतामा आधारित हुनेछ।
बाइडनको कार्यकालमा के-के परिवर्तन हुनसक्छ त?
साझेदारहरूसँग सम्बन्ध
राष्ट्रपति ट्रम्पले तानाशाहहरूको प्रशंसा गरे भने साझेदारहरूलाई अपमान गरे।
बाइडनको प्राथमिकताको उच्च सूचीमा नेटो र विश्व गठबन्धनहरूमा पुन: सामेल विषय समावेश छ।
बाइडनको प्रशासन विश्व स्वास्थ्य सङ्गठनमा पुन: आबद्ध हुनेछ भने र कोरोनाभाइरसविरुद्ध अन्तर्राष्ट्रिय प्रयासको नेतृत्व गर्ने प्रयास गर्नेछ।
बाइडनकको अभियानले क्षति पुगेको अमेरिकी छविमा सुधार ल्याउने र लोकतन्त्र पक्षधरलाई समर्थन गरेर प्रस्तुत हुने गरेको छ।
जलवायु परिवर्तन
बाइडनले जलवायु परिवर्तनलाई आफ्नो प्राथमिकता बनाउने र राष्ट्रपति ट्रम्पका कारण अमेरिका पछि हटेको प्यारिस जलवायु सम्झौतामा पुन: फर्कने बताएका छन्।
ट्रम्पले जलवायु परिवर्तनको मुद्दालाई अर्थतन्त्रको जोखिमका रूपमा हेर्ने गरेका थिए।
उनले खनिज इन्धनहरूलाई प्रवर्द्धन गर्दै कतिपय वातावरण संरक्षण र जलवायुसम्बन्धी नियम खारेज गरेका थिए।
बाइडनले कार्बन उत्सर्जन कटौतीका लागि विशाल योजनालाई अघि बढाउने बताएका छन्।
इरान
बाइडनले ट्रम्पले अस्वीकार गरेको इरानसम्बन्धी परमाणु कार्यक्रमको सम्झौतामा पनि पुन: अमेरिकालाई जोड्ने बताएका छन्।
सन् २०१८ मा ट्रम्प प्रशासनले उक्त सम्झौता तेहरानका कारण निम्तिने जोखिम कम गर्न र परमाणु गतिविधि सिमित गर्न कमजोर रहेको भन्दै अलग हुने निर्णय लिएको थियो।
त्यसपछि अमेरिकाले इरानमाथि पुन: प्रतिबन्धहरू लगायो र हालै लगभग सम्पूर्ण अर्थतन्त्रलाई कालोसूचीमा राखेर आर्थिक रूपमा दबाव बढायो।
त्यसको बदलामा इरानले आफ्नो परमाणु गतिविधिमाथि लगाइएको प्रतिबन्ध पालना गर्न छाडेको छ।
बाइडनले अत्याधिक दबाव दिने नीति विफल भएको र त्यसले तनावहरू चुलिएको बताएका छन्।
उनले राष्ट्रपति ट्रम्प सत्तामा आउनुभन्दा अहिले इरान परमाणु अस्त्र नजिक पुगेको भन्दै इरानले कडा रूपमा पालना गर्ने धारणा राखे आफू परमाणु सम्झौताको पक्षमा उभिने जनाएका छन्।
के उस्तै रहन्छ?
राष्ट्रपति ट्रम्पजस्तै राष्ट्रपति बाइडन पनि अफगानिस्तान र इराकमा लामो समयदेखिको युद्ध अन्त्य गर्न चाहन्छन्।
तर उनले आतङ्कवादसँग जुध्न दुवै देशमा सानो सङ्ख्यामा फौज राख्न चाहन्छन्।
उनले अमेरिकी रक्षा मन्त्रालयको बजेट पनि घटाउने छैनन् भने ड्रोन हमलाहरू पनि रोक्ने छैनन्।
तर भूराजनीतिक प्रतिद्वन्द्वीहरूको हकमा भने सोचेभन्दा कम परिवर्तन पनि हुनसक्छ।
रुस
निश्चित रूपमा माथिल्लो तहमा सम्बन्ध परिवर्तन हुन्छ तर अन्तराष्ट्रिय मान्यता उल्लङ्घन गर्ने व्यवहारका लागि पनि राष्ट्रपति ट्रम्प व्यक्तिगत रूपमा अधिकांश अवस्थामा भ्लादिमिर पुटिनलाई माफी दिन तयार देखिन्थे।
तर ट्रम्प प्रशासन रुसमाथि प्रतिबन्ध लगाएर सजाय दिने मामिलामा कठोर थियो। यस्तो अभ्यासले बाइडनको राष्ट्रपतिकालमा पनि निरन्तरता पाउनसक्छ।
पूर्वउपराष्ट्रपति बाइडनले रुस अमेरिकाको प्रतिद्वन्द्वी रहेको आफूले ठानेको सीएनएनलाई बताएका थिए।
उनले चुनावमा हस्तक्षेप गरेको र अफगानिस्तानमा अमेरिकी फौजलाई निशाना बनाउन तालिबानहरूलाई रकम दिएको जस्ता ट्रम्पले सम्बोधन नगरेका सवालमा रुसविरुद्ध कठोर रूपमा पेश हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
तर बाइडनले परमाणु भण्डार सिमित पार्ने सन्धिको कार्यान्वयन विषयमा मस्कोसँग मिलेर काम गर्न आफूले चाहेको पनि बताएका छन्।
चीन
सन् २०१७ मा राष्ट्रपति ट्रम्पले कसरी आफू र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच चकलेट केकका कारण नजिकिएको बताएका थिए।
तर त्यसयता उनले उक्त मित्रतालाई चिनियाँ राष्ट्रपतिलाई कोरोनाभाइरसको महामारी फैलाएको र नयाँ शीतयुद्धकालीन भाषणमा बदलिदिएका छन्।
व्यापार र अन्य विषयमा चीनविरुद्ध कडा रूपमा प्रस्तुत हुनेमा दुर्लभ राजनीतिक सहमति छ।
बाइडनले पनि चीनको ‘अपमानजनक आर्थिक अभ्यास’लाई चुनौती दिने ट्रम्पको नीतिलाई निरन्तरता दिनेछन्।
तर उनले ट्रम्पजस्तै एकपक्षीय व्यापार सम्झौताभन्दा पनि साझेदारसँग मिलेर उक्त विषयमा अघि बढ्ने धारणा राख्नेछन्।
अमेरिकाले केयौँ मोर्चामा बेइजिङलाई पछि धकेल्ने प्रयास अघि बढाएपछि दुवै देशबीच सम्बन्ध दशकौँ यताकै चिसो अवस्थामा पुगेको छ।
बाइडनले उदयमान चीनसँग सहकार्य गर्ने क्षेत्रहरू पनि आफूले हेर्ने बताएका छन्।