नेपाल-भारत सम्बन्ध: नक्सा विवादयता भारतीय विदेशसचिवको पहिलो नेपाल भ्रमणको मिति सार्वजनिक

नेपालको परराष्ट्र मन्त्रालयले एक वरिष्ठ भारतीय कूटनीतिक अधिकारीले आगामी बिहीवार र शुक्रवार काठमाण्डूको भ्रमण गर्ने बताएको छ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाको नेपाल भ्रमणको मिति सार्वजनिक गरेको हो।

भारतको विदेश मन्त्रालयले उक्त भ्रमण दुई देशबीचको नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको अभ्यासको निरन्तरता भएको र यसले नेपालसँगको सम्बन्धलाई भारतले दिएको प्राथमिकता झल्काउने उल्लेख गरेको छ।

भ्रमणको पहिलो दिन बिहीवार भारतीय विदेशसचिवले आफ्ना नेपाली समकक्षीसँग द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा वार्ता गर्ने परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

त्यही दिन उनले अन्य उच्च पदस्थ भेटवार्ताहरू गर्नेछन् र नेपाल सरकारलाई कोभिड-१९ सँग सम्बन्धित सहायता हस्तान्तरण गर्नेछन्।

केही साताअघि भारतका गुप्तचर निकायका प्रमुख र स्थल सेनाध्यक्षले काठमाण्डूको भ्रमण गरेपछि अघिल्लो वर्षदेखि सीमा विवादका कारण लगभग ठप्प रहेको नेपाल भारत संवाद पुन: सुरु भएको थियो।

भारतीय विदेशसचिव श्रृंगलाको भ्रमणलाई नेपाल-भारत सम्बन्ध सुधारको महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।

उनी स्वदेश फर्किएलगत्तै बेइजिङबाट चिनियाँ रक्षामन्त्री नेपाल आउने तयारी भइरहेको र त्यसका लागि सुरक्षा तयारी अघि बढाउन प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएका विवरण प्रकाशित भएको छ।

रक्षा मन्त्रालयका अधिकारीले त्यस्तो उच्चस्तरीय भ्रमणको तयारी चलिरहेको जानकारी दिएपनि भ्रमणका अजेन्डा भने खुलाएनन्।

'ठूलो कदम'

केही साताअघि भारतीय अखबार द हिन्दुस्तान टाइम्सले भारतीय विदेशसचिवको भ्रमणलाई नेपाल-भारत सम्बन्ध सुधारका लागि दिल्लीले चालेको 'ठूलो कदम' का रूपमा चित्रण गरेको थियो।

उक्त खबरमा नेपालले नयाँ नक्सा जारी गरेपछि त्यसप्रति असन्तुष्टि जनाउन दिल्लीले यो वर्षको अधिकांश समय उक्त भ्रमणलाई पछि सारिरहेको उल्लेख गरिएको छ।

कश्मीरको विशेष हैसियत खारेज गर्ने निर्णय गर्ने क्रममा गत वर्ष नोभेम्बरमा भारतले जारी गरेको आफ्नो नक्सामा नेपालले आफ्नो दाबी गर्दै आएको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटिएपछि दुई देशबीच विवाद चर्किएको थियो।

उक्त कदमप्रति तत्कालै आपत्ति जनाउँदै नेपालले कूटनीतिक नोट पठाए पनि भारतले त्यसको उत्तर नै नदिएको नेपाली अधिकारीहरूले बताएका थिए।

नक्सा जारी भएको केही समयपछि भारतले तिब्बतको मानसरोवर जाने तीर्थयात्रीलाई लक्षित गरी उत्तराखण्ड राज्यमा लिपुलेक जोड्ने सडक बनाएर त्यसको उद्घाटन गरेको थियो।

त्यसबारे चीन र भारत दुवैसँग कूटनीतिक विरोधपत्र दर्ता गराएको नेपालले अविलम्ब वार्तामा बस्न भारतीय पक्षलाई अनुरोध गरेको थियो।

तर दिल्लीले भारतीय भूभागमा नै ती संरचना बनेको भन्दै कोरोनाभाइरसको महामारी अन्त्य भएपछि मात्रै वार्ता हुनसक्ने धारणा सार्वजनिक गरेको थियो।

नक्सा विवाद

त्यसप्रति नेपालमा विरोध भइरहेको समयमा भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले चीनतर्फ सङ्केत गर्दै तेस्रो देशको इसारामा नेपालले ती भूभागमा दाबी गरेको हुनसक्ने बताएका थिए।

त्यसपछि दुई देशबीचको तिक्तता उत्कर्षमा पुगेको थियो।

नेपालले आफ्नो देशको राजनीतिक र प्रशासनिक नक्सा अद्यावधिक गर्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटिएको नक्सालाई सरकारी कामकाजमा प्रयोगमा ल्याएको छ।

नेपालले सन् १८१६ मा तत्कालीन ब्रिटिश इन्डिया कम्पनीसँग भएको सुगौली सन्धिअनुसार ती भूभाग आफ्नो भएको बताइरहेको छ। भारतले चाहिँ नेपालले आफ्नो भूमिलाई अतिक्रमण गरेको भनाइ राख्दै आएको छ।

भारतीय विदेशसचिव श्रृंगला अघिल्लो साल सीमा विवाद देखा परेयता काठमाण्डू ओर्लिने सबैभन्दा उच्च कूटनीतिक अधिकारी हुनेछन्।

यसै महिनाको सुरुमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय गुप्तचर निकायका प्रमुख र सेनाध्यक्षको भ्रमणले नयाँ स्थिति निर्माण गरेको बीबीसीलाई बताएका थिए।

आफूलाई शिष्टाचार भेट गर्न आएका भारतीय सेनाध्यक्षलाई प्रधानमन्त्री ओलीले दुवै देशबीच रहेका समस्या वार्ताबाट हल गर्नुपर्ने र आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने धारणा राखेको उनका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले बताएका थिए।

महत्त्वपूर्ण भेटघाटको अवसर

नयाँदिल्लीले दुई देशबीचको सम्बन्ध इतिहास र सभ्यताका आधारमा जोडिएको भन्दै हालैका वर्षहरूमा भारतीय साहयतामा पूरा भएका कैयौँ ठूला पूर्वाधार र अन्तरसीमा सम्पर्क सञ्जालका कारण दुई पक्षीय सहकार्य बलियो भएको जनाएको छ।

यो भ्रमणले नेपालसँगको सम्बन्ध थप बलियो बनाउने अवसर दिने साउथ ब्लक भनिने भारतीय विदेश मन्त्रालयको भनाइ रहेको छ।

दुई देशबीचको मित्रतापूर्ण सम्बन्धको निरन्तरताका रूपमा नेपाल सरकारले यो भ्रमणलाई उल्लेख गरेको छ।

गत ज्यानुअरीको अन्त्यमा कार्यभार सम्हालेका श्रृंगलाले विदेशसचिवको भूमिकामा दक्षिण एशियाका बाङ्ग्लादेश र माल्दिभ्स अनि युरोपका फ्रान्स, जर्मनी र संयुक्त अधिराज्यको भ्रमण गरिसकेका छन्। उनले म्यान्मारको पनि भ्रमण गरेका छन्।

उनले आफ्ना नेपाली समकक्षी परराष्ट्रसचिव भरत पौड्यालसँग औपचारिक भेटवार्ता गर्नेछन्। त्यसबाहेक नेपालका राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि शिष्टाचार भेट गर्ने बताइएको छ।

भारतीय विदेशसचिवको यो भ्रमणपछि दुई देशबीचको संवाद नक्सा जारी हुनुभन्दा अघिकै तहमा फर्किन सक्ने कतिपय नेपाली विश्लेषकहरूले बताएका छन्।