कोरोना भाइरस नेपालः के तपाईँलाई बिरामीले अक्सिजन नपाउने चिन्ता छ

यदि तपाईँलाई बिरामीका लागि मेडिकल अक्सिजन नपाउने चिन्ता छ भने त्यस्तो चिन्ता नगर्न स्वास्थ्य मन्त्रालय र अक्सिजन उत्पादकहरूको आग्रह छ।

नेपालमा पछिल्लो समय कोरोनाभाइरसका कतिपय सङ्क्रमितले अस्पतालमा शय्या पाउन मुस्किल भइरहेको बताइरहँदा मेडिकल अक्सिजनको माग पनि बढ्दो रहेको उत्पादकहरू बताउँछन्।

तर उत्पादक र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले नेपालमा हाल मेडिकल अक्सिजन पर्याप्त मात्रामा रहेको बताएका छन्।

नेपालमा केही दिनयता दैनिक दुई हजारदेखि पाँच हजारसम्म कोरोनाभाइरस सङ्क्रमित फेला परिरहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

कोभिड-१९ को हकमा झन् आवश्यक

काठमाण्डूस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. सुवास आचार्यका अनुसार आईसीयूमा शय्या नपाएका १० जनालाई बुधवार अक्सिजन दिएर उपचार गरिँदैछ।

"शय्या पाएका बिरामीहरू कहिले डिस्चार्ज हुन्छन् अनि अरूले पालो पाउँछन् भन्ने कुरा अनुमानै गर्न सकिन्न," बीबीसी न्यूज नेपालीसित उनले थपे।

चिकित्सकहरूका अनुसार अरू रोगका बिरामीभन्दा कोभिड-१९ का बिरामीको रगतमा थोरैले घट्दा पनि अक्सिजन दिने गरिएको छ।

सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी भन्छन्, "कोभिड-१९ को हकमा अक्सिजन घट्न थालेपछि बिरामी चाँडै सिकिस्त हुन थाल्छन्।"

"त्यो भएर सामान्यतया अरू बिरामीको रगतमा अक्सिजन स्याचुरेसन ९० पुग्दा अक्सिजन दिने गरिन्छ भने कोभिड-१९ का बिरामीमा ९४ मै दिने गरिएको छ।"

अहिलेसम्मको अनुभव हेर्दा कोभिड-१९ का गम्भीर बिरामीलाई आईसीयूमा उपचार र अक्सिजन आवश्यक पर्ने गरेको चिकित्सकहरू बताउँछन्।

भेन्टिलेटरका राखिएका बिरामीलाई अक्सिजन दिएर कृत्रिम श्वासप्रश्वास गराइन्छ भने अरू बिरामीलाई पनि जुनसुकै बेला अक्सिजन आवश्यक पर्नसक्छ।

त्यसबाहेक लक्षण देखिएका कतिपय अन्य बिरामीलाई पनि सास फेर्न गाह्रो भए अक्सिजन दिनुपर्छ।

सरकार र उत्पादक के भन्छन्?

हाल अक्सिजनको अभाव हुने अवस्था नरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी बताउँछन्।

हालै उनले बीबीसी न्यूज नेपालीसित भनेका थिए, "अहिलेको जस्तो अवस्थामा अक्सिजनले पुग्ने नै देखिन्छ... अहिलेको हकमा सबै अस्पतालमा अक्सिजन प्लान्ट नभए पनि सिलिन्डरहरूबाट अक्सिजन आपूर्ति भइरहेको छ।"

एकजना अक्सिजन उत्पादक शिवप्रसाद घिमिरेले पनि पछिल्लो समय माग बढे पनि पूरा गर्न नसक्ने अवस्था नरहेको बुधवार बीबीसी न्यूज नेपालीलाई बताए।

"कतिपय अस्पतालका आफ्नै अक्सिजन प्लान्ट छन् भने हाल क्षमता अनुसार उद्योगहरूले उत्पादन नगर्दा पनि अक्सिजनको माग पूरा भइरहेको अवस्था छ," उनले थपे।

घिमिरे हाल निष्क्रिय रहेको नेपाल अक्सिजन उत्पादक सङ्घका उपाध्यक्ष पनि हुन्।

उनका अनुसार मेडिकल अक्सिजन डिपोहरूबाट साढे तीन सय रुपैयाँमा प्रतिसिलिन्डर अक्सिजन सहज रूपमै खरिद गर्न सकिन्छ। सिलिन्डरको मूल्य चाहिँ १३,००० रुपैयाँको हाराहारीमा पर्छ।

सङ्क्रमणको अवस्था के?

स्वास्थ्य मन्त्रालयका अनुसार मङ्गलवार अपराह्णसम्म नेपालभरि ३५,९१५ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये २०,८६७ जना घरमा र बाँकी १५,०४८ जना संस्थागत आइसोलेशनमा बसिरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मङ्गलवार नियमित प्रेस ब्रिफिङ्गमा बताए।

असोज २७ गतेसम्म सातवटै प्रदेशमा गरी कोभिड-१९ का २९३ जना बिरामी आईसीयूमा उपचाररत छन् भने ५५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले तथ्याङ्कले देखाउँछ।