कोरोना भाइरस नेपालः बाहिरबाट काठमाण्डू छिर्नासाथ टेकुमा पीसीआर परीक्षण गराउन जानेलाई यस्तो छ सुझाव

टेकुमा लामबद्ध मानिसहरू

तस्बिर स्रोत, Gaurab Yonjan

तस्बिरको क्याप्शन, टेकुमा लामबद्ध मानिसहरू

कोरोनाभाइरस सङ्क्रमणका लक्षण देखिएपछि काठमाण्डूमा बस्दै आएका नवलपरासीका एक पुरुष केही दिनअघि पीसीआर परीक्षण गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगे।

लक्षण भएका तथा नभएका सबैका लागि उही लाइन देखेपछि बिहानदेखि पाँच घण्टाजति लाइन बसेर आफ्नो पालो आएपछि परीक्षण गराई उनी डेरा फर्किए।

"लाइन हेर्दा त त्यहीँबाट सङ्क्रमण बोकेर मान्छेहरू फर्किरहेका छन् जस्तो लाग्छ,"हाल घरमै आइसोलेशनमा बसिरहेका ती पुरुषले बीबीसी न्यूज नेपालीसित टेलिफोनमा भने।

काठमाण्डूमा कपडा सिलाउने काम गर्दै आएका पर्साका अर्का युवकले पीसीआर रिपोर्टविना घरमा छिर्न नदिने घरबेटीको चेतावनीपछि टेकु गई दिनभरि लगाएर परीक्षण गराए।

उनले भने, "लाइनमा ठेलमठेल भएर त्यहीँबाट सङ्क्रमण सर्छ भन्ने मनमा डर हुँदोरहेछ।"

घरबेटीको दबाव

सरकारले असोज १ गतेबाट लामो दूरीका सवारीसाधन चल्न दिने भएसँगै काठमाण्डू उपत्यकाबाट बाहिरिने तथा भित्रिने मानिसहरूको सङ्ख्या लगभग उस्तै रहेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ।

"असोज १ गतेदेखि १० गतेसम्म १, ९७,०२५ जना काठमाण्डू उपत्यका भित्रिएका छन् भने १, ८७,१७५ जना यहाँबाट बाहिरिएका छन्," महानगरीय ट्राफिक प्रहरीका प्रवक्ता रामेश्वरप्रसाद यादवले बीबीसी न्यूज नेपालीसित भने।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाहिरबाट आएका मानिसलाई १४ दिन घरमै क्वारन्टीनमा बस्न र कुनै लक्षण देखिए मात्रै परीक्षण गराउन अनुरोध गर्दै आए पनि घरबेटीले भाडामा बस्नेलाई परीक्षण गराउन बाध्य पारेको भुक्तभोगीहरूको गुनासो छ।

"मान्छे आएको पाँच-सात दिनभन्दा अगाडि पीसीआर परीक्षण गराएको कुनै अर्थ नै छैन। सङ्क्रमितसँग अन्तिम सम्पर्क भएको पाँच-सात दिनपछि परीक्षण गर्दा मात्रै सङ्क्रमण देखिने गरेको छ," मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने।

"त्यसो हुँदा हातमा निगेटिभ रिपोर्ट भए पनि शरीरमा भाइरस सक्रिय भएर सङ्क्रमण सार्ने खालको सम्भावना हुन्छ, पछिल्लो समय त्यहीँ देखिएको छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस नेपाल: पीसीआर परीक्षण गर्न सास्ती बेहोर्नेहरूका व्यथा

जनस्वास्थ्यविद्‌हरूले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण गराउने मानिसहरूको भिडभाड र अवस्थित लाइनबाटै सद्दे मानिसमा पनि सङ्क्रमण सर्ने उच्च जोखिम रहेको चेतावनी दिएका छन्।

"मानिलिऊँ लाइनमा एकजना सङ्क्रमित व्यक्ति छन् भने भिडभाड भएको लाइनमा उनले आफ्नो अगाडि-पछाडिका तीन-चार जनालाई सार्लान्। जनस्वास्थ्यका लागि यो निकै चुनौतीपूर्ण छ," जनस्वास्थ्यविद्‌ डा. सुरेश तिवारीले भने।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेका अनुसार बाहिरका जिल्लाबाट आउनासाथ लक्षणविनै पीसीआर परीक्षण गराउनका लागि दबाउन नदिन स्थानीय जनप्रतिनिधिमार्फत्‌ पनि सम्झाउने काम गरिएको छ।

काठमाण्डूमा बढ्दो

केही समययता देशभरि दैनिक हुने कुल सङ्क्रमितको सङ्ख्यामध्ये आधा जति काठमाण्डू उपत्यकाको हुने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

कतिपयले देशका अरू भागमा परीक्षण घटाएर काठमाण्डू उपत्यकामा बढाइएकोले यहाँ सङ्क्रमितको सङ्ख्या बढेको दाबी गर्ने गरेका छन्।

तर जनस्वास्थ्यविद्‌ डा. तिवारी सङ्क्रमित हुनेहरू नै बढिरहेकोले पछिल्लो समय सङ्ख्या बढेको देखिएको बताउँछन्।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational white space

"पछिल्लो समय पोजिटिभिटी रेसिओ अर्थात् परीक्षण गरिनेको सङ्ख्या र पोजिटिभ देखिनेको अनुपात बढ्दो छ। परीक्षण गरिएकामध्ये १० देखि १५ प्रतिशतसम्ममा सङ्क्रमण देखिएको छ।"

त्यो दर पाँच प्रतिशतसम्ममा कायम राख्न सकेको खण्डमा नेपालको स्वास्थ्य प्रणालीले धान्नसक्ने डा. तिवारी बताउँछन्।

त्यस्तो अवस्था आउन नदिन राज्यले परीक्षणको दायरा अझ बढाउनु र आमनागरिकले पनि जनस्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुको विकल्प नभएको जनस्वास्थ्यविद्‌हरूको सुझाव छ।