कोरोना भाइरस नेपालः भेन्टिलेटर ब्याङ्क - 'सरकारी अस्पताललाई सित्तै, निजीबाट दैनिक रु ३००० भाडा'

नेपाल भेन्टिलेटर सर्भिसेज

तस्बिर स्रोत, Dr Bishal Dhakal

तस्बिरको क्याप्शन, नेपाल भेन्टिलेटर सर्भिसेज
    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली

कोरोनाभाइरस महामारीसँगै पछिल्लो समय प्लाज्मा ब्याङ्कको अवधारणा सुनिँदै गर्दा पाँच जनाको एउटा समूह नेपालमा 'भेन्टिलेटर ब्याङ्क' स्थापना गर्ने सोचका साथ अघि बढ्यो।

कुरा गत चैत महिनातिरको हो जब कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपाल सरकारले देशव्यापी लकडाउन घोषणा गर्‍यो।

त्यतिबेला सङ्क्रामक रोग विशेषज्ञ तथा जनस्वास्थ्यविद्‌ले कोरोनाभाइरस सङ्क्रमणका गम्भीर बिरामी बढ्दै गए आईसीयू र भेन्टिलेटरको अभाव हुनसक्ने भन्दै राज्यलाई सचेत गराउन थालिसकेका थिए।

"यो पृष्ठभूमिमा कुनै सिकिस्त बिरामीले भेन्टिलेटरकै अभावमा ज्यान गुमाउन नपरोस् भनेर हामीले भेन्टिलेटर ब्याङ्क स्थापना गर्ने सोच बनायौँ," नेपाल भेन्टिलेटर सर्भिसेजका संस्थापकमध्येका एक डा. विशाल ढकालले बीबीसी न्यूज नेपालीसित भने।

सरकारीलाई निःशुल्क, निजीलाई सशुल्क

"ब्याङ्क भनेपछि रकमको कारोबार गर्नेलाई भन्ने गरिएको कुरा आयो। त्यो भएर अन्ततः नेपाल भेन्टिलेटर सर्भिसेजको नाममा संस्था दर्ता भयो।"

वैशाखको मध्यतिर गैरनाफामूलक संस्थाको रूपमा कम्पनी ऐनअन्तर्गत दर्ता भएको नेपाल भेन्टिलेटर सर्भिसेजले यथास्थितिमा फिर्ता लिनेगरी अस्पतालहरूलाई भेन्टिलेटर उपलब्ध गराउँदै आएको अर्का संस्थापक तथा नेपाल सरकारका पूर्वअर्थसचिव रामेश्वर खनालले बताए।

"सरकारी अस्पतालले हामीलाई भाडा तिर्नुपर्दैन, ओसारपसार लगायतका खर्च कुनै संस्थाले बेहोरिदिन्छन्। निजी अस्पतालले चाहिँ एउटाको दैनिक तीन हजार रुपैयाँ तिर्नुपर्ने गरी हाम्रा भेन्टिलेटर पाउँछन्।"

"निजी अस्पतालले भेन्टिलेटर प्रयोग गरेबापत एउटा बिरामीबाट दैनिक ८-९ हजार रुपैयाँ लिने गरेकोमा हामीले तीन हजारमा उपलब्ध गराउँदा चार हजारसम्ममा बिरामीले पाऊन् भनेर लागत खर्च उठ्ने गरी दिने गरेका छौँ," खनालले थपे।

कोरोनाभाइरस सङ्क्रमितको उपचार गराइराखेको धौलागिरि अञ्चल अस्पताल बागलुङमा सघन उपचार कक्ष

तस्बिर स्रोत, RSS

ढकालका अनुसार नेपाल भेन्टिलेटर सर्भिसेजले काठमाण्डूस्थित त्रिवि शिक्षण अस्पताल, ललितपुरको पाटन अस्पताल, वीरगञ्जको नारायणी अस्पताल, जनकपुरस्थित जनकपुर अस्पातल र नेपालगञ्जको भेरी अस्पताल लगायतलाई गरी करिब ३० वटा भेन्टिलेटर असोज पहिलो हप्तासम्म उपलब्ध गराइसकेको छ।

सात प्रदेशमध्ये पाँच प्रदेशका अस्पतालमा आफूहरूले भेन्टिलेटर उपलब्ध गराएको उनी बताउँछन्।

"हामीकहाँ अवस्था कस्तो छ भने भेन्टिलेटर कहाँ छ त्यो हेरेर सिकिस्त बिरामीलाई त्यहीँ पुर्‍याउनुपर्छ। त्यसो भएर भेन्टिलेटर भएको ठाउँमा बिरामी दौडिने होइन कि बिरामीसम्म भेन्टिलेटर दौडिनुपर्छ भन्ने हाम्रो अवधारणा हो। अर्को कुरा भेन्टिलेटर सेवा सस्तोमा पाइयोस्," खनालले भने।

विपद्‌मा राहतको सास

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार असोज पहिलो सातासम्म नेपालमा हाल ९३० वटा भेन्टिलेटर छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने, "देशभरि हाल ९३० वटा भेन्टिलेटर र २,६०० आईसीयू बेड छन्। लकडाउनअघि ७७१ वटा भेन्टिलेटर १,५५१ वटा आईसीयू बेड थिए।"

नेपालमा हाल उपलब्ध कुल भेन्टिलेटर र आईसीयू बेडमध्ये अधिकांश सङ्घीय राजधानी काठमाण्डूमा भए पनि सिकिस्त बिरामीको सङ्ख्या ह्वात्तै बढे यहाँ पनि सम्हाल्न गाह्रो हुने चिकित्सकहरू बताउँछन्।

"काठमाण्डूमा आईसीयू र भेन्टिलेटर दुवै चाहिने तीन सय जति बिरामी भए भने हाम्रो क्षमताले थेग्नै सक्दैन। सरकारी अस्पताल अहिले नै व्यस्त छन्," सघन उपचारसम्बन्धी स्वास्थ्यकर्मीहरूको समूह नेप्लिज सोसाइटी अफ क्रिटिकल केअर मेडिसिनका महासचिव डा. हेमराज पनेरूले हालै बीबीसी न्यूज नेपालीसँग भनेका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अफगानिस्तानका किशोरीहरू भेन्टिलेटर

जानकारहरूका अनुसार आवश्यक बजेटको जोहो गर्नसक्ने भए पनि कोरोनभाइरस महामारीबीच हाल बजारमा भन्नेबित्तिकै भेन्टिलेटर किन्न सक्ने अवस्था छैन।

"यस्तो अवस्थामा उहाँहरूले उपलब्ध गराएको एउटा भेन्टिलेटर र दुई आइप्रो नेजल क्यानुलाको पूर्ण रूपमा प्रयोग भइरहेको छ। कोभिड-१९ का बिरामीका लागि हामीसँग एउटा मात्र भेन्टिलेटर भएको अवस्थामा अहिले सहज भएको छ," भेरी अस्पतालका मेडिकल सुपरिटेन्टेन्ड प्रकाशबहादुर थापाले भने।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

कोरोनाभाइरस महामारीबीच कतिपय स्वास्थ्य सामग्री तथा उपकरणको अभाव हुने गरेको परिप्रेक्ष्यमा व्यक्ति वा संस्थाले ती सामान उपलब्ध गराउनु ठूलो राहतको विषय भएको नारायणी अस्पतालका प्रवक्ता अतुलेशकुमार चौरसिया बताउँछन्।

"यो त अस्पातका निम्ति एकदम राम्रो कुरा भयो नि। फेरि भेन्टिलेटर कोभिड-१९ का सिकिस्त बिरामीलाई मात्र नभई अरू सिकिस्त बिरामीलाई पनि चाहिने हो," उनले थपे।

मनकारी दाताहरूको साथ

जनकपुर अस्पतालको स्त्रीरोगसम्बन्धी विभागका प्रमुख डा. रामनरेश पण्डितका अनुसार नेपाल भेन्टिलेटर सर्भिसेजले उपलब्ध गराएका भेन्टिलेटर तीन महिनासम्म प्रयोग गर्न सम्झौता गरिएको छ।

त्यो भन्दा बढी समयका लागि प्रयोग गर्न आवश्यक भए नेपाल भेन्टिलेटर सर्भिसेज सम्झौता नवीकरण गर्नुपर्ने हुन्छ।

नेपाल भेन्टिलेटर सर्भिसेजको काम देखेर अवकाशप्राप्त कर्मचारीदेखि व्यापारी तथा गृहिणीसम्मले आफूहरूलाई सक्दो सहयोग गरिरहेको ढकालले बताए।

सहयोग

तस्बिर स्रोत, Dr Bishal Dhakal

"विभिन्न तह र तप्काका व्यक्ति एवम्‌ सङ्घसंस्थाले हामीलाई सहयोग गरिरहनुभएको छ। कतिसम्म भने वीरगन्जका एकजना व्यवसायीले प्रतिमहिना हामीलाई पैसा पठाइदिनुहुन्छ, तर उहाँ नाम खुलाउन रुचाउनुहुन्न।"

"केही संस्थाले मशिन नै किनिदिने भन्नुभएको छ र त्यो दिशामा कुरा अगाडि बढिरहेको छ। ब्याङ्कले विश्वास गरे ऋण नै दिएका छन्, एउटा गर्व गर्ने ठाउँ छ" उनले सुनाए।

भेन्टिलेटर उपलब्ध गराउनुका साथै त्यसको मर्मतसम्भार तथा नेपालमा 'क्रिटिकल केअर'का लागि जनशक्तिको विकासलाई पनि सँगसँगै बढाइरहेको ढकाल बताउँछन्।

पूर्वअर्थचिव खनालका अनुसार गैरसरकारी संस्थाको रूपमा दर्ता भए पनि भविष्यमा गएर बन्द भए सबै सम्पत्ति सरकारको हुनेछ।