एलेक्सी नभाल्नी: कसरी उनको समूहले नोविचोक विषबारे बोतल प्रमाण टम्स्कमा फेला पार्‍यो

    • Author, बीबीसी रुसी सेवा
    • Role, मस्को

रुसका प्रमुख विपक्षी नेता एलेक्सी नभाल्नी अहिले सञ्चो हुने प्रक्रियामा छन्।

अगष्ट महिनामा रुसको साइबेरियामा स्नायु प्रणालीलाई असर गर्ने विष दिइएपछि बिरामी परेका नभाल्नी जर्मनीको बर्लिनस्थित अस्पतालमा एक महिना लामो उपचारपछि अहिले अस्पताल बाहिर छन्।

शुरूमा टम्स्क विमानस्थलमा उनले पिएको चियाको कपमा विष थियो कि भन्नेमा आशङ्का केन्द्रित भएको थियो।

तर उनको समूहकी एक सदस्यले उनी बिरामी परेको थाहा हुने बित्तिकै द्रूतरूपमा गरेको कारवाहीका कारण जर्मन अनुसन्धानकर्मीहरू नोविचोक तत्व उनको शरीरमा त्यसभन्दा अगाडि नै पुर्‍याइएकोमा आश्वस्त भएका थिए।

नोभाल्नी कोमामा गए भन्ने थाहा हुने बित्तिकै मारिया पेवचिखलाई अब आफूले द्रूत गतिमा काम गर्नुपर्छ भन्ने लाग्यो। उनी तत्काल नभाल्नीले त्यसदिन बिहान छोडेको होटेलको कोठामा गइन्।

उनले बीबीसी रुसी सेवालाई भनिन्, "त्यो हामीले सोच्नुपर्ने किसिमको निर्णय नै थिएन- त्यो स्वाभाविक थियो र हामीले त्यो परिस्थितिमा गर्न सक्ने भनकै त्यही काम थियो।"

त्यसदिन ४४ वर्षीय नभाल्नी मस्को फर्कँदै थिए। उनको एफबीके भ्रष्टाचार विरोधी संस्थाका केही सदस्यहरू भने स्थानीय एक विषयमा अनुसन्धान सम्पन्न गर्न टम्स्क होटलमै रहेका थिए।

मरिया पेवचिख नभाल्नीको भ्रष्टाचार विरोधी समूह सञ्चालन गर्छिन्। उनीहरूले रुसका राजनीतिक र व्यवसायिक संस्थापन पक्षका मानिसले शक्तिको दुरुपयोग गरेर विभिन्न तहमा भ्रष्टाचार गरेको भन्ने आरोपसहित थुप्रै विस्तृत प्रतिवेदनहरू सार्वजनिक गरेका छन्।

"एलेक्सी एकजना स्वस्थ्य व्यक्ति थिए। हामी उनीसँग केही दिनदेखि सँगसँगै थियौँ, पहिले नोवोसिबर्स्कमा र त्यसपछि टम्स्कमा।"

"स्वस्थ्य मानिसहरू विना कारण अचेत अर्थात् कोमामा जाँदैनन्। त्यसैले केही कुरा अत्यन्त खराब भएको थियो भन्ने हामीलाई थाहा थियो। अनि यो रुस हो। मलाई त्रस्त पार्ने कुरा त कसैलाई विषाक्त पार्नु यहाँ सामान्य जस्तो भएको छ।"

उनको तर्क थियो - यदि उनलाई विष दिइएको थियो भने त्यहाँ कुनै प्रमाण हुनुपर्छ।

बोतलहरू कसरी फेला परे

जब नभाल्नीको समूहले नभाल्नीलाई परेको समस्याबारे बताएपछि होटलका एक कर्मचारी आफूहरूसँगै कोठामा गएको उनले बताइन्।

"शुरूमा उनीहरूले हामीलाई भित्र जानै दिएनन्, त्यसैले हामीले त्यो कोठामा हामीभन्दा पहिला कोही नजाउन् भनेर पहरा दिन शुरू गर्‍यौँ। हामीले ढोकाको अगाडि एउटा कुर्सी राख्यौँ र त्यहाँ पालै पालो पहरा दिइरह्यौँ।"

त्यसबेलासम्म उनीहरूले के गर्ने भन्नेबारे योजना बनाएका थिएनन् तर कोठामा छिर्ने बित्तिकै उनीहरूले हरेक कुरा रेकर्ड गरे र त्यहाँ जे देखे ती कुरा इन्स्टाग्राममा पोष्ट गरे।

"त्यहाँ भित्र छिर्दा रबरका पञ्जाको आवश्यकता महसुस भयो। धन्न कोरोनाभाइरसका कारण हामीसँग जहिले पनि त्यो साथै रहन्थ्यो।"

विपक्षी नेताले छोएको हुन सक्ने सबै कुरा सङ्कलन गरियो।

"नभाल्नीले छोएका हुन सक्ने सबै कुरा हामीले सङ्कलन गर्‍यौँ।"

भिडिओमा नभाल्नीका समूहले तीनवटा प्लास्टिकका पानीका बोतल सहित विभिन्न वस्तुहरू सङ्कलन गरेर नीलो प्लास्टिकका झोलामा हालेको देख्न सकिन्छ।

होटलका एकजना कर्मचारीले यसो भनेको सुनिन्छ: "तपाईँहरूले केही लिएर जाने हो भने त्यसका लागि प्रहरीको अनुमति चाहिने होटलका निर्देशकको आदेश छ।"

नभाल्नीका सहयोगीहरूमध्ये एकले भनेको सुनिन्छ: "दुर्भाग्यवश हामी त्यो माग पूरा गर्न सक्दैनौँ।"

मारिया पेवचिख र उनका सहकर्मीहरूलाई होटलको कोठामा काम लाग्न सक्ने कुरा होला भन्ने थोरै सम्भावना छ भन्ने लागेको थियो। कोठामा जे सङ्कलन गरियो र त्यसलाई गोप्य रूपमा परीक्षणका लागि त्यहाँबाट जसरी बाहिर लगियो त्यसपछिको आशा त झन् "झिनो मात्रै थियो"।

प्रमाण कसरी रुस बाहिर पुग्यो

टम्स्कदेखि ओम्स्कसम्म सीधा उडान छैन। नभाल्नीको विमान ओम्स्कमा सङ्कट परेर मात्र ओरालिएको थियो।

पेवचिख भन्छिन्, "हामी नोवोसिबर्क्ससम्म मोटरमा गयौँ र त्यहाँबाट ओम्स्क जहाजमा गयौँ।"

कोठामा सङ्कलन गरिएका तीन वटा पानीका बोतलसहित सबै चिजहरू 'रणनीतिक रूपमा' समूहका सदस्यहरूको सामानहरूको बीचमा राखिएको थियो ता कि कसैले पनि शङ्का नगरुन्।

जब रुसी अधिकारीहरूले कोमामा रहेका विपक्षी नेता र नजिकका पारिवारिक सदस्य तथा सहकर्मीलाई ओम्स्कबाट बर्लिन जान अनुमति दिए उनीपनि त्यही उडानमा थिइन्।

उनी भन्छिन्, "यदि ती बोतलहरू हामीले टम्स्कबाट बाहिर नल्याएको भए ती त्यहीँ लुप्त हुन्थे र केही पनि हात पर्दैनथ्यो।"

होटल कोठाबाट बाहिर ल्याएर लामो यात्रा मार्फत् बर्लिन पुर्‍याइएका ती बोतलने नभाल्नी टम्स्क विमानस्थल पुग्नु अघि नै विष दिइएको थियो भन्ने कुराको महत्त्वपूर्ण प्रमाण भएको उनको विश्वास छ। तर बोतल विषको प्रमुख स्रोत भने थिएन।

यो समयभर नभाल्नी कोमामा थिए। जर्मन वैज्ञानिकहरूले नभाल्नीलाई विष दिइएको र त्यो स्नायुमा असर गर्ने नोविचोक थियो भन्नेबारे आफूहरूले 'अकाट्य प्रमाण' स्थापित गरेको बताउँछन्। र उनीहरूको ठम्याइलाई स्वीडेन र फ्रान्सका प्रयोगशालाले पनि पुष्टि गरेका छन्।

तर क्रेमलिन ओम्स्कमा गरिएका परीक्षणमा उनको शरीरमा कुनै विषाक्त बस्तु नपाइएको बताउँछ।

उनलाई विष दिइएको थियो भन्ने कुरा रुसले पूर्ण रूपमा अस्वीकार गर्दैन। क्रेमलिनका प्रवक्ता दीमित्री पेसकोभ भन्छ्न् जर्मनीले आफूहरूलाई सूचना दिनुपर्छ "तर दुर्भाग्यवस अहिलेसम्म हामीलाई त्यो दिइएको छैन।"

अनुत्तरित प्रश्नहरू

नभाल्नीलाई कतिबेला विष दिइयो भन्ने चाहिँ अहिलेसम्म स्पष्ट छैन। समूहका अरू सदस्य पनि जोखिममा थिए कि भन्ने पनि थाहा छैन।

जैविक हतियार विज्ञ भ्लादिमिर उगलेभले यस अघि बीबीसीलाई भनेका थिए- यसपटकको नोविचोकको उपयोग मार्च २०१८ मा सेर्गेइ स्क्रिपाल र उनकी छोरी युलियालाई सोल्जबरी यूकेमा दिइएको भन्दा बढता निशानाप्रति लक्षित थियो। सोल्जबरीमा उनीहरूमाथि तरल पदार्थले आक्रमण गरिएको थियो । टम्स्कको आक्रमण फरक छ त्यसैले त्यो अरूका लागि कम खतराजन्य थियो भन्ने उनको तर्क छ।

नभाल्नीका भ्रष्टाचार विरोधी सहकर्मीहरूले सावधानीस्वरूप होटलका कोठामा पञ्जा प्रयोग गरेका थिए। उनकी प्रेस सचिव भन्छिन् नोविचोक एउटा खानेपानीको बोतलमा मात्र पाइएको थियो र उनका अरू कुनै पनि वस्तुमा फेला परेको थिएन।

उनी बेहोस भएका दिन लगाएका लुगाहरूमा जर्मन अनुसन्धानकर्ताहरूको पहुँच भएन। नभाल्नीले ती रुसबाट जर्मनी फिर्ता आउन् भन्ने अपिल यो हप्ता गरेका छन्।

स्वास्थ्य अधिकारीहरूले उनका लुगा रुसी अनुसन्धानकर्ताहरूले आफ्नो नियन्त्रणमा लिएका छन् र ती अहिले कहाँ छन् भन्ने थाहा छैन।

अहिलेलाई क्रेमलिनका आलोचक उनको पुनस्थापनाका लागि जर्मनीमा रहनेछन् तर उनी आफ्नो घर फर्किन चाहन्छन्।

समूहका नेताको भनाइ छ, "एलेक्सीलाई कसरी विष दिइएको थियो भन्ने कुरा एकदिन पत्ता लाग्ने आशामा हामी छौँ। अहिलेलाई हामीलाई केही थाहा छैन र हामीले त्यो अनुसन्धान गर्ने पनि होइन।"

बीबीसीका एन्ड्रेइ कोजेन्कोले मारिया पेवचिखसँग लिएको अन्तर्वार्तामा आधारित।