कोरोना भाइरस नेपालः एकै दिन दुई हजारभन्दा बढीमा कोभिड-१९ पुष्टि, सक्रिय सङ्क्रमितमध्ये आधाभन्दा बढी वाग्मती प्रदेशमा

शुक्रवार अपराह्णसम्म २४ घण्टामा देशभरि गरिएको परीक्षणमा २,०२० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो अहिलेसम्म एकै दिन पुष्टि भएका सङ्क्रमितहरूको सर्वाधिक सङ्ख्या हो।

यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६१,५०० नाघेको छ।

सो अवधिमा सात जनाको मृत्यु भएको सरकारको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार अहिलेसम्म ३९० जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

अहिले देशभरि १७,३८३ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये ९,२९५ जना संस्थागत आइसोलेशनमा र अरू ८,०८८ जना घरमै भएको मन्त्रालयले जनाएको छ।

अहिले सक्रिय सङ्क्रमितमध्ये ९,४९३ जना अर्थात् आधाभन्दा बढी वाग्मती प्रदेशका जिल्लामा छन्।

त्यसमा पनि काठमाण्डू उपत्यकामा हुनेको सङ्ख्या सर्वाधिक छ।

को हुन् सङ्क्रमित?

विगत २४ घण्टामा ११,४५८ वटा नमुनाको परीक्षण भएको जानकारी मन्त्रालयले दिएको छ।

तीमध्ये ६३९ महिला र १,३८१ पुरुषमा सङ्क्रमण पुष्टि भयो।

अहिले काठमाण्डू जिल्लामा थप ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ गरी उपत्यकामा कुल ८५९ जनामा कोभिड-१९ देखिएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी मोरङमा ११८, सुनसरीमा ५८, बारामा ७८, सप्तरीमा ४५, चितवनमा १९१, कास्कीमा ८६, नवलपरासीमा ४१, रूपन्देहीमा ८६ र सुर्खेतमा ११७ मा सङ्क्रमित भेटिएका हुन्।

काठमाण्डू उपत्यकाबाहेक मोरङ, सुनसरी, सिराहा, मकवानपुर, चितवन र रूपन्देहीमा धेरै सङ्ख्यामा सङ्क्रमितहरू छन्।

बिहीवार देशभरि १,२४६ जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यसको अघिल्लो दिन १,५३९ सङ्क्रमित फेला परेका थिए

को हुन् मृतक?

मन्त्रालयका अनुसार कोभिड-१९ सँग सम्बन्धित कारणले विगत २४ घण्टामा ज्यान गुमाउने बिरामीमध्ये दुई महिला र पाँच पुरुष छन्।

मृतकमध्ये दुई महिला र दुई पुरुष काठमाण्डू उपत्यकाका, दुई पुरुष मोरङका र एक पुरुष नवलपरासीका हुन्।

उनीहरूको उमेर ३१ देखि ८८ वर्षसम्म भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

के छ अरू तथ्याङ्क?

विगत २४ घण्टामा ८७१ जना रोगमुक्त प्रमाणित भए।

मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ४३,८२० जना अर्थात् ७१.१ प्रतिशत सङ्क्रमित निको भइसकेका छन्।

गम्भीर लक्षण भएका बिरामीमध्ये १७३ जना सघन उपचारमा र ३६ जना भेन्टिलेटरमा भएको जानकारी मन्त्रालयले दिएको छ।

तीमध्ये वाग्मती प्रदेशमा १२६ जना आईसीयू र ३४ जना भेन्टिलेटरमा छन्।

देशभरि ७,७३६ जना क्वारन्टीनमा छन्।