तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
लिभरपुल: प्रिमिअर लिग उपाधि जोगाउन किन सरल छैन?
इङ्ग्ल्याण्डको चर्चित फुटबल क्लब लिभरपुललाई १९ औँ उच्चतहको लिग प्रतियोगिताको उपाधि जित्नका लागि ३० वर्ष लामो कठिन सङ्घर्ष गर्नुपर्यो।
अब उनीहरूका सामु उक्त उपाधिको प्रतिरक्षा गर्ने आठ महिना लामो कडा परीक्षा उभिएको छ।
इङ्ग्लिश प्रिमिअर लिगको उपाधि लगातार दुईपटक जित्ने प्रयासमा अघि बढ्ने बाटो यो रातो जर्सी लगाउने टोलीका निम्ति विभिन्न अप्ठ्याराहरूले भरिपूर्ण छ। र त्यसका पछाडि विभिन्न कारणहरू रहेका छन्। बीबीसी स्पोर्ट्सले देखेका केही कारण यस्ता छन्।
खर्च र लगानीको दबाव
प्रिमिअर लिगको उपाधि रक्षा गर्ने कार्य एकदम गाह्रो छ।
हालैका उदाहरणहरूलाई हेर्ने हो भने डिफेन्डिङ्ग च्याम्पिअन्स भनिने साविकका विजेताहरूको दाँजोमा अन्य क्लबहरूले खेलका लागि बढी खर्च गर्ने गरेका देखिएको छ।
तिनीहरूले आफैमा कम लगानी गर्छन्।
अन्य क्लबहरू च्याम्पिअनहरूका विरूद्ध सशक्त रूपमा उत्रन्छन् भने साविक विजेताहरूको पहिलेको धार केही कमजोर देखिन पुग्छ। तिनीहरूलाई घरेलु खेल प्रतियोगिताको चुनौती र युरोपेली स्पर्धाहरूबीच सफलतापूर्वक सन्तुलन कायम राख्न गाह्रो हुने गरेको छ।
लिभरपुलले च्याम्पिअन्स् लिग र प्रिमिअर लिग दुवैका चुनौतीहरूलाई राम्रोसँग सामना गरेको छ तर प्रिमिअर लिगमा अरूको निशानामा रहेर अघि बढ्नु परेको ताजा अनुभव उक्त क्लबसँग छैन।
विपक्षीहरू बलियो हुँदै
आफू शक्तिशाली रहेको बेलामा नै आफ्नो अवस्थालाई अझ बलियो बनाउनु पर्छ भन्ने गरिन्छ।
तर अहिलेभन्दा अगाडि प्रिमिअर लिगको एक युगमा नै लिभरपुल अहिलेजस्तो बलियो अवस्थामा थिएन।
तिनीहरूले थप प्रतिभाशाली खेलाडीहरूका निम्ति रकम खर्च गर्न सक्छन् किनकी खेलाडीहरू किनबेच गर्ने पछिल्लो "ट्रान्सफर विन्डो" अक्टोबर ५ तारिखसम्म खुला छ।
तर हालसम्मको अवस्था हेर्दा तिनीहरूले कोस्टास त्सिमिकासलाई ११.७ मिलिअन पाउण्डमा किन्न बाहेक अरू कदम चालेको देखिएको छैन।
१८ अङ्कको ठूलो अन्तरले प्रिमिअर लिग उपाधि जितेकोले आफ्ना हालका खेलाडीहरूमा नै क्लबले आगामी प्रतिस्पर्धाकालागि विश्वास गर्नु पूर्णतया जायज कदम हो।
त्यसमाथि पनि टोलीमा जगेडा गोल किपर एड्रिअन र मिडफिल्डरहरू जोर्डन हेन्डरसन र जेम्स मिल्नरमात्र ३० वर्षभन्दा माथिका छन्। यद्यपि तिनीहरुका मूख्य प्रतिस्पर्धीहरूले आफूहरूबीचको खाडल पुर्न ठूलै खर्च गरिरहेका छन्।
लिभरपुल भन्दा अघि लगातार दुई सिजनको विजेता र पछिल्लो सिजनको उपविजेता म्यान्चेस्टर सिटिले अहिले नै आफ्नो टोली बलियो बनाउन ६० मिलिअन पाउण्ड खर्च गरिसकेको छ।
चेल्सी र म्यान्चेस्टर युनाइटेड पनि लगातार खर्च गरिरहेका छन्।
वातावरण-विहीन एनफिल्ड
दर्शक र प्रशंसकले भरीभराउ आफ्नो गृह मैदान र समर्थकहरूको आवाजको कोलाहल लिभरपुलकोलागि ठूलो सकारात्मक पक्ष मानिने गरिन्छ।
टोलीका व्यवस्थापक युएरगन क्लोपले हालै एक अन्तरवार्तामा समर्थकहरूले भरीभराउ रङ्गशालाबाट उनको टोलीले प्राप्त गर्ने उर्जा र प्रभाव पहिले उनले ठानेका भन्दा निकै बढी रहेको पाएको बताएका थिए। त्यसैगरी म्यान्चेस्टर सिटिका पेप ग्वार्डीओलाले त्यस्तो वातावरणले विपक्षीलाई सानो अनुभव गर्न बाध्य तुल्याउने बताएका थिए।
तर कोरोनाभाइरस महामारीका कारण लागु गरिएको लकडाउनपछि एनफिल्ड रङ्गशाला खाली रहेको अवस्था लिभरपुलको टोलीका लागि कम प्रेरक र तिनका विपक्षीका लागि कम त्रासपूर्ण हुन पुगेको देखिएको छ।
त्यहाँ चेल्सीले तिनीहरूलाई कडा चुनौती दियो, एस्टन भिला पराजित त भयो तर नयाँ च्याम्पिअनहरूलाई कडा चुनौती पनि दियो भने बर्नलीले त एक अङ्क नै हासिल गर्यो।
अपेक्षित-गोल सूचकमा अनियमितता
खेल विश्लेषण गर्दा xG भनेर ग्राफहरूमा अङ्कित गरिने एक्सपेक्टेड अर्थात अपेक्षित गोल मापन गर्ने सूचक खेल प्रशंसकहरूका लागि एकप्रकारको रातो झण्डाको रूपमा विकसित भएर गएको छ।
उक्त सूचकको केही सिमितताहरू छन् तर त्यो खेलका परिणामहरूमा प्रश्न गर्ने उपयोगी माध्यम पनि हो।
गत सिजनमा लिभरपुलले हासिल गरेको जितका लागि उक्त टोली पूर्ण हकदार थियो भन्नेमा कुनै विवाद छैन। क्लोप मातहतको उक्त टोली प्रतियोगिताको सबैभन्दा उत्तम टोली थियो।
xG विश्लेषण गरी हेर्दा उक्त टोलीले सो प्रतियोगितामा मानिसहरूले अपेक्षा गरेभन्दा बढी नै राम्रो प्रदर्शन गरेको थियो।
तर म्यानचेस्टर सिटि जस्ता केही विपक्षीहरू उक्त सूचकले अनुमान गरेभन्दा कमजोर रहे।
सूचकमा यस्तो अनियमितता देखिनु अनौठो होइन। तर xG ले के पनि देखाएको छ भने लिभरपुल र तिनीहरूका निकटतम प्रतिद्वन्द्वीबीचको अन्तर गत वर्षको सिजनको अन्तिम अङ्कतालिकाले देखाएको जस्तो फराकिलो नहुन पनि सक्छ।