शरीरको तटस्थता: रूपभन्दा भन्दा पनि भित्री पक्षको प्रशंसा गरिने अभियान

इमानदार भएर भन्ने हो भने सामाजिक सञ्जालमा दिनदिनै देखिने आकर्षक व्यक्तिहरूको फोटोसँग आफ्नो तुलना नगरी बस्न कठिन छ।

तर टिकटक र इन्स्टाग्राममा हिजोआझ एउटा अभियान निकै चर्चित बनेको छ जसले आफ्नो शरीरको बाहिरी आवरणभन्दा पनि भित्री पक्षलाई केन्द्रमा राख्छ।

"'यी पाखुराहरू कति मोटा र भद्दा'... भन्नुको सट्टा तपाईँ 'यी हात मानिसका हुन्। हातले सामानहरू उठाउने र राख्ने काम गर्छ' भन्न सक्नुहुन्छ," इरिन च्याम्बर्स भन्छिन्।

बडी न्यूट्र्यालिटी अर्थात् शरीरबारे तटस्थ धारणा राख्ने यो अभियान उनले वर्षौंदेखि चलाउँदै आएकी छन्।

तपाईँले शरीरप्रतिको सकारात्मक धारणाबारे त सुन्नुभएकै होला जसले प्लस साईज अर्थात् मोटो शरीर भएका महिला र पुरुषलाई आत्मविश्वास दिन्छ र मानिसको आकार, लिङ्ग, जात, शारीरिक क्षमतालाई छोडेर मानिसको शरीरबारे वकालत गर्छ।

तर इरिनका अनुसार शरीरप्रति तटस्थ धारणा राख्ने भन्दैमा तपाईँले "यी पाखुराहरू यति राम्रा छन् कि मैले जीवनमा यस्ता पाखुरा कहिल्यै देखेको थिइनँ" पनि भन्नुपर्दैन।

शरीरप्रतिको तटस्थ धारणा भनेको के हो?

इरिनका अनुसार शरीरलाई लिएर राखिने सकारात्मक र नकारात्मक धारणाको चुरोमा यो अभियान सञ्चालित छ।

"कहिलेकाहीँ हामीलाई हामीले हाम्रो शरीरलाई सधैँ माया गर्नुपर्छ भन्ने दबाव हुन्छ ... यदि यो आत्मविश्वास आफूमा छ भने ठिकै छ तर यदि छैन भने पनि केही फरक पर्दैन।"

"तपाईँ आफ्नै शरीरप्रति सधैँ हुनुहुन्न भन्दैमा तपाईँले जीवनमा पराजित भएको ठान्नु गर्नुपर्दैन। त्यो सामान्य हो।"

शरीरलाई लिएर आफूले दुईवटा अतिवादी प्रतिक्रिया सुन्ने गरेको इरिन बताउँछिन्।

"मैले सधैँ या त 'मलाई मेरो शरीर मनपर्दैन... म यो अङ्ग परिवर्तन गर्न चाहन्छु' भन्ने सुन्छु वा 'मलाई मेरो शरीर असाध्यै मनपर्छ। म सुन्दर छु' भनेको सुन्छु। अनि मलाई बेलाबेला लाग्छ, 'मलाई म असाध्यै राम्री छु भन्ने लाग्दैन, तर म आफूलाई घृणा पनि गर्दिनँ।"

उनले यसबारे टम्ब्लरबाट पहिलोपटक थाहा पाइन् र तत्कालै लाग्यो उनले शरीरलाई लिएर सधैँ यस्तै महसुस गर्नुपरेन। यस्तो सोच्ने उनी एक्ली थिइनन्।

इरिनले हालै टिकटकमा यिनै अनुभवको भिडि‌ओ राखेकी छन् जसलाई सामाजिक सञ्जालका प्रयोगकर्ताले मन पराएका छन् र अहिलेसम्म उक्त भिडिओलाई हजारौँ जनाले लाइक गरेका छन्।

उक्त अभियान निकै चर्चित छ र त्यसलाई ह्याशट्याग #BodyNeutrality को नाम दिइएको छ जसले अहिलेसम्म टिकटकमा ६० लाख पटक भन्दा बढी र इन्स्टाग्राममा ६३ हजार पटक भन्दा बढी हेरिसकिएको छ।

उक्त अभियानमा केही मानसिक स्वास्थ्यका विज्ञहरूले पनि समर्थन जनाएका छन्।

केही थेरपिस्टहरूले शरीर कस्तो देखिन्छ भनेर पिरोलिने बिरामीहरूलाई प्रयोग गरिने तरिका पनि शेअर गरेका छन्।

यसको अभ्यास कसरी गर्ने र विज्ञहरू यसबारे के भन्छन्?

इरिनका अनुसार यसको अभ्यास गर्ने राम्रो तरिका भनेको आफ्नो शरीरबारे आफैँसँग कुरा गर्ने हो।

"ऐना हेर्दा तपाईँलाई आफू राम्रो देखिए जस्तो लाग्दैन भने तपाईँले ऐनाअगाडि उभिएर 'म राम्रो छु' भन्न सक्नुहुन्न। तर तपाईँले के पक्का भन्न सक्नुहुन्छ भने, 'म एक मानिस हुँ', किनभने त्यो निर्विवाद सत्य हो।

"यदि तपाईँ 'म हिसी परेकी देखिन्छु' भन्न चाहनुहुन्छ भने भन्नुस म हिसी परेकी छु। तर हामी सबैले के भन्न सक्छौं भने, 'म एक मानिस हुँ।'"

मानसिक स्वास्थ्य थेरपिस्ट डाक्टर मोर्गन फ्रान्सिस आफ्ना बिरामीहरूलाई शरीरको प्रशंसा गर्ने बानी बसाल्न भन्छिन् जुन उनलाई लाग्छ कि शरीरबारे तटस्थ धारणा राख्नुकै एउटा पाटो शरीरको प्रशंसा गर्नु पनि हो।

"यो भनेको हाम्रो शरीरले हामीलाई के-के गर्न सघाउँछ र के गर्छ भन्नेतर्फ अघि बढ्नु हो," उनी भन्छिन्। "यसको कामबारे हो। कसरी तपाईँको खुट्टाले तपाईँलाई बलियो बनाउँछ, कसरी पाखुराले बच्चा बोक्न वा अङ्कमाल गर्न सहयोग गर्छ भन्ने हो।"

डा. फ्रान्सिसका अनुसार शरीरलाई तटस्थ भएर हेर्नु भनेको स्वास्थ्यको खेलाँची गर्नु होइन।

"तपाईँलाई आफ्नो शरीरमा क्षमता भएको र सशक्त भएको मन पर्छ तर तपाईँले सोचेको कुरा यो मात्रै होइन।"

त्यसो भए डा. फ्रान्सिस यो अभियान यति लोकप्रिय के कारणले भयो भन्ने ठान्छिन्? उनी साधारण तरिकाले भन्छिन्, "शरीरबारेको तटस्थ धारणा भनेको सुरक्षित हो र धेरै मानिसका लागि यो एकदमै यथार्थपरक पनि हो।"

यो पनि हेर्नुहोस्