कोरोना भाइरस नेपालः सर्वाधिक सङ्ख्यामा सङ्क्रमण पुष्टि, थप १४ जनाको मृत्यु

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Creative

विगत २४ घण्टामा नेपालमा थप १,३५९ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको र १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४४,२३६ पुगेको छ।

अहिलेसम्म २५,५६१ सङ्क्रमित निको भइसकेका छन् भने २७१ जनाको मृत्यु भएको सरकारको तथ्याङ्कले देखाउँछ। मृतकमध्ये एक चिनियाँ र एक भारतीय नागरिक पनि छिन्।

शुक्रवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि १८,४०४ सक्रिय सङ्क्रमित भएको बताए।

तीमध्ये ७,४६२ जना घरमै र १०,९४२ जना संस्थागत आइसोलेशनमा छन्।

काठमाण्डू उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।

सङ्क्रमितहरूमध्ये १५१ जना सघन उपचार कक्षमा र २६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले बताएको छ।

को हुन् मृतक र सङ्क्रमितहरू?

अहिले थपिएका सङ्क्रमित र मृतकहरू विभिन्न जिल्लाका हुन्।

सङ्क्रमितमध्ये ४६४ जना महिला छन्।

शुक्रवार पुष्टि भएका सङ्क्रमितमध्ये काठमाण्डू उपत्यकाका ४५४ जना छन्।

मृतकहरू काठमाण्डूमा तीनजना महिला र सप्तरीका दुईजना पुरुष रहेका छन्।

अन्य मृतकहरूमा चितवनकी एक महिला रहेकी छन् भने धनुषा, कास्की, रसुवा नवलपरासी, प्युठान, रूपन्देही, पाल्पा र सुर्खेतका पुरुष रहेका छन्।

मृतकहरू २२ देखि ८२ वर्षका रहेका छन्।

कोरोनाभाइरस

के छ अरू तथ्याङ्क?

शुक्रवार अपराह्ण चार बजेसम्म २४ घण्टाको अवधिमा १३,६३८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको हो।

सो अवधिमा १,३५४ जना सङ्क्रमित रोगमुक्त प्रमाणित भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए।

अहिले देशभरि क्वारन्टीनमा ६,५६१ जना छन्।

भदौ १८ गते १,२२८ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

त्यसअघि भदौ १७ गते १,१२० जनामा, भदौ १६ गते १,०६९ जनामा, भदौ १४ गते १,२२१ जनामा र भदौ ११ गते १,१११ जनामा देखिएको पुष्टि गरेको थियो।

त्यसअघि भदौ २ गते सङ्क्रमितको सङ्ख्या पहिलो पटक १,००० नाघेको थियो।

कोरोनाभाइरस
भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड-१९ हुँदा मान्छेको शरीरमा के हुन्छ?
Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर