वुहान कोरोना भाइरसः उहिले सुनसान देखिने सहरमा अहिले यस्तो भिड लाग्छ

एउटा साङ्गीतिक उत्सवमा भेला भएका हजारौँ मानिसहरूले रमाइलो गरे। त्यहाँ कसैले पनि मास्क लगाएका थिएनन्।

यो चीनको वुहान सहरमा गत सप्ताहान्त देखिएको दृश्य हो। गत वर्षको अन्त्यतिर त्यहीँबाट कोरोनाभाइरस महामारी फैलिन थालेको थियो।

वुहान माया बीच वाटर पार्कमा रमाइलो गरिरहेका मानिसहरूका तस्बिरहरू अहिले भाइरल भएका छन्।

गत ज्यानुअरी महिनमा वुहानमा लकडाउन लाग्दा उक्त सहर पूरै सुनसान भएको थियो।

सडकमा न मानिस देखिन्थे, न त सवारीसाधनहरू नै। तर अहिले नितान्त भिन्न दृश्य देखिएको छ।

एप्रिल महिनामा लडकडाउन हट्यो।

मे महिनाको मध्यदेखि वुहान र पूरै हुबेई प्रान्तमा आन्तरिक रूपमा कसैमा पनि कोरोनाभाइरस सरेको पाइएको छैन।

बिस्तारै सामान्य

ज्यानुअरी २३ मा लकडाउन लगाइँदा वुहानमा ४०० जनाजतिमा सङ्क्रमण देखिएको थियो। तीमध्ते १७ जनाको मृत्यु भइसकेको थियो।

त्यसको एक सातापछि कोरोनाभाइरस मान्छेबाट मान्छेमा सरेको चीन सरकारले पुष्टि गर्‍यो।

एक करोड १० लाख जनसङ्ख्या भएको सहरको सम्पर्क बाँकी देशसँग विच्छेद भयो। लकडाउन लगाइएका महिनाहरूमा हजारौँ मानिसहरूको परीक्षण गरियो र उनीहरूलाई क्वारन्टीनमा राखियो।

मार्च महिनादेखि लकडाउन केही खुकुलो भयो।

एउटा घरबाट एक व्यक्तिलाई घरबाहिर दिनको दुई घण्टा बाहिर जान दिइयो।

बिस्तारै पसलहरू खुल्न तथा सार्वजनिक यातायातका साधनहरू चल्न थाले। तर सबैले एकआपसमा दूरी कायम राख्नुपर्थ्यो र मास्क लगाउनुपर्थ्यो।

एप्रिल ८ मा लकडाउन आधिकारिक रूपमै हट्यो।

पहिला योजना स्थगित गर्न बाध्य जोडीहरूले हतारहतार विवाह गरे।

शैक्षिक संस्था, व्यापार-व्यवसाय र सार्वजनिक यातायात सेवाहरू खुले। सबै कुरा सामान्यजस्तो देखिन थाले।

तर मे १२ मा छ जनामा फेरि सङ्क्रमण देखियो। उक्त सहरमा बस्ने सबै मानिसको परीक्षण गर्ने योजना बन्यो। महामारी फेरि नियन्त्रणमा आयो।

जुन महिनामा रात्रिकालीन बजारहरू खुल्न थाले।

अनि एक महिनामा चीनका अधिकांश भागमा जनजीवन सामान्य हुन थाल्यो। चलचित्रघरहरूले फेरि खुल्ने अनुमति पाए, केही उद्यान, पुस्तकालय र सङ्ग्रहालयहरूलाई आधा क्षमतामा सञ्चालन गर्ने अनुमति दिइयो। ठूला भेलाहरू पनि गर्न पाइने भयो।

अहिले वुहानमा जनजीवन पूर्ण रूपमा सामान्य भएको देखिन्छ। होहा वटर इलेक्ट्रिक म्यूजिकल फेस्टिभलमा मनोरञ्जन गर्न भेला भएका मानिसहरूका तस्बिरहरूले पनि यो प्रमाणित गर्छन्।

कार्यक्रम आयोजकहरूले धेरै मानिस आउून् भनेर महिला पर्यटकहरूलाई आधा मूल्यमा टिकट बेचेका थिए।

वुहान ह्यापी भ्याली गत जुन २५ मा खुल्यो। तर अगस्ट महिनादेखि त्यहाँ आगन्तुकहरू बढे।

सप्ताहान्तमा त्यहाँ १५,००० मानिस जान्छन्। तर गत वर्ष यो बेला उक्त सङ्ख्या दोबर भएको सञ्चालकहरू बताउँछन्।

चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त्यत्रो ठूलो भिड देखेर आश्चर्य व्यक्त गरेका छन्।

तर मे महिनाको मध्यदेखि त्यहाँ स्थानीय रूपमा कसैमा पनि कोरोनाभाइरस सरेको छैन।

झन्डै ९९ लाख मानिसको परीक्षण गरिसकिएको छ। त्यहाँ ठूला जमघट र भेला गर्न प्रतिबन्ध छैन।

तर विज्ञहरू त्यहाँ अझै पनि बाहिरबाट भाइरस जान सक्ने सम्भावना भएको बताउँछन्।

सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ।