घडियाल गोही: मृतक अधिकांश गोहीको 'टाउकोमा गम्भीर चोट'

    • Author, ईश्वर जोशी
    • Role, बीबीसी न्यूज नेपाली, चितवन

नेपालको नारायणी र रापती लगायतका नदीहरूमा मानवीय गतिविधि बढ्दै गएपछि प्रत्येक वर्ष गोही मर्ने क्रम वृद्धि हुँदै गएको निकुञ्ज अधिकारीहरूले बताएका छन्।

अति सङ्कटापन्न सूचीमा रहेको दुर्लभ घडियाल गोही मानवीय कारणले मर्ने क्रम बढ्दै गएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

साइटिसको अनुसूची-१ मा सूचीकृत दुर्लभ घडियाल गोही नेपाल र भारतमा मात्र पाइन्छ।

चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही संरक्षणको प्रयास गर्दागर्दै पनि आर्थिक वर्ष २०७६/७७ मा १२ वटा घडियाल गोही मरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन तथा गोही विज्ञ वेदप्रसाद खड्काले बताए।

त्यो भन्दा अघिल्लो वर्ष ९ वटा घडियाल गोही मरेका थिए।

घडियाल गोही मर्नुमा नदीमा माछा मार्नेलगायत गतिविधि बढ्दै जानु भएको उनले बताए।

'माछा मार्ने लाइसेन्स' पनि कारक

घडियाल गोहीको मुख्य आहारा माछा हो। माछा नभए घडियाल गोही बाँच्न सक्दैनन् भन्ने विज्ञहरूले बताउने गरेका छन्।

त्यसैले घडियाल गोही भएका नदीमा माछा मार्नेहरूको सङ्ख्या कम गर्दै लानुपर्ने खड्काको मत छ।

चितवन राष्ट्रिय निकञ्जले पानीमा आश्रित समुदायलाई हाते जालले माछा मार्न अनुमति (लाइसेन्स) दिने गरेको छ।

तर ठूलाठूला तियारी र महाजाल प्रयोग गरेर माछा मार्दा माछासँगै गोही पनि जालमा पर्ने गरेको र जाल छुटाउन गोहीलाई हिर्काएर मार्ने गरिएको उनले बताए।

गोही विज्ञ खड्काका अनुसार गत आर्थिक वर्षमा मारिएका अधिकांश गोहीको टाउकोमा चोट लागेको पाइएको छ।

गोही मर्नुको मुख्य कारण मानवीय त्रुटि नै भएको खड्काले बताए।

प्रजनन केन्द्रको योगदान

चितवन राष्ट्रिय निकुञ्जस्थित घडियाल गोही प्रजनन् केन्द्रले प्रत्येक वर्ष घडियाल गोही नेपालका विभिन्न नदीहरूमा छाड्दै आएको छ।

तर पनि गोहीको सङ्ख्या बढ्न नसकेको चितवन राष्ट्रिय निकुञ्जका वार्डेन अननाथ बरालले बताए।

२०३८ सालमा स्थापना भएको प्रजनन केन्द्रले हाल सम्म १ हजार ५ सय १५ गोही नारायणी, रापती, सप्तकोशीलगायतका नदीहरूमा छाडेको थियो।

प्रजनन केन्द्रले वार्षिक रूपमा घडियाल गोही नदीहरू छाड्दा पनि नेपालमा हाल तीन सयको हाराहारीमा मात्र घडियाल गोही रहेका बताइएको छ।

ती मध्ये चितवनमा २ सय ३० वटा रहेका छन्।

कहाँ कति गोही छाडियो?

१. नारायणी नदी- ३९९

२. रापती नदी - ८३५

३. काली गण्डकी - ३५

४. सप्तकोशी - ९५

५. कमला - ४१

६. बबई नदी - ११०

यसरी प्रजनन केन्द्रले बर्सेनि घडियाल गोही नछाड्ने हो भने गोही लोप भइसक्ने अवस्था आउनसक्थ्यो भन्ने विज्ञहरूको भनाइ छ।

पेसा परिवर्तन?

नदी आसपासमा बसोबास गर्ने पानीमा आश्रित समुदायको पेसा परिवर्तन गर्न जरुरी रहेको विज्ञहरूले बताएका छन्।

मध्यवर्ती क्षेत्रमा रहेका उनीहरूलाई माछा मारेर गुजारा गर्नुको विकल्पमा रोजगारमूलक कार्यक्रम ल्याउनुपर्ने नेपाल बोटे समाजकी अध्यक्ष इन्दिरा बोटेले बताइन्।

मध्यवर्ती क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जबाट वार्षिक करोडौँ रुपैँया आउने गरे पनि पानीमा आश्रित बोटे, मुसहर, कुमालहरूलाई लक्षित गरेर कार्यक्रम नआउँदा उनीहरू जल र जङ्गलमा जान बाध्य हुने गरेको उनले बताइन्।

कतिपयले चाहिँ स्वच्छ पानीमा बस्ने र माछा मात्र खाने गोही सङ्कटमा पर्नु माछा मार्नेको कारणबाट मात्र नभएको बताउने गरेका छन्।

उनीहरूका भनाइमा नदी तटीय क्षेत्रमा रहेका उद्योगबाट निस्कने प्रदूषण र बढ्दो सहरीकरणका कारण नदी प्रदूषण बढ्दा पनि गोही सङ्कटमा परेका हुन्।